मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता परिवर्तनको खेलमा लागेको भन्दै तीन दलमाथि खनिए प्रधानमन्त्री

शनिबार, २८ चैत २०७७, २१ : १२
शनिबार, २८ चैत २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गरेका छन् । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरुलाई विकास विरोधीको संज्ञा दिएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका हुन् ।

भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्ने तर्फ उन्मुख भएको टिप्पणी गरे । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “शकुनी”को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने “शकुनीका गोटी” नै आफूले फ्याँकिदिने चेतावनी दिए ।

 

उनले भने, ‘सरकार परिर्वतनका प्रयासहरु भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुनःनिर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी शिलान्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक शिलान्यास गर्यौ र बन्दैछन् । त्यसकारणले हो ? एक हप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनउको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।’

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका शकुनीहरुले संसदको अंक गणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दै शकुनीका गोटी नै फ्याँक्न आफू एक्लै पर्याप्त भएको दाबी गरे ।

 

उनले भने, ‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंक गणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु  विल्कुलै सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाइएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८÷२० महिना होला । त्यसपछि फेरी यस्तो अंक गणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’

पाण्डव र रामको दृष्टान्त दिदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गरे ।

सम्मृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसीमा औषधी बेच्ने बीचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे ।

उनले भने, ‘जबसम्म राजनीति परिपक्व हुदैन तबसम्म, जबसम्म मान्छेले सही र गलत छुट्याउँदैन तबसम्म, जबसम्म देश र व्यक्तिगत स्वार्थका बीचको अन्तर छुट्याउन सक्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन । देश बनाउने संकल्प र अठोट र एउटा सिसीमा औषधी बेच्नेका बीचको भेद, एउटा अर्थपुर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद पाउँदैनौ भने अनि देश अलमलमा पर्छ । बेच्नुपर्ने हुन्छ एउटा गोगो सावुन । विज्ञापनमा के आउँछ ? गाईले पनि तैलाई लखेट्छ । कुखुराले पनि तैलाई लखेट्छ भनेर आउँछ । गोगो सावुन र गाई र कुखुराले लखेट्ने कुराको भेट कहाँ हुन्छ ? ...तालमेल नभएका कुराको विज्ञापन र देश विकास गर्ने अठोट संकल्प, दृष्टिकोणका बीच भिन्नता छुट्याउनुपर्यो । अलि अलि समस्या त हुन्छन् ।’

सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योग व्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उनले सम्मानित उद्योग व्यवसाय, सम्मुनत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरे ।

उद्योग बाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उनले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याए ।  सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रुपमा उभ्याउने राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्य साथ सरकार अघि बढीरहेको भन्दै उनले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुने तर्फ सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप