शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ला लिगाको उपाधि होडमा निर्णायक एल क्लासिको आज

शनिबार, २८ चैत २०७७, १२ : ५६
शनिबार, २८ चैत २०७७

धेरै वर्षपछि स्पेनिस ला लिगाको उपाधि होडमा निर्णायक एल क्लासिको आज राति खेलिँदैछ । रियल म्याड्रिडले एस्टाडियो डी स्टेफानोमा बार्सिलोनाको आतिथ्य गर्नेछ ।

दुवै टोली आजको खेलमा उत्कृष्ट फर्ममा साथ मैदानमा उत्रनेछन् । रियल म्याड्रिडले लिगमा पछिल्ला चार खेल जितेको छ भने बार्साले ६ खेल जितेको छ । आजको खेल जित्ने टोलीलाई, अस्थायीरुपमा भएपनि, ला लिगाको शीर्ष स्थानमा पुग्ने अवसर छ ।

हाल एथ्लेटिको म्याड्रिड ६६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । एथ्लेटिकोले आइतबार रियल बेटिसको सामना गर्नेछ । बार्सिलोना ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने रियल म्याड्रिड ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यही भएर उपाधि होडमा आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।

आजको खेलमा रियलका साथमा दुई महत्त्वपूर्ण खेलाडी हुनेछैनन् । कप्तान सर्जियो रामोस घाइते छन् भने उनका पार्टनर राफायल भरान कोरोना संक्रमित रहेका छन् । उता, बार्सिलोनाको टोली भने लगभग पूर्ण शक्तिका साथ मैदानमा उत्रनेछ । कप्तान लियोनेल मेस्सीले आफ्नो टोलीलाई कीर्तिमानी ४५ औँ एल–क्लासिकोमा नेतृत्व गर्नेछन् ।

रियलको अस्थायी घरेलु मैदान एस्टाडियो डी स्टेफानोमा दुई टोली पहिलो पटक भिड्नेछन् । दुई टोलको भिडन्त आयोजना गर्ने यो १२ औँ स्टेडियम हुनेछ ।

लस ब्ल्याङ्काेस बार्सामाथि लगातार तेस्रो जीत हासिल गर्ने आशामा रहेको छ । रियलले पछिल्लो सिजन आफ्नो घरेलु मैदानमा बार्सालाई २–० ले हराएको छ भने सिजनको शुरुवातमा क्याम्प नाउमा रियल ३–१ ले विजयी बनेको थियो ।

खेलको अन्त्यमा दुई टोलीबीच अंक बराबरी भएको खण्डमा आजको खेलको परिणामले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेपाल समयअनुसार १२:४५ मा दुई टोलीबीच खेल हुनेछ ।

स्रोतः गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप