मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्षमा मुलुकको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने महत्त्वाकांक्षी भिजन पेपर सार्वजनिक

शनिबार, २८ चैत २०७७, १७ : १४
शनिबार, २८ चैत २०७७

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले एक सय कार्ययोजनासहित महत्वाकांक्षी  दस वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । महासंघको ५५ औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत महासंघले 'राष्ट्रिय आर्थिक रुपान्तरण २०३० भिजन पेपर' सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिजन पेपर औपचारिक रुपमा सार्वजनिक गरे ।
एक दशक लामो कार्ययोजना सहित आर्थिक रुपान्तरणको लक्ष्य राखेर सार्वजनिक गरिएको भिजन पेपरमार्फत महासंघले सन् २०३० सम्ममा मुलुकको अर्थतन्त्रको आकार एक सय अर्ब डलर पुर्‍याउने खाका प्रस्तुत गरेको छ । 
निजी-सरकारी सहकार्यमा मुलुक भित्रका साना तथा मझौला उद्योगहरुको प्रवर्द्धन गर्दै बढीभन्दा बढी उत्पादन र निर्यातमा जोड दिँदै आर्थिक रुपान्तरणमा केन्द्रीत हुने महासंघले जनाएको छ ।
यद्यपि यसका लागि सरकार, सरकारी संयन्त्र तथा  कर्मचारी तन्त्रको दरिलो साथ भने आफूहरुलाई चाहिने महासंघले जनाएको छ ।

भिजन पेपर सार्वजनिक गर्दै अध्यक्ष शेखर गोल्छाले भने-कोभिड-१९ को आर्थिक प्रभावले अहिले पनि मुलुकको अर्थतन्त्र नाजुक अवस्थामै छ । कोभिडको प्रभाव गत वर्षको आर्थिक वृद्धिदर २ प्रतिशत ऋणात्मक रह्यो भने चालू आर्थिक वर्षको पहिलो चौमासिकमा समेत मुलुकको आर्थिक वृद्धिदर झन्डै ४ प्रतिशतले नै ऋणात्मक रह्यो । जुन दोस्रो चौमासिकमा केही तङ्ग्रिने अवस्थामा छ । यद्यपि अहिले मुलुकको अर्थतन्त्र विकासको गतिमा कुदिसकेको अवस्था भने होइन ।

 गोल्छाले थपे- यसका लागि धेरै कम्पोनेन्टहरुको सुधार हुन आवश्यक छ । जसका लागि महासंघले दशक लामो आर्थिक रुपान्तरणसहितको आफ्नो भिजन पेपर सार्वजनिक गरेको छ । यसको सफलताका लागि सरकारको सहयोग रहनेछ भन्नेमा विश्वस्त छौँ ।

एक सय योजना समेट्दै  मुलुकको आर्थिक रुपान्तरण सन् २०३० सम्ममा अर्थतन्त्रको आकार ३४ अर्ब डलरबाट बढाएर एक सय अर्ब डलर पुर्‍याउने बताएको  महासंघले  ४० वटा योजना त अबको दुई वर्ष भित्रै नै पूरा गर्ने बताएको छ । 
उक्त भिजन पेपर कार्यान्वयनमा जादा आगामी दस वर्षमा मुलुकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने र जसमध्ये एक सय ८ अर्ब डलर निजी क्षेत्रबाट मात्र हुने अध्यक्ष गोल्छाले बताए । 
जसबाट मुलुकमा २२ लाख नयाँ रोजगारीको समेत सिर्जना हुने बताइएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप