मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिके राउतको पार्टीको महाधिवेशनमा 'स्वतन्त्र मधेश'को झण्डा प्रयोग !

शनिबार, २८ चैत २०७७, १६ : ३८
शनिबार, २८ चैत २०७७

सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा जारी छ । जनकपुरको बाह्रविघामा महाधिवेशनको औपचारिक उद्घाटन सत्र लगत्तै बन्दसत्र भइरहेको सो पार्टीले जनाएको छ ।

महाधिवेशन चल्दै गर्दा बाह्रविघा आसपास क्षेत्रमा सो पार्टीका कार्यकर्ताले झण्डासहित स्वतन्त्र मधेशको नारा लगाएको पाइएको छ । पाँच हजार प्रतिनिधि र २५ हजार स्वयं सेवकको उपस्थितिमा भएको महाधिवेशनमा कतिपय नेता तथा कार्यकर्ता ‘स्वतन्त्र मधेश’ लेखिएको झण्डा र नाराबाजीसहित कार्यक्रममा उपस्थित भएका हुन् । स्मरण रहोस्, दुई वर्षअघि स्वतन्त्र मधेशको नारा छाडेर राउत मूलधारको राजनीतिमा आएका थिए ।

२०७५ फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सम्झौतामा स्वतन्त्र मधेश गठबन्धन तथा उसका नेता–कार्यकर्ताद्वारा तयार पारिएका र पहिला प्रचारमा गएका किताब, पर्चा पम्प्लेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन समाग्री आदिलाई भविष्यमा कारवाहीको विषय नबनाइने उल्लेख गरिएको थियो । तर, सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

सम्झौता भएकै भोलिपल्टै पनि स्वतन्त्र मधेशको नारा लाग्नु साथै झण्डा र ब्यानर प्रदर्शन भएको थियो । त्यतिबेला जनमत पार्टीका अध्यक्ष राउतले भर्खर सम्झौता भएका कारणले कतिपय नेता तथा कार्यकर्तालाई जानकारी नहुँदा भुलवस यस्तो प्रदर्शन हुन पुगेको प्रतिक्रिया दिएका थिए । तर, दुई वर्षपछि पुनः महाधिवेशन स्थलमै स्वतन्त्र मधेशको झण्डा प्रदर्शन हुन पुगेको हो ।

जानकारहरुका अनुसार सिके राउतले मूलधारको राजनीतिमा आएपनि भित्रभित्रै स्वतन्त्र मधेशको अभियानलाई त्यागेका छैनन् ।  तर सरकारले त्यसलाई नजरअन्दाज गर्दै आइरहेको मधेस मामिलाका एक जानकारले बताए ।

जनमत पार्टीले जनमत संग्रहको माग गर्दै आएको छ ।  ११ बुँदे सम्झौतामा पनि जनमत संग्रह लेखाउन चाहेको थियो । तर सरकार पक्षले त्यो शब्द लेख्न नमानेपछि त्यसको ठाउँमा जन अभिमत लेखिएको सो पार्टीका एक वरिष्ठ नेताले बताए ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप