शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : संसद् अधिवेशन अन्त्य भए पनि सरकार फेर्ने खेल जारी

बिहीबार, २६ चैत २०७७, ०८ : ४७
बिहीबार, २६ चैत २०७७


 बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू अल्पमतमा पर्ने संकेत देखिएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरे पनि विपक्षी दलहरुले सरकार परिवर्तनका लागि छलफल जारी राखेका छन् ।

नेकपा माओवादी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकार गठनका लागि गठबन्धन बनाउन आपसमा छलफल जारी राखेका हुन् । मंगलबार मध्यरातदेखि संसद अधिवेशन अन्त्य भए पनि विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि बुधबारसमेत छलफललाई निरन्तरता दिएका थिए ।

एमाले र माओवादी केन्द्रको गठबन्धनमा आधारित प्रदेश सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नयाँ साझेदारको आवश्यकता पर्दछ । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, नेकपा माओवादी केन्द्रका २०, काँग्रेसका १९ र जनता समाजवादी पार्टी नेपालका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । तीमध्ये माओवादी केन्द्रले दुई सांसदलाई कारवाही गरेका कारण उनीहरुले पद गुमाइसकेका छन् ।

अहिलेको अवस्थामा प्रदेशसभामा ८५ सांसद छन् । बहुमतका लागि कम्तिमा ४३ सांसदको समर्थन आवश्यक पर्दछ । सभामुख माओवादी केन्द्रकै रहेका कारण उसका १७ सांसदले मात्र सरकार गठनका लागि भूमिका निर्वाह गर्नेछन् । यस अतिरिक्त काँग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एकसहित ४३ सांसद जुटाएर एमालेको विकल्पमा प्रदेशसभाबाट सरकार गठन हुने सम्भावना छ ।

पछिल्लो समय सरकार परिवर्तनको मुद्दामा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नेपाल एक भएका छन् । यद्यपि उनीहरुबीच भागवण्डा मिल्न बाँकी छ ।

जसपा नेपालका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेका अनुसार बुधबार पनि सरकार गठनका बारेमा माओवादी केन्द्रका नेताहरुसँग छलफल भएको थियो । उनले सरकार गठनका लागि अहिले जसपा नेपालभन्दा पनि माओवादी र नेपाली काँग्रेसले बढी सक्रियता देखाउनुपर्ने बताए ।

प्रदेशमा कुन समीकरणमा सामेल हुने भन्नेबारे जसपा नेपाललाई केन्द्रबाट कुनै प्रकारको निर्देशन नआएको उल्लेख गर्दै उनले दलहरुबीच स्वतन्त्र ढंगले आफूहरु छलफलमा जुटेको बताए । सरकारले प्रदेशसभाको बैठक अन्त्य गर्दैमा सरकार परिवर्तन खेल नरोकिने उनको भनाइ छ ।

‘यता कुरा मिल्यो भने सरकारले प्रदेशसभा अन्त्य गर्दैमा विकल्प खोज्न सकिँदैन भन्ने होइन,’ उनले भने, ‘यो सरकारको विकल्प खोज्न हामी पहिला एकजुट हुनुप¥यो, अधिवेशन अन्त्य गर्दैमा सरकार जोगिन्छ भन्ने होइन ।’

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले अधिवेशन अन्त्य भए पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने आफूहरुको प्रयास जारी रहने बताए । ‘जनताको आवाज बुलन्द पार्ने ठाउँ भनेकै संसद् हो,’ उनले भने, ‘सरकारले हतार–हतारमा अधिवेशन अन्त्य गर्न मिल्दैनथ्यो ।’

विपक्षी दलहरु मिलेर कतै अविश्वासको प्रस्ताव ल्याउँछन् कि भन्ने त्रासमा रहेको सरकारले हतारमा अधिवेशन अन्त्य गरेको उनले बताए । उनले भने, ‘तर अधिवेशन अन्त्य भए पनि हामी अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य जारी नै राख्छौं ।’

विपक्षी दलहरुबीच सहमति जुट्न सकेको खण्डमा संसद अधिवेशन बोलाउन माग गर्न सकिने उनको भनाइ छ । ‘त्यो अवस्थामा अधिवेशन माग गरेरै अविश्वासको प्रस्ताव दर्ता गराइन्छ,’ उनले भने, ‘सरकारले अधिवेशन अन्त्य गरेको छ, हाम्रो प्रयासलाई अन्त्य गर्न सक्दैन ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगर संसद अधिवेशन अन्त्य भए पनि सरकार परिवर्तनको गृहकार्य जारी रहने बताउँछन् । ‘सरकार ढाल्न र अर्को सरकार गठनका लागि अंक गणित जुटाएरमात्र आफूहरुले आगामी कदम चाल्ने उनको भनाइ छ ।

सरकार परिवर्तनका लागि जसपा नेपालको निर्णायक भूमिका रहने भन्दै उनले पछिल्लो समय दुवै पक्षबाट जसपालाई प्रभावित पार्ने काम भइरहेको बताए । ‘मुख्यमन्त्रीले पनि जसपालाई नै फकाइरहेका छन्,’ उनले भने, ‘हामीले पनि जसपा नेपालको साथ पाएमा यो सरकारको विकल्प दिन सक्छौं भनेर उसलाई मनाउने प्रयास गरिरहेका छौं ।’

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भने एक प्रकारको सहमति बनिसकेको उनले बताए । माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने र त्यसलाई काँग्रेसले साथ दिनेबारे सहमति जुटिसकेको भए पनि जसपा नेपालसँग सहमति जुट्न बाँकी रहेका कारण अविश्वास प्रस्ताव ल्याउन ढिलाइ भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप