शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना

शनिबार, २८ चैत २०७७, २३ : १२
शनिबार, २८ चैत २०७७

डान मार्टिन
शाङ्घाई । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्व चर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । 

चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ । 
अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ । 

एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । 

कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रूचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ ।

ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो । 

अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । 

अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ । साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । 

अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरूमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन शुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।

आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् ।

तर अलि बाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सह संस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलि बाबामाथिको छानबिनलाई तिब्र बनाइएको थियो । 

अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अवरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित भएका थिए ।

ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।

चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गुगल माथि पनि देश भित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप