शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडा गणना आज सकिने

शुक्रबार, २७ चैत २०७७, १४ : ३७
शुक्रबार, २७ चैत २०७७

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदैछ । उनले भने, ‘ध्रुवे हात्तीले अवरोध पु¥याएको क्षेत्रमा आज गणना गरेर भोलि नतिजा सार्वजनिक गर्दैछौँ ।” बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।
 
बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उनले जानकारी दिए । हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।

पछिल्लो पटक सन् २०१५ को गणनामा  नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको हो । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो । बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइएको छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप