मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल

मङ्गलबार, २४ चैत २०७७, १९ : ५५
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गरेका छन् । काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखापरेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।

स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबर्जस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिँदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताएका हुन् । उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन “सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको” भन्दै व्यंग्य गरे । 

उनले भने– “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबैभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपालप्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रशस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु चुलिएका छन् । तर निराश हुनुहुँदैन । त्यसको विरुद्धमा उभिनुपर्दछ ।”

उनले राजनीतिक दलका अगुवाहरुमा विकसित हुँदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफुलाई लज्जाबोध हुने गरेको बताए । उनले राजनीतिक वृत्तमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे । उनले भने, “राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाइन, पाउनुपर्ने । नेतृत्व पंक्तिमा रहेका मान्छेहरूको यही कोलाहाल देखिन्छ । यसले एक खाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ ।”
उनले स्वर्गीय रिमाललाई आफुले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रवर्तकको रुपमा  चिनेको बताए । आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दै उनले रिमालको सामाजिक, शैक्षिक, साहित्यिक जागरणमा पुर्याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा स्वर्गीय रिमालकी पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो । वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्दप्रसाद दुलालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप