शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघको निर्वाचन, तस्बिरमा हेर्नुहोस्

बुधबार, २५ चैत २०७७, १४ : २३
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भइरहेको छ । महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो ।  महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । 

मतदान सकिएलगत्तै मतगणना शुरु गरिने छ । केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेका अनुसार कुनै बाधा नभए चैत २६ गते सबै तहको मत परिणाम आउने छ । निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।  

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी हुन् ।  महासङ्घले आफ्नो सङ्गठनलाई संघीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैर भौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद् छन् ।

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति छन् । महासंघको केन्द्रीय समिति ४९ सदस्यीय छ भने प्रदेश समिति २१ सदस्यीय रहने प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ । नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप