शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराका पर्यटन व्यवसायीको गुनासो : नयाँ वर्ष पनि सुख्खा हुने भयो

बिहीबार, २६ चैत २०७७, ०८ : ०३
बिहीबार, २६ चैत २०७७


पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि कोरोना संक्रमणका कारण लगातार दोस्रो वर्ष त्यो परम्परा टुट्ने भएको छ । सरकारले राति ९ बजेपछि रेष्टुरेन्ट व्यवसाय सञ्चालन नगर्न भनेपछि त झनै यसपालिको नयाँ वर्षमा पर्यटन व्यवसाय सुख्खा हुने भएको छ ।

कोरोना संक्रमण बढ्न थालेसँगै स्थानीय प्रशासनले मेला, महोत्सवमा रोक लगाएपछि अब नयाँ वर्षमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमसमेत रोक्ने भएको छ ।  

आशन्न नयाँ वर्षको अवसरमा विभिन्न मेला र महोत्सव आयोजना गरेर पर्यटकलाई आकर्षित गर्दै आएका पोखराका व्यवसायीहरु मुख्य सिजनमा पनि सुख्खा बस्नुपर्ने अवस्था आएको भन्दै चिन्तित देखिएका छन् ।

अघिल्लो महिनासम्म कोरोना संक्रमण घट्दै आएकाले विभिन्न कार्यक्रम आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेका व्यवसायीहरु पछिल्ला दिनमा अकस्मात संक्रमण वृद्धि हुन थालेपछि फेरि व्यापार–व्यवसाय चौपट हुने चिन्ताले निराश भएका हुन् ।

कोरोना संक्रमण फैलिनुभन्दा अगाडिका वर्ष पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम हुने गरे पनि अघिल्लो वर्ष र यस वर्ष संस्थागत रुपमा कुनै पनि विषेश कार्यक्रम आयोजना नगरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

‘कोराना संक्रमण वृद्धि भएपछि प्रशासनले गरेको आग्रहलाई ध्यानमा राख्दै हामीले संस्थागतरुपमा यसपटक कुनै स्पेशल इभेन्ट आयोजना गरेका छैनौं,’ उनले भने, ‘तर, पर्यटनसँग आवद्ध विभिन्न व्यवसायीले राजधानीबाट कलाकारहरु बोलाएर स्वास्थ्य मापदण्ड पालनाका साथ कार्यक्रम गर्दै हुनुहुन्छ ।’

लामो समयसम्म कोभिड–१९का कारण ठप्प भएको पर्यटन व्यवसाय क्रमशः तङ्ग्रिदै गएको अवस्थामा फेरि संक्रमण वृद्धि भएपछि व्यवसायीमा त्रास बढेको उनले बताए । ‘आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीहरुले दैनिक खर्चको जोहो गर्न थालेका थिए, फेरि संक्रमण वृद्धि भएको हल्लाले तनाव थपेको छ,’ उनले भने ।

अध्यक्ष भट्टराईले कोभिड संक्रमण क्रमशः घट्दै गएपछि पोखरा भित्रिने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य सुधार आएको बताए । उनले केही महिना अघिदेखि बढेको आन्तरिक पर्यटकको आगमनले व्यवसायीमा ऊर्जा थपिएको बताए ।

‘लामो समयदेखि थलिएको पोखराको पर्यटनमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनले व्यवसायी उत्साहित भएका थियौं,’ उनले भने, ‘बाह्य पर्यटकको आगमन अनिश्चित भएको अवस्थामा आन्तरिक पर्यटनमा भएको वृद्धिले व्यवसाय बचाउन सकिने आश जागेको थियो तर, फेरि संक्रमण वृद्धिको हल्लाले तनाव सिर्जना भयो ।’

पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरेर नयाँ वर्षमा कुनै खास कार्यक्रम आयोजना नगरिने बताए । कोरोना संक्रमण वृद्धि भएसँगै स्थानीय प्रशासनले मेला, महोत्सव लगायत कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेकाले नयाँ वर्षको रौनक बढाउने कुनै गतिविधि नहुने उनको भनाइ छ ।

पोखरेलले कोरोना संक्रमणपछि बाह्य पर्यटक आगमन न्युन भए पनि केही महिना यता आन्तरिक पर्यटक क्रमशः वृद्धि हुँदै गएपछि व्यवसायीमा उत्साह बढेको सुनाए । तर, फेरि संक्रमण बढ्न थालेको खबरले आफूहरूमा निराशा जगाउन थालेको उनको भनाइ छ ।

बाह्य पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुने तत्काल कुनै सम्भावना नभएको बताउँदै उनले आन्तरिक पर्यटकबाहेक अरु विकल्प नभएको अवस्थामा देशभित्रै संक्रमण बढ्न थालेपछि त्यो एउटा आशा पनि समाप्त हुने चिन्ता बढाएको पोखरेलको भनाइ छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल पनि बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन र भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेकाले नयाँ वर्षमा कुनै कार्यक्रम आयोजना नगरिएको बताउँछन् ।

उनले पोखराका सम्पूर्ण पर्यटन व्यवसायीका तर्फबाट नेपाली नयाँ वर्षमा पश्चिमाञ्चल होटल संघको आयोजनामा फेवा नव वर्ष महोत्सवको आयोजना गरिँदै आए पनि यस वर्ष कोभिडका कारण रोकिएको बताए ।

‘अंग्रेजी नयाँ वर्षमा रेवानले पोखरा सडक महोत्सव गर्ने र नेपाली नयाँ वर्षमा पश्चिमाञ्चल होटल संघले महोत्सव आयोजना गर्दै आएकोमा यो वर्ष कोभिडका कारण मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएन,’ उनले भने, ‘कोभिडका कारण औपचारिक रुपमा मेला, महोत्सव आयोजना नगरिए पनि आन्तरिक पर्यटक आगमन हुनेमा विश्वस्त छौं ।’

होलीका दिन कुनै स्पेशल कार्यक्रम आयोजना नगरिए पनि पोखरामा आन्तरिक पर्यटकको भिड लागेको भन्दै उनले नयाँ वर्षमा पनि पर्यटक आगमन हुने आश गरेको बताए ।

सरकारले लकडाउन हटाएपछि पोखरामा आन्तरिक पर्यटकको आगमन सन्तोषजनक भएको अध्यक्ष बरालले बताए । ‘लकडाउन हटाइएपछि पोखरामा आन्तरिक पर्यटकको आगमन राम्रो रह्यो,’ उनले भने, ‘अहिले पनि अवस्था बिग्रिएको छैन, आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक छ ।’

पछिल्लो समय नेपालीहरुमा बढेको घुमघाम गर्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप