बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारबाट सडकको स्विच : मोदीको सिको !

सडक र पुलमा प्रधानमन्त्रीको दाबी कति सत्य, कति मिथ्या ?
बुधबार, २५ चैत २०७७, १० : ५२
बुधबार, २५ चैत २०७७

काठमाडौं । पछिल्लो समय मुलुकमा भौतिक निर्माण, सडक, पुल पुलेसाको उद्घाटन तथा शिलान्यासको लहर चलेको छ । प्रधानमन्त्रीदेखि मन्त्री, राज्यमन्त्री, प्रदेशका मन्त्रीहरु र स्थानीय सरकार प्रमुखहरुलाई समेत शिलान्यास र उद्घाटनमा भ्याई–नभ्याई छ ।

गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत १६५ स्थानीय सडकको एकैपटक शिलान्यास गरे । प्रधानमन्त्री निवास बालुवाटारबाटै स्विच थिचेर १६५ निर्वाचन क्षेत्रमा १६५ वटै पक्की सडकहरू बन्ने जनाइएको छ ।

जबकि यी सडक योजनाका लागि सरकारले चालू आर्थिक वर्षकै बजेटमा कुल ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइसकेको थियो ।

फागुन यता झण्डै २०० सडक सञ्जाल तथा १०० हारहारीमा पक्की पुलको शिलान्यास भएका छन् ।

केही समयअघि मात्र सरकारले ३०० भन्दा बढी स्थानीय तहमा १५ शय्यासम्मका आधारभूत अस्पतालको शिलान्यास गरेको थियो ।

गत फागुनमै प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गमा बन्ने धरान–बाहुनडाँगी सडक खण्डका ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए । यस्तो उद्घाटन र शिलान्यासको कार्य अहिले पनि जारी छ ।

दैनिक ६.५ किलोमिटर सडक बनेको दाबी

प्रधानमन्त्री ओलीले दिनमा दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे (पिच) भएको दाबी गर्छन् । यता उनकै मन्त्रिमण्डलका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भने उक्त तथ्याङ्क पिच नभएर सडक विस्तारको भएको बताएका छन् ।

 


मन्त्री नेम्वाङले शनिबार आयोजित १६५ सडक शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै सडक निर्माण तथ्याङ्क सार्वजनिक गरे । उनले हाल मुलुकमा दैनिक साढे ६ किलोमिटर सडक सञ्जाल विस्तार भइरहेको दाबी गरे ।

‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरू ६ देखि ८ लेनसम्मको बन्न थालेका छन् । संघीय सडक विभाग मातहत ३,५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर सडक ग्राभेल भएका छन् भने, १,६८६ किमि नयाँ ट्रयाक खोलिएका छन्’ मन्त्री नेम्वाङले भने, ‘अहिले प्रतिदिन साढे ६ किलोमिटरका दरले सडक बनिरहेको छ ।’

मन्त्री नेम्वाङले थपे ‘विगतका वर्षहरुमा वर्षमा एक दर्जन पुल पनि बन्न सक्दैनथ्यो । यो सरकारले तीन वर्षमा पक्की सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भइरहेको छ । जसले पछिल्लो समय पूर्वाधार निर्माणको क्षेत्रमा मुलुकले फड्को मारेको छ ।’

तथ्याङ्क यसो भन्छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमास (साउन–फागुन) सम्ममा कुल ८३४ किलोमिटर सडक सञ्जाल विस्तार भएका छन् । जसमा कुल ८१ किलोमिटर नयाँ सडकका ट्याकहरु खोलिएका छन् भने । यो अवधिमा ३३५ किलोमिटर अन्य सडकहरु निर्माण भएका छन् ।

यी सबै सडकहरू स्थानीय, हुलाकी तथा राष्ट्रिय राजमार्गका सडकहरू भएको विभागको भनाइ छ । यसमा २१५ किलोमिटर सडक कालोपत्रे भएको विभागका उपमहानिर्देशक ई.शिवप्रसाद नेपालले रातोपाटीलाई जानकारी दिए ।

‘हामीले ग्राभेल सडकको तथ्याङ्क राखेका छैनौं । किनकि ग्राभेल हुनेबित्तिकै सडक पिच भइहाल्छन् । यसमा थप २०३ किमि सडक समेत थपिएका छन् । यी समेत पिचकै तथ्याङ्कमा समेटिदैछन्’ उनले भने ।

नेपालका अनुसार चालू आर्थिक वर्षमा मात्रै राष्ट्रिय राजमार्गसहित दुई लेनमाथिको २१ किलोमिटर सडक कालोपत्रे भएको छ, जुन पुराना सडकको मर्मत एवं कालोपत्रे हो ।’

सरकारले हाल दैनिक ६.५ किलोमिटर सडक सञ्जाल विस्तार भइरहेको दाबी गरिरहँदा सडक विभागको तथ्याङ्कले भने मुस्किलले ३.८ किलोमिटर मात्र सडक निर्माण भइरहेको देखाएको छ ।

विभागको पछिल्लो तथ्याङ्कअनुसार ८ महिनामा कुल ८३४ किलोमिटर सडक विस्तार भएको छ । त्यसलाई दिनमा परिवर्तन गरेर हेर्ने हो भने, २२० दिनले ८४३ लाई भाग लगाउँदा जम्मा ३.८ किलोमिटर मात्र आउँछ । जबकि प्रधानमन्त्री र मन्त्रीले दिनमा नै ६.५ किलोमिटर सडक विस्तार भएको दाबी गरिरहेका छन् ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले प्रस्तुत गरेको तथ्याङ्कलाई नै हेर्ने हो भने उनले तीन वर्षमा कुल ५,२३१ किलोमिटर सडक विस्तार भएको दाबी गरे । जबकि तीन वर्षलाई दिनमा रुपान्तर गर्ने हो भने ३६ महिनामा १,०८० दिन हुन्छ । सोही दिनले तीन वर्षभित्र बनेको कुल ५ हजार २३१ किलोमिटर सडकलाई भाग गर्ने हो भने कुल ४.८ किलोमिटर मात्रै प्रतिदिन हुन आउँछ ।

सरकार सस्तो लोकप्रियताकै लागि शिलान्यास र गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै विपक्षी दलका सांसदहरुले प्रश्न उठाएका छन् । सोमबार संसदमा बोल्ने कतिपय सांसदहरुले प्रधानमन्त्रीको ‘शिलान्यास मोह’ लाई नौटंकीको संख्या दिए ।

आफ्नो नेतृत्वको सरकारका पालामा जति अरु कुनै सरकारका पालामा पनि विकास निर्माणका कामहरु नभएको प्रधानमन्त्री ओलीले दाबी गर्दैै आएका छन् ।

 


तर, शिलान्यास गर्न र रिबन काट्न सजिलो छ । यो काम केही मिनेटमै सम्पन्न हुन्छ । तर, शिलान्यास गरिएका योजनाहरु चाँडै पूरा हुन्छन्, हुँदैनन्, त्यो चाहिँ मुख्य कुरा हो । जस्तै– मेलम्ची आयोजना ३० वर्षमा मात्रै पूरा भयो । देशभरि थालनी गरिएका कैयौं आयोजनाहरु समयमा पूरा नभएर लागत बढिरहेको अवस्थामा शिलान्यासलाई मात्रै विकासको फड्को मान्न सकिने स्थिति देखिँदैन ।

भारतीय प्रधानमन्त्री मोदीको सिको

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनमा यति किलोमिटर सडक बनिरहेको छ भनेर गरेको प्रचारलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल’ भनेका छन् ।

नाम उल्लेख गर्न नचाहने ती पूर्व प्रशासकले रातोपाटीसँग भने, ‘दिनमा यति किलोमिटर सडक बनिरहेको छ भने भारतमा मोदी सरकारले प्रचार गर्दै आएको छ, हाम्रो सरकारले पनि त्यसैको सिको गरेको देखिन्छ ।’

तर, दिनमा साढे ६ किलोमिटर सडक बनिरहेको भनेर प्रधानमन्त्रीले बोलेको प्रति प्रधानमन्त्री ओलीमाथि भन्दा पनि भौतिक पूर्वाधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकमाथि प्रश्न गरिनुपर्ने ती पूर्व प्रशासकले बताए ।

उनले भने, ‘दैनिक ६.५ किमि कालोपत्रे गरिएको भन्नाले नयाँ सडक बनेको हो कि पुरानै सडक मर्मत पनि यसैमा जोडिएको हो ?  यसमा उच्च पहाडी क्षेत्रको ८ मिटर चौडा सडक पनि हो कि ? मन्त्रालयले यसबारे स्पष्ट पार्नुपर्छ ।’

सरकारले गरेको दाबी र वार्षिक बजेटको अनुसूची १६ मा उल्लेख भएको बजेटका वीचमा म्याचिङ भयो कि भएन भनेर हेर्ने हो भने सरकारी दाबीको ‘फ्याक्ट चेक’ गर्न सजिलो हुने ती पूर्व सरकारी अधिकारी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप