बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघ्यो

शुक्रबार, २७ चैत २०७७, २३ : ४२
शुक्रबार, २७ चैत २०७७

नरेन्द्र बस्नेत  

लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने  संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै  गएको छ । महामारी शुरु भएयता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

बितेको २४ घन्टामा थप ६० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख २७ हजार ४० पुगेको हो । पछिल्लो एक सातामा मृतक संख्यामा २५.८ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा थप तीन हजार एक सय ५० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ  संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ६५ हजार ४६१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजारको हाराहारीमा रहँदै आएको छ । संक्रमित संख्यामा पनि गतसाताको तुलनामा ३२२ प्रतिशतले ह्रास आएको हो ।

बेलायतमा तीनवटा कम्पनीको खोप वितरण

बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।

फाइजर र एस्ट्राजेनेकाले जस्तै मोडर्ना खोप पनि हरेक मानिसलाई दुई डोज दिनुपर्नेछ भने यस खोपको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहने बताइएको छ । कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता बेलायतमा  तीन करोड ८४ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्याँकअनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ८४ लाख ४४ हजार ५४० डोज खोप वितरण भइसकेको छ । तीन करोड १९ लाख ३ हजार ३६६ जनाले खोपको पहिलो डोज लिएका छन् भने ६५ लाख ४१ हजार १७४ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप