शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन महासंघका पूर्वअध्यक्षहरुको आह्वान

बुधबार, २५ चैत २०७७, ०० : ३१
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने २६ औं महाधिवेशनको निर्वाचन कार्यक्रममा उत्साहपूर्व सहभागी हुन महासंघका पूर्व अध्यक्ष (पूर्व सभापति)हरुले आह्वान गरेका छन् । मंगलबार महासंघका पूर्व अध्यक्ष एवम् पूर्वसभापतिहरू हरिहर विरही, किशोर नेपाल, डा.सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले संयुक्त विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । उनीहरुले यो पटकको निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउँदै महासंघका सम्पूर्ण सदस्यहरुलाई निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन् । 

पूर्व अध्यक्षहरुले महासंघको सबै तहको निर्वाचनमा स्वस्थ र मर्यादित रुपमा प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुलाई शुभकामना दिँदै अविच्छिन्न ऐतिहासिक गरिमाको रक्षा गर्न र प्रेस स्वतन्त्रतालाई व्यवहारमा नै सफल र सार्थक बनाउनु यतिबेलाको प्रमुख दायित्व रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छः ‘वास्तवमा प्रेस स्वतन्त्रताको संरक्षण, यसको व्यवसायिक सुदृढिकरण र आम पत्रकारहरुको पेशागत र भौतिक सुरक्षा तथा पत्रकारिताका अनेक निर्भीक माध्याममार्फत लोकतान्त्रिक प्रणालीको जीवन्तताका लागि सक्रिय योगदान केबल पत्रकारहरुको चासो मात्र नभई आम नागरिकहरुको सरोकार रहनुपर्ने विषय हुन् । महासंघलाई सरकारको प्रतिछायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि वैचारिक दिशावोध गर्न सक्ने बनाइराख्न आवश्यक छ ।’

प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी घेरामा रहेको बताउँदै उनीहरुले यसको रक्षाका लागि महासंघको सबै तहमा जुझारु र निष्ठावान नेतृत्वको आवश्यक रहेको बताएका छन् । बुधबार एकैपटक महासंघको केन्द्रीय, प्रदेश, जिल्ला एवम् प्रतिष्ठान तहको नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप