राति ९ बजेपछि रेस्टुरेन्ट व्यवसाय खोल्न पाइने
काठमाडौं । रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको बुधबारको सूचना खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा भनिएको थियो, ‘रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ ।’
सीसीएमसी वा क्याबिनेटले निर्णय गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले यस्तो सूचना जारी गरेपछि पर्यटन क्षेत्रमा बुधबारदेखि नै हल्लीखल्ली मच्चिएको थियो । मन्त्रालयको सूचना जारी भएको भोलिपल्ट बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सहसचिवसहित उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठक बस्यो ।
यो आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सो सूचना बाध्यकारी नभएको ठहर गरेको छ । स्वास्थ्य मन्त्रालयको सूचना बाध्याबारी नहुने गृह प्रशासनको निणर्चयसँगै अब रात्रिकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।
बिहीबारको बैठकले समस्या समाधान गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी बताउँछन् । रेग्मीले रातोपाटीसँग भने, ‘हामीले स्वास्थ्य मन्त्रालयको निर्णय मान्ने कि क्याबिनेटको ? मान्ने त क्याविनेटकै होला नि । त्यसैले क्याबिनेटले निर्णय नगरेसम्म स्वास्थ्य मन्त्रालयले जे सूचना निकाले पनि हामी मान्न बाध्य छैनौं ।’
क्याबिनेटले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई हेरेर सम्बन्धित मन्त्रालय र सरोकारवाला पक्षलाई निर्णय गर्न दिने भनेको रेग्मी बताउँछन् ।
‘स्वास्थ्य मन्त्रालय आफैंले समय सीमा तोकेर सूचना निकालिदियो । यसले अहिलेको समस्या आएको हो,’ रेग्मी भन्छन्, ‘बिहीबार हामीले पर्यटन मन्त्रालयसहित गृह मन्त्रालय र उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुसँग बसेर घनिभूत छलफल गरेका छौं । बैठकले निर्वाध व्यवसाय गर्न पाउने गरी निर्णय गरेको छ ।’
नयाँ वर्षको मुखमा व्यवसाय बन्द गराउने स्वास्थ्य मन्त्रालयको सूचनाले पर्यटन व्यवसायीहरु असन्तुष्ट बनेका थिए । लामो समयपछि बल्लतल्ल खुल्न लागेको व्यवसायलाई पुनः बन्द नै गर्ने मन्त्रालयले उर्दी जारी गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि पोखेका ।
मन्त्रालयको सूचना सार्वजनिक अपिल मात्रै : डा.समिर
पर्यटन मन्त्रालय, विभाग र सरोकारवालाहरुले रात्रिकालीन पर्यटन व्यवसायको समय सीमा तोकिनु गल्ती ठहर्‍याइरहँदा यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आफूहरुको सो सूचना सार्वजनिक अपील मात्र भएको स्पष्टोक्ति दिएको छ ।
विवादित बुँदा नम्बर ७ बारे रातोपाटीले सोधेको प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.समिरकुमार अधिकारी उक्त सूचना स्वास्थ्य सुरक्षाका लागि मन्त्रालयले सार्वजनिक गरेको अपिल मात्रै भएको जिकिर गर्छन् । उक्त सूचना कोभिड–१९ स्वास्थ्य सुरक्षा केन्द्र (सीसीएमसी) लाई गरिएको अनुरोध मात्र भएको उनको तर्क छ ।
‘मन्त्रालयले बुधबार जारी गरेको सूचना कोही कसैप्रति लक्षित होइन, यो त केबल कोभिड–१९ को स्वास्थ्य सुरक्षा तथा सतर्कताका लागि जारी गरिएको सार्वजनिक अपिल मात्र हो । सूचना अनुसार सुरक्षित रहन, गर्न, गराउन सम्बन्धित पक्षलाई गरिएको आग्रह मात्र हो,’ अधिकारीले रातोपाटीसँग भने, ‘तर यसको गलत बुझाइ भयो । यद्यपि यो मन्त्रालयले स्वास्थ्य सुरक्षार्थ सीसीएमसीलाई गरेको अनुरोध हो ।’
स्वास्थ्य मन्त्रालयको सूचना:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीमा शान्ति चाहने मनमोहन सिंह संविधान सभाबाट संविधान बनाउन नेताहरूलाई दिन्थे दबाब
-
डीन कार्यालयको निर्देशन अटेर, पाटन क्याम्पसमा मेरिट मिचेर आफ्ना मान्छे भर्ना
-
हात्ती सुन्दरी प्रतियोगितामा बिजुलीकली प्रथम, तस्बिरहरु
-
विशेष अदालतमा न्यायाधीश फेरियो, थारुको सरुवा
-
सांसदहरुलाई दम्भ प्रदर्शन नगर्न कर्मचारी ट्रेड युनियनको चेतावनी
-
राजश्व न्यायाधिकरण काठमाडौँको अध्यक्षमा प्याकुरेलको नाम सिफारिस