शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा चहलपहल बढ्दै, गोसाइँकुण्डले तान्दै पर्यटक

शनिबार, २८ चैत २०७७, १० : १९
शनिबार, २८ चैत २०७७

वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक  छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।  लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । 

पदयात्राको लागि दैनिकजसो सरदरमा २०÷२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भई स्नान गर्न सहज वातावरण  भइसकेकाले गोसाइँकुण्डतर्फ  बढी मात्रामा  पर्यटक केन्द्रित हुनथालेका छन् । 

भगवान शङ्कर विराजमान रहेको र कुण्डमाथीका अल्का हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुनथालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइँ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जानकारी दिए ।  एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रसियन पर्यटकको समूह धुञ्चेमा भेटेपछि फोटो खिच्नेको लर्काे लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पिसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालीसकेको जानकारी दिए ।

धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था  मिलाउन  लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरीसकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने  होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।
      
नेपालको तेस्रो गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी सङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप