केन्द्रीय संस्करण

झर्राे आन्दोलन र यात्राको क्रम

person explore access_timeचैत २८, २०७७ chat_bubble_outline0

 

 

-विजय खरेल 

चूडामणि रेग्मी १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा जन्मिएका हुन् । उनी खिलेश्वरीदेवी र पीताम्बर रेग्मीका ११औँ सन्तानमध्ये कान्छा हुन् । रेग्मीको कर्मथलो भने झापा हो । उनकोे बसोबास झर्रो नेपाली घर चन्द्रगडीमा छ । 
चैनपुर कलेजबाट २०१७ सालबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गरे । उनी सो क्याम्पसका संस्थापक प्राध्यापक पनि हुन् । 
२०१२ सालमा कथा विधाबाट नेपाली साहित्यको सार्वजनिक यात्रामा होमिएका रेग्मी २०१३ देखि वनारसबाट प्रकाशित हुने ‘छात्रदूत’ पत्रिकाको सम्पादन कार्यमा संलग्न रहेको पाइन्छ । जन सांस्कृतिक सभा, चैनपुरले पत्रिका प्रकाशनका लागि उनलाई सम्पादकका रूपमा छनोट गरेको भनाइ उनको छ । झर्रोवादको थालनी मानिने ‘नौलो पाइलो’ २०१३ चैनपुरको अवधारणा हो भनी दबी गर्ने उनी यो आन्दोलनमा निरन्तर आजपर्यन्त लागिरहेका छन् । यही आन्दोलनमा आधारित भएर विभिन्न विधाका गरी करिब २७ भन्दा बढी पुस्तक प्रकाशित छन् । 

उनका विभिन्न विधामा केन्द्रित रहेर प्रकाशित भएका कृतिहरुमा : पहिलो यात्रा, नेपाली कथासाहित्य, साधना, धुनमा धुन, भुमरी, चाबी, घुमेका कुरा, गफडीका गफ, आँखा र मनका पाइलाहरू, बितेकाहरूको सम्झना, एउटा छाता दिनुहोला है, मनभित्र र बाहिर, भावना, गजवाष्टक, यक्षको पोखरा प्रवास, पारिजात : परिचय र मूल्याङ्कन, कृती र कृति २ भाग, बाइस समालोचना, चिन्तन र समालोचना,  भाषा ः नेपाली टुक्काहरूको अध्ययन, नेपाली भाषा र व्याकरणका केही विषय केही छलफल, तत्सम शब्दको वर्ण विन्यास, अरे ! उदेक लाग्दा कुराहरू, व्यक्तित्व र कृतित्व, दृष्टि र सृष्टि छ्यास्मिस आदि छन् । 

साहित्यप्रति रुचि राख्ने सबैलाई प्रेरणा दिएर साहित्यकार बनाउन खोज्ने, नेपाली भाषालाई माया गर्ने एक सक्रिय साहित्यकार हुन् रेग्मी । प्रगतिशील विचारमा आस्था राख्ने रेग्मीको चैत २९ गते जन्मदिन परेको छ । यही अवसरमा उनीबारे भर्खरै प्रकाशित चूडामणि रेग्मी ग्रन्थावली भाग ३ को पुस्तक अंश यहाँ प्रस्तुत छ । 


नेपाली भाषिक आन्दोलनको इतिहासमा ३० चैत २०६३ का दिन एउटा उल्लेख नगरी नहुने पाटोको बहस र छलफलको आयोजना भएको थियो काँकरभिट्टामा । हुन त योभन्दा पहिला पनि नेपाली साहित्यका प्रगति र समृद्धिका पक्षमा अनेक महत्त्वपूर्ण आयोजनाहरू काँकरभिट्टामा हुँदै आएकै हुन् । २०५० को तीन दिने छैटौँ महानन्द पुरस्कार र त्यसै वर्षको राष्ट्रिय बालसाहित्य समितिको कार्यक्रम होस् वा २०६० तिरको प्रगतिशील लेखक सङ्घको केन्द्रीय आयोजनाको दुई दिने गोष्ठीकै कुरा होस् अथवा सुसेली साहित्यिक परिवार आयोजनामा बर्सेनि पुस्तक लोकार्पण र वार्षिक साहित्यिक कार्यक्रमका भव्य आयोजनाहरू हुन् एवं २०६१ को आदिकवि भानुभक्त आचार्यको सिङ्गो मूर्ति स्थापनाको मौकामा भएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमकै कुरा होस् काँकरभिट्टा साहित्यिक आन्दोलनमा अगुवा रहेको छ । काँकरभिट्टाको योगदान नेपाली भाषा साहित्य र चिन्तनका लागि सक्रिय रहिआएको इतिहास हामीसँग छ । अनि यस गरिमामय कामका लागि काँकरभिट्टाका व्यक्ति व्यक्तित्व, सङ्घ संस्था र व्यवासायिक नागरिकहरूको योगदान महत्वपूर्ण रहिआएको कुरा पनि यस प्रसङ्गमा विर्सन मिल्दैन । 

नेपाली भाषिक आन्दोलनको इतिहास र त्यसको नालीबेलीको विन्द्रालो सुम्सुम्याउँदै लैजादा वि.सं. २०१२–२०१३ सालतिरै पुग्नै पर्नेर’छ । नेपाली साहित्यमा २०२० यता आएर उठेका र उठ्ने गरेका ‘वाद’हरूको लहडी चिन्तनमा र आयातित लहरहरूमा खनीखोस्री गरेर नेपाली लेखनका क्षेत्रमा केही प्रभाव पार्न त खोजेकै हुन् । तर नेपाली भाषाकै निम्ति उपचार, श्रीवृद्धि र समृद्धिकै निम्ति भए गरेका कामहरूमध्ये झर्रोवादी आन्दोलनका नाममा एक मात्र प्रयत्न भएको पाइन्छ । 

विजय खरेल

गमेर हेर्दा झर्रोवादी आन्दोलन उसताका र ऐलेसम्मकै नेपाली भाषिक इतिहासमा सार्थक रहेको र अभिभावकीय चेतनाले काम गरेका आधारहरू छन् । कथ्य परम्परा र वर्ण विन्यासीय संस्कारलाई भाषाको आत्मा मान्ने अनि त्यसको जातीय र भाषिक अस्मितालाई अभिवृद्धि गर्नतिर उत्सुकाएर झर्रोवादी आन्दोलन उठेको पाइन्छ । भाषालाई सक्तो विभाषीय प्रदूषणबाट जोगाउने, आफ्नो भाषाका शब्द भण्डारको संरक्षण गर्न, राष्ट्रका अन्य भाषाभाषीहरूबाट प्रचलनमा आएका शब्दहरूलाई गाभेर स्वस्थ र समृद्ध पार्नु झर्रोवादी आन्दोलनलाई टेकोपुँडो पुग्ने यस लेखकको ठहर छ । यसर्थ नै २०१२/१३ देखि ऐले २०६३ सालसम्म कुनैनकुनै अर्थ, प्रयत्न र आन्दोलनका रूपमा सार्थक प्रयत्नहरू भइरहेको हुँदा नै २०६३ लाई झर्रोवादको स्वर्ण वर्ष भनेर मनाइएको पनि हो । यद्यपि स्वर्ण वर्ष मनाइरहँदा धेरै काम र कुराका सम्झना र सन्दर्भका लेखाजोखा भए पनि विगत पचास वर्षभरिमा थुप्रै संस्थाहरू र कलमहरूबाट यस आन्दोलनका प्रवाहमा रहेर गरेका सार्थक कामहरूको खोजीखन्तो भने त्यति भएको देखिएन । 

कला र साहित्यलाई तत्कालीन पण्डा साहित्यका पोथीबाट निकालेर जनताको सेवामा आउनुपर्छ भन्ने जनवादी भावनाले प्रेरित भएर तत्कालीन झर्रोवादका अभियन्ताहरूले उद्घोष गरेछन्–“साहित्यलाई सबैको पेवा बनाउनुपर्छ, कलालाई जनताको सेवामा लगाउनुपर्छ । सामन्ती समाजको सट्टामा जनवादी समाज तब मात्र आउन सक्छ । यही कुरालाई ध्यानमा राखेर हामी ‘नौलो पाइला’ चाल्दैछौ ।” (नौलो पाइला अङ्क–१, २०१३ को सम्पादकीयबाट) यता कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उसताकाका झर्रोवादी आन्दोलनको उठानको पृष्ठभूमि खोतल्दै डा. टङ्कप्रसाद नेउपानेले उल्लेख गर्नुभएको छ– त्यसबेला विद्याको केन्द्र काशी भएजस्तै नेपाली भाषा र साहित्यका पुस्तकहरूको प्रकाशन केन्द्र पनि काशी नै थियो । 

अध्ययन सकेर नेपाल फर्किएका र वनारसमा अध्ययन गरिरहेका प्रायः उच्च वर्गका व्यक्तिहरूका भाषामा ज्यादै शिष्टता र अनेपाली प्रवृत्ति बढ्दै थियो । नेपालमा पनि हिन्दी भाषा विषय र माध्यम दुवै रूपमा पढाइ हुने हुँदा यसबाट नेपाली भाषा आक्रान्त पनि भएको थियो । त्यस्तै सन् १९५० मा पश्चिम बङ्गालका इस्टर्न फ्रन्टियर गार्डस क्याम्पका केही नेपाली लाहुरेहरूले आधार शिक्षा मात्र पाएका नेपालीका लागि तत्कालीन नेपाली भाषा ज्यादै कठिन हुन लागेको, संस्कृतका तत्सम शब्दको बढी प्रयोग भएर ठेट नेपाली शब्दहरू बिलाउँदै गएको भन्ने टिप्पणी वाङ्देलले पनि गरेको पाइन्छ (भट्टराई २०६३ ः १३६) भने नारायण तामाङले भारती पत्रिकाका सम्पादकलाई लेखेको चिठ्ठीमा विभाषी शब्दका प्रयोगले ठेट नेपाली भाषा विकृत बन्दै गएको, पुष्कर शमशेरले नेपालीमा भित्रिएका संस्कृतको दीर्घ समास प्रक्रियाको विरोध गरेको, टर्नरले नेपालीमा हिन्दीको प्रभाव ज्यादै परेको हुँदा यसलाई जोगाउन सल्लाह दिएको र भिरान्डोकले तत्कालीन नेपाली भाषा नयाँ आविष्कार झैँ देखिन लागेको चर्चा गर्दै आगन्तुक शब्दका प्रयोगद्वारा आफ्नो शैली उजिल्याउन खोज्नु आफ्नो भाषाका शब्दहरूको अनादर गर्नु हो भनेको पाइन्छ (भट्टराई २०६३–१३६–१३७) । 

नेपालीमा संस्कृत शब्दहरू धेरै नै भएकाले र ती शब्दहरू हिन्दीमा पनि हुनाले उत्तर भारतीयहरू नेपाली भाषालाई पहाडी हिन्दी भन्ने र नेपालमा हिन्दुधर्म र संस्कृतको प्रभाव ज्यादा पर्दै गएको आधारमा नेपाललाई पहाडी हिन्दुस्तान भन्दथे । यसै आधारमा वालकृष्ण पोखरेललाई– नन्दगोपाल, यशोदा नन्दन आदि नामले पुकार्दै –आओ गले लगजाओ– भनेर अनुरोध गर्दथे । 

‘नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य हुँदैमा भिन्न राष्ट्र हुँदैन’ भन्ने पनि उनीहरूको तर्क थियो । यसका लागि उनीहरू बेलोरुस र युक्रेन जस्ता संयुक्त राष्ट्र सङ्घका सदस्य भएर पनि सोभियत सङ्घ भित्रै गाभिएको उदाहरण दिन्थे (पोखरेलबाट जानकारी) । अरु पुरेत वर्गका र धनीहरू चाहिँ यस्ता अपमानजनक कुरालाई सुनेको नसुन्यै गर्दथे । यसै पृष्ठभूमिमा उत्तर भारतीय र सम्भ्रान्त वर्गका वर्गीय स्वभाव अनुकूलका विदेशी लिपि, भाषा र संस्कृतिका विरुद्ध स्वपहिचानका निम्ति स्थापित र सञ्चालित एक वैचारिक भाषिक आन्दोलन झर्रोवादी आन्दोलन भएको (थालिएको) देखिन्छ ।” यसरी सुरु भएछ– झर्रोवादी आन्दोलन । यो बाहिरी प्रभाव नभएर भाषिक शुद्धीकरण र समृद्धीकरणको खाँचोको बोधले प्रेरित भएर थालिएको पाइन्छ । 

जम्मा चार अङ्क मात्रै छापिएका ‘नौलो पाइलो’ का अङ्कहरू अन्त भए नभएको जे भए पनि मदन पुस्तकालयमा सुरक्षित रहेको कमल दीक्षितज्यूको लेखबाट जानकारी पाइएको हो । यसको प्रभावको कुरा गर्नु हो भने २०१३ सालबाट थालिएको यो आन्दोलन राष्ट्रिय स्तरमा घोषित अघोषित दुवै रूपमा लेखिँदै र पढिँदै आएको कुराको प्रमाण हो– झर्रोवादी आन्दोलनको स्वर्ण वर्षमा प्रकाशित नौलो पाइलोको स्वर्ण अङ्क अनि धेरै धेरै सिर्जना र साधनाका पारखीहरू कुनै न कुनै रूपमा भाषाको मुहार उजिल्याउने झर्रा, खाँटी र मौलिक शब्दहरूका उपासनामा लागिपरेका हुन् र छन् । आज हरेक वस्तु, साधन र सामग्रीमा मिस्यौटको व्याधिले आजित भएर उपभोक्तामा सक्कली, असल र खाँटी एवं प्राकृतिक र शुद्धताको माग बढेको बेला नेपाली भाषामा समेत उपभोग्य बस्तु सरह भाषिक शुद्धता, सक्कली र नेपाली आत्माको स्वर भएको भाषाको अपेक्षा बढेर गएको छ । नेपाली भाषिक जुइना र जोडनीहरू नेपाली नै राखी बाँकी संज्ञा क्रियापद, विशेषण र विशेष्यहरूमा सम्पूर्ण सडकछाप शब्द र शब्दावलीले विथोलेर नेपाली भाषा ठिहीले कक्रेको सर्प झैँ अररो भएको मात्र होइन, आफ्ना सबै सौन्दर्यहरू विरानो बन्दै गएकाले, यसको गरिमा बढाउने ध्येयमा झर्रोवादको महत्त्वलाई व्यावहारिक रूपमा आत्मसात गर्न सक्ता यसको गरिमा बढ्ने देखिएको छ । नेपाली भाषामा अन्य शब्दहरूको प्रयोगले गर्दा अनुवादे प्रवृत्तिले जरो गाडेको पाइन्छ । जस्तै– हुनजान्छ, भन्न गैरहेको छु आदि आदि । एवं यस्तै र अन्य अररा शब्द, ठिम्मर शब्द, ठेट्ना र पेसुवा एवं मौरीका डाँठ जस्ता शब्द शब्दावली प्रयोगले ठेलीका ठेली पुस्तक त निस्केलान् तर त्यहाँ हुनुपर्ने भाषिक सौन्दर्य, भाषिक मौलिकता र त्यसभित्र निहित सुगन्ध.. रहँदैन ।

हुन त भाषामा झर्रोपन ल्याउने तरिकामा भिन्नता नआएको भने होइन । केही प्रयोगहरू पनि भएकै हुन् । व्याकरणको समस्या, ह्रस्व, दीर्घको समस्या, संस्कृतका अनुदानबाट आएका केही अनावश्यक अक्षरहरूको छाँटकाँट, स्वरवर्णमा दीर्घ अक्षरहरूको विस्थापन, श्रीविन्दुलाई ञ, ङ, न ले विस्थापन गरी भाषालाई अलिक चङ्गा, सतङ्गो र हलुका पारिसकेको अवस्था पनि यति बेला छ । लखेटिएको हलन्त पुनस्र्थापित भएको छ । यसरी झर्रोवादी आन्दोलनले घोषित अघोषित जसरी भए पनि भाषाको सुन्दरता बढाउने, मौलिकतालाई जोगाउने एवं परिष्कार गर्ने अभियानमा भाषिककर्मीहरू सधैँ संलग्न रही आएको पनि पाइएको छ । अब ३० चैत २०६३ को दिन नेपाली भाषिक आन्दोलनको इतिहासमा एउटा उल्लेख नगरी नहुने पाटोमा बहस र छलफलहरू भए काकरभिट्टामा । झापाली, मोरङ्गेली, सुनसरेली वा पूर्वेली विज्ञ, विद्वान् र प्राज्ञहरूको पउल रहेको यो भेलाले भाषा र साहित्यका कनिष्ठदेखि वरिष्ठ र वरिष्ठतम व्यक्ति व्यक्तित्वहरूको घञ्चमञ्च जमघट जुटाएको थियो । २०१३ सालदेखिका भाषाका झर्रोवादी अभियन्ताहरूको उपस्थिति आन्दोलनको स्वर्ण वर्षको आखिरीको यो अवसर निकै गरिमामय रहेको हो । त्यसबाहेक झर्रोवादी लेखकहरूको दोस्रो पुस्तादेखि क्याम्पसका भाषाका विद्यार्थीहरू समेतको यथेष्ट उपस्थिति रहेको थियो । यो झर्रोवादप्रतिको चासोकै कारण पनि उपस्थिति झ्याङ्गिएको मानिएको हो । जुही साहित्यिक त्रैमासिक चन्द्रगढीको आयोजना र झर्रो नेपाली घरका श्री चूडामणि रेग्मीको सक्रियतामा काँकरभिट्टाको महेन्द्रद्वार सहकारी संस्थाको सभाकक्षमा आँटी नआँटी बसेको भेलाले चार घण्टासम्म धौ फुकाएर बहस ग¥यो । विज्ञान, प्रविधि र विज्ञापन, विद्युतीय सञ्चार अनि राजनीतिक प्रचारका प्रकोपबाट नेपाली भाषामा एकातिर तातो भुत्भुते खन्याइएको र भाषिक आबरु क्षत विक्षतको अवस्थामा पुगेको छ भने अर्कातिर सीमित रूपमै भए पनि भाषामा झर्रोवादबारे परिचर्चा र बहसले भाषामा जीवनदायी प्रक्रियाको निरन्तरता रहेको अनुभूति वा वोध भाषाप्रेमी र विद्यार्थीहरूले गरेकै हुनुपर्छ । यद्यपि यो विषय नौलो भने रहेको होइन तर खाँचोकै कुरा गर्दा नौलो पाइलोका डोबहरूलाई पछ्याउँदै ‘महाजनो येन गतः स पन्था’ लाई आत्मसात् गर्नु नै पर्ने हुन्छ ।  

व्याकरणको समस्या, ह्रस्व, दीर्घको समस्या, संस्कृतका अनुदानबाट आएका केही अनावश्यक अक्षरहरूको छाँटकाँट, स्वरवर्णमा दीर्घ अक्षरहरूको विस्थापन, श्रीविन्दुलाई ञ, ङ, न ले विस्थापन गरी भाषालाई अलिक चङ्गा, सतङ्गो र हलुका पारिसकेको अवस्था पनि यति बेला छ । लखेटिएको हलन्त पुनस्र्थापित भएको छ । यसरी झर्रोवादी आन्दोलनले घोषित अघोषित जसरी भए पनि भाषाको सुन्दरता बढाउने, मौलिकतालाई जोगाउने एवं परिष्कार गर्ने अभियानमा भाषिककर्मीहरू सधैँ संलग्न रही आएको पनि पाइएको छ ।

भेलामा झर्रोवादका ती गरिमामय व्यक्तित्वमध्ये नौलो पाइलोका उनताकाका मुख्य सम्पादक र नेता श्री बालकृष्ण पोखरेल, यसका संवाहक श्री कोषराज रेग्मी, स्व. पोषराज निरौला र श्री चूडामणि रेग्मी हुनुहुन्थ्यो भने मोरङ्गेली विद्वान्हरूमा अनिरुद्ध तिम्सिना, विश्वराज पाण्डे, दधिराज सुवेदी, बलराम पोखरेल, सरला चापागाईं, खेम नेपाली, लक्ष्मी उप्रेती, मिश्र वैजयन्ती, नवराज सुब्बा आदि थिए भने सुनसरेलीहरूमा झर्रो आन्दोलनका विवेचक र समालोचक डा. टङ्कप्रसाद नेउपाने, उपेन्द्र पागल, कालीप्रसाद सुवेदी, बद्रीविशाल पोखरेल, कृष्णविनोद लम्साल र कृष्ण अधिकारीसमेतको उपस्थिति रहेको थियो । त्यस्तै झापालीहरूमा कोमलप्रसाद पोखरेल, जयप्रसाद ढकाल, रोहिणीविलास लुइँटेल, कृष्ण धरावासी, भवानी क्षेत्री, विष्णुकुमार भट्टराई, तेराख, राजेन्द्र सङ्ग्रौला, डम्बर घिमिरे, अग्निप्रसाद कोइराला, ठाकुरप्रसाद पोखरेल, चूडामणि वशिष्ठ, राधिका राया, मधु पोखरेल, मुना किरण कोइराला, शारदा कोइराला, अच्युत घिमिरे, कृष्ण सुवेदी ‘निराकार’, डा. द्रोण पौडेल, देवीचरण भण्डारी, घनेन्द्र शर्मा, तारा विविध, लक्ष्मी पौडेल, कर्णाखर खतिवडा, कमल गुरागाईं, पुण्य खरेल, मोहन पाठक, यज्ञराज प्रसाईं, रामचन्द्र उप्रेती, पुण्यप्रसाद खरेल, केन्द्रप्रसाद भट्टराई, देवकीनन्दन अग्रवाल, रश्मिशेखर सुवेदी, वेदकुमारी रेग्मी, अमृतलाल श्रेष्ठ, ठाकुर शिवाकोटी, दामोदर ढुङ्गेल, कनकबहादुर कार्की, कृष्णप्रसाद उप्रेती, विजय खरेल, युवराज लामा, मोहन पौडेल, राजीव गौतम, रीता भेट्वाल र बलराम पोर्तेल एवं पत्रकारहरू थुप्रैथुप्रै नाम सम्झन नसकिएका मेची बहुमुखी क्याम्पस, झापाका नेपाली भाषाका विद्यार्थीहरू समेतको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा चूडामणि रेग्मीबाट चूडामणि वशिष्ठलाई ‘झरिलो झर्रो झापाली’ले सम्मान गर्नुभएको थियो भने कार्यक्रममा दुईवटा कृति समेत लोकार्पित भएका थिए ।

कार्यक्रमको मध्यभागतिर किसान पुराणका लेखक कृष्णप्रसाद उप्रेतीले भेलाका सहभागीहरूलाई सुन्तला, मिठाई र चियाले सम्मान गर्नुभएको थियो भने कवि स्व देवकीनन्दन अग्रवालले स्वादिष्ट स्याउका दानाले र चूडामणि रेग्मीले केरा ख्वाएर सहभागीहरूको सत्कार गर्नुभएको थियो । सुनसरेली र मोरङ्गेली स्रष्टा र सहभागीहरूलाई सूर्योदय माविबाट कृष्णप्रसाद उप्रेतीले भोजनको व्यवस्था गर्नुभएको थियो । आख्यानकार पुण्यप्रसाद खरेलको अध्यक्षता, प्रसिद्ध भाषाशास्त्री, मान्य भाषाविद् एवं उसताकाका झर्रो आन्दोलनका मूल खम्बा बालकृष्ण पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको परिचालन श्री चूडामणि रेग्मीले गर्नुभएको थियो । त्यस्तै डा. टङ्कप्रसाद नेउपानेको समीक्षात्मक परिचर्चाबाट वहसको प्रारम्भ भएको थियो । 

यसरी हिजोकै त्यही नौलो पाइलोले एउटा अभीष्ट पस्केको थियो । त्यसैलाई आत्मसात् गर्दै उसैताकाका महानन्द सापकोटा, श्यामप्रसाद शर्मा, देवमणि ढकाल, कृष्णचन्द सिंह प्रधान, वीरेन्द्र खुँजेली एवं पत्रपत्रिकाका सम्पादकीय र लेखोटबाट टेकोपुँडो गर्नेमा बालमुकुन्द देव पाण्डे, माधव भँडारी, पोषराज निरौला, विपिनदेव ढुङ्गेल, शङ्कर चौलागार्इंहरूले आफ्ना तर्फको निरन्तरतालाई अँगाली राख्नु भएको पाइएको हो । तर कतिपय नौला पाइलाका अभियन्ताहरूले यता आएर लत्तो छाडे पनि असङ्ख्य नयाँ र नौला कलमहरू सचेत रूपमै तँछाड्–मछाड्को दौडमा रहेका छन् । यसै पनि झर्रोवादले नेपाली भाषाको शीर्षस्थानमा आफ्नो स्थान बनाइसकेको छ र आफ्नो आन्दोलनको सार्थकतालाई स्थायीरूपमै सिद्ध गरी पनि सकेको छ । यसरी कैरनका कौलासाहरू जति नै कथुरे पनि गन्न र भन्न सकिने चुरो कुरो भने झर्रो नेपाली स्वर्ण जयन्ती २०६३ को मूल्यकै सेरोफेरोमा आजका वाङ्मयका पाइलाका छाप या डोबहरू नै हुन्, भोलिका पुस्ताहरूलाई गोरेटो । यस भेलाले त्यही एउटा गोरेटो ठम्याइदिएको छ । जुन गोरेटोमा इतिहासमा ज्ञान, आलोक, चिन्तन र चेतना बाँडेर हिँड्ने मनीषीहरूका पाइलाहरू छन् । तिनकै छाप हाम्रा वाङ्मयमा आलेखित हुने हो । त्यसो हुँदा नै पुर्खाले छाडिराखेको एउटा इतिहासको गेडी यसरी निरन्तर गुड्किरहन्छ– महाजनो येन गतः स पन्था ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.