बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुर्सी जोगाउन प्रधानमन्त्री अस्थायी तमसुक गर्न खोजिरहेका छन्’

बिहीबार, २६ चैत २०७७, १८ : ०६
बिहीबार, २६ चैत २०७७

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए ।

उनले आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको जनाए । तर, सत्ता समीकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी, नेपाल भने अन्योलमा रहेको उनको भनाई थियो ।

वर्तमान प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको उनको आरोप छ । उनले भने, ‘उहाँले जनमतको सम्मान गर्न सक्नुभएन, सरकार र संसद्को राम्रो व्यवस्थापन पनि गर्न सक्नुभएन, पार्टीको त झनै गर्न सक्नुभएन ।’ पुष ५ गते संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु सडक संघर्षमा गएको र त्यतिबेला प्रधानमन्त्रीको कदमको विरोध काँग्रेस र माओवादी केन्द्रले पनि गरेको उनको भनाई छ ।

उनले संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्ने धारणा राखे । अहिले पनि प्रधानमन्त्री ओलीले संसद् विघटन ठीक थियो र फेरि पनि ताजा जनादेशमा जानुपर्छ भनेर भन्ने गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खेलाँचीको संज्ञा दिए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी र पद जोगाउनको लागि अस्थायी प्रकृतिको तमसुक गर्न खोजिरहेको पनि आरोप लगाए । उनले भने,‘उहाँले गर्ने अस्थायी प्रकृतिका सम्झौताले समस्याको समाधान हुँदैन । सहमति कार्यान्वयन गर्ने सवालमा प्रधानमन्त्री ओली उदासिन हुनुहुन्छ । सरकारको आयु लम्ब्याउन उहाँले पद बाँड्ने र लोभ/लालच देखाउने र आश्वासन बाँड्ने काम गर्दै हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप