बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

वाग्मती आयोजना स्थापनाको २७ वर्ष, नदी भएन ढलमुक्त

शनिबार, २८ चैत २०७७, २२ : ३९
शनिबार, २८ चैत २०७७

काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले स्थापना भएको वाग्मती आयोजना २७ वर्ष पूरा भए पनि ढलमुक्त हुनसकेको छैन । विसं २०५१ चैत २८ गते वाग्मती ढल सुधार आयोजनाका नाममा स्थापना भएकामा हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति नाम दिइएको छ ।

स्थापनाकालमा हालका राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनाको नेतृत्व गरेकी थिइन् । भण्डारीपछि नेतृत्व गर्नुभएका पूर्वसांसद विदुर पौडेलका पालामा आयोजनाको अघि अधिकार सम्पन्न भनी नाम थपिएको थियो । नाममा अधिकार सम्पन्न थपिए पनि काममा त्यो लागू नभएको पूर्वअध्यक्ष नरेन्द्रराज बस्नेतको गुनासो छ ।

विसं २०६३ को परिवर्तनपछि अध्यक्ष बनेका कृष्ण केसीको पालामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति नाम दिइएको थियो । नाम परिवर्तन, नेतृत्व परिवर्तन भई २७ वर्ष पूरा भए पनि वाग्मतीको पानी कालो हुन नरोकिएको समितिका सञ्चालक सदस्य माला खरेल स्वीकार्छन् । “आयोजनाका कामबाट हामी नै सन्तुष्ट हुनसकेका छैनौँ” उनले भने ।

समितिको २७ औँ स्थापना दिवसका अवसरमा वाग्मती सफाइ महाअभियानको ४१३ औँ हप्ताको वाग्मती नदी सफाइ पनि गुह्येश्वरी क्षेत्रमै गरिएको छ । सफाइपछि समितिको स्थापना दिवसका अवसरमा भौतिक दूरी कायम गरी अभियानकर्मी, समितिका पदाधिकारी एवं कर्मचारीका बीच कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेलले वाग्मती पहिलेभन्दा बढी फोहर हुन थालेको बताए । सफाइ अभियानको ५० औँ हप्ताका अवसरमा गुह्येश्वरीस्थित नदी किनारमा स्नान गरेको स्मरण गर्दै उनले त्यसबेलाभन्दा पानी बढी कालो भएको बताए ।

सफाइ अभियानकर्मी अधिकार सम्पन्न वाग्मतीलाई सघाउन आएकाले प्रतिद्वन्द्वीका रूपमा नबझ्न पूर्व मुख्यसचिव पौडेलको आग्रह थियो । आयोजना र अभियानकर्मीले तिक्तता नराखी काम गर्नुपर्नेमा उनले जोड दिए । समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले वाग्मतीलाई ढलमुक्त गराई नदी किनारमा अव्यवस्थितरुपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समितिका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायतले नदीको सफाइमा सरोकार भएका सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

औपचारिक कार्यक्रमअघि भएको सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल सिनामङ्गल, तिलगङ्गा महिला समूह, स्थानीयवासी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समितिका पदाधिकारीले सफाइ पनि गरेका थिए ।

महानगरपालिका–११ को पहलमा रुद्रमती (धोबीखोला) वाग्मती दोभानमा सफाइ कार्यक्रम आयोजना गरियो । सफाइमा वडा सदस्य दिपेश राउत, आशा श्रेष्ठ, यशोमति परियार, राजेशमार्ग टोल सुधार समितिका पदाधिकारी एवं सदस्य,  स्थानीयवासी, महानगरपालिका फोहर व्यवस्थापन विभाग टेकु, नेपाली सेना चण्डी दल गण सिंहदरबारका गणपतिसहितको टोली सहभागी भएको थियो । सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प एवं कोरोना जोखिमजस्ता प्रतिकूल परिस्थितिमा पनि निरन्तर बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ हुँदै आएको छ । महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यकाका सांस्कृतिक सम्पदा तथा चक्रपथका विभिन्न भागमा सफाइ भइरहेको छ ।

उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ । उपत्यका बाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदामा पनि सफाइ शुरु भएको छ ।

देशव्यापी जागरणका रूपमा सफाइ अभियान शुरु भए पनि स्थानीय सरकारले स्वामित्व लिएर सहयोग नगर्दा आशा गरेअनुरुपको काम हुन नसकेको अभियानकर्मीको गुनासो छ । सफाइ स्थानीय सरकारको कार्य क्षेत्र भए पनि बेवास्ता गरिँदा विभिन्न रोगको महामारी फैलने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप