शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिलिपको शताब्दी चुम्ने आशा अधुरै,बेलायत र विश्व समुदायद्वारा उच्च प्रशंसा

शुक्रबार, २७ चैत २०७७, २२ : ४०
शुक्रबार, २७ चैत २०७७

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका छन् । बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्षयता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीलाई हेर्न छाडिदिएका थिए । उनको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले शुक्रबार नै घोषणा गरेको छ । 

उनको निधनपछि उनलाई विश्व नेताहरूले बेलायत र विश्वका लागि उनको योगदानको स्मरण गरेका छन् । यसै क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उनको ‘असाधारण जीवन र काम’ लाई स्मरण गरेका छन् ।

उनले भनेका छन्, ,‘ड्यूक अफ एडिनबर्ग’ ले स्वदेश (कमनवेल्थ) तथा विदेशमा विभिन्न पुस्ताको माया पाएका छन् । उनले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौंसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाएका छन् ।

बेलायती प्रधानमन्त्री जोनसनले सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरेको शोक सन्देशमा भनिएको छ, “राजकुमार फिलिपले आफ्नो जीवनकालभरी बेलायत र विश्वका लागि गरेको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछु साथै यस शोकको घडीमा महारानी एलिजावेथ तथा बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गर्दछु ।” 

यसैगरी उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, आयरल्यान्डका प्रधानमन्त्री मिखाएल मार्टिन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलगायतका नेताहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटर, फेसबुक लगायतका समाजिक सञ्जालमा उनको योगदानलाई स्मरण गरिएको छ । 

यसरी उनलाई स्मरण गर्नेहरूमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, अमेरिकी पूर्व राष्ट्रपति, यूरोपेली नेताहरू लगायत रहेका छन् । 

महारानीप्रति फिलिपले देखाएको सुदृढ र निरन्तर समर्थनका कारण ‘ड्यूक अफ एडिन्बरा’ राजकुमार फिलिपले बेलायत तथा विश्व समुदायका बीचमा ६० वर्षभन्दा बढी समयदेखि उच्च सम्मान पाएका छन् । उनले वहन गरेको भूमिका जोकसैको निम्ति पनि कठिन किसिमको थियो अझ विविध विषयमा आफ्नो कडा धारणा राख्ने नौसेनाका अधिकृतका लागि त यो झनै कठिन थियो।

तर व्यक्तित्वको सोही सबल पक्षले उनलाई आफ्ना जिम्मेवारीहरू प्रभावकारी ढङ्गले निर्वाह गर्न सहयोग गर्यो । साथै आफ्नी पत्नीलाई रानीको कर्तव्य पूरा गर्न सम्पूर्ण सहयोग गर्न उनले सके ।

महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत प्राप्त थिएन । तर राजसंस्थाको नजिक उनीभन्दा धेरै अरू कोही थिएन । राजकुमार फिलिपको जन्म सन् १९२१ को जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो ।

दोस्रो विश्व युद्धको सँघारमा फिलिपले सैन्य सेवामा प्रवेश गरेका थिए । रोयल न्याभीमा जागिर थालेपछि त्यसैताका सन् १९३९ मा उनी र महारानी एलिजाबेथ पहिलोपटक भेट भएको बताउने गरिन्छ । 

लहानस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थिए । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जोर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो ।

बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै क्महारानी एलिजाबेथद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । 

उनको विशेष रुचि युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो । 

दशकौंसम्म महारानीको समर्थनमा तथा अन्य परोपकारी संस्थाका निम्ति विभिन्न कार्यक्रमहरूमा भाग लिएका राजकुमार फिलिपले सन् २०१७ को अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । बकिङ्घम प्यालेसका अनुसार सन् १९५२ देखि सार्वजनिक जीवनबाट अवकाश लिने समयसम्म उनी झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए ।

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई केही समय पहिले बेलायती अस्पतालमा भर्ना गरी गरिएको उपचारपछि स्वास्थ्यमा सुधार आएको भन्दै एक महिना पहिले उनको निवासमा लगिएको थियो ।  राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिना र १० जना पनाति पनातिनीहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप