शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिक्रान्तिको घण्टी बजिसक्यो, बालुवाटारमा बालुवा पेलेर क्रान्ति बच्दैनः प्रचण्ड

बिहीबार, २६ चैत २०७७, २३ : ०७
बिहीबार, २६ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशमा प्रतिक्रान्तिको  खतराका घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।  बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको आरोप लगाए । उनले बालुवाटारमा सहमतिको नाममा बालुवा पेल्नुको औचित्य नभएको भन्दै त्यसरी क्रान्ति नबच्ने भएकाले फेरि जनतामाझ आएको बताए । 


'सिंहदरबार भित्रबाट या बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन । अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने हामीले निर्क्योल लियौं, मैले एउटा संकल्प गरेँ र म कर्णाली प्रदेशमा आएँ’, प्रचण्डले भने। 

प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताए । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने र त्यो निकै महँगो पर्ने चेतावनी दिए ।

उनले  अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने एजेण्डा ल्याउने भन्दै त्यसबारे केन्द्रीय समितिमा गम्भीर छलफल हुने पनि प्रचण्डले बताए । लडेर ल्याएको उपलब्धिलाई उल्ट्याउन षड्यन्त्र पटक–पटक दोहोर्याउँदै प्रचण्डले काठमाडौं घेराबन्दीलाई चिर्न श्रमजीवी जनताबाट मात्रै सम्भव भएको पनि बताए । 

उनले काठमाडौंमा सरकार परिवर्तनका बैठकहरू निरन्तर चलिरहेको भन्दै त्यसलाई छिटो निष्कर्षमा पुर्याइने पनि प्रचण्डले बताए ।  ‘भरै काठमाडौंमा महत्वपूर्ण मिटिङ छ । सरकार परिवर्तनका छलफल चलिरहेको छ । त्यसलाई टुंगोमा पुर्याउनुपर्नेछ’ प्रचण्डले आफू हतारमा रहेको बताउँदै सम्बोधनका क्रममा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप