बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कहाँ अड्कियो नयाँ सरकारको गाँठो ?

अरुलाई देखाएर पन्छिए कांग्रेस, माओवादी र जसपा
मङ्गलबार, २४ चैत २०७७, १७ : ३५
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएको लामो समयसम्म नयाँ सरकार गठन प्रक्रियामा राजनीतिक दलहरु अलमलिएका छन् । विपक्षी दलहरु अलमलमा पर्दा  बहुमत गुमाउने स्थितिमा पनि ओली सरकारको आयु लम्बिएको छ ।

नयाँ सरकार गठन प्रक्रियाले गति नलिनुमा माओवादीले काँग्रेस र जसपालाई देखाइरहेको छ । जसपाले काँग्रेस र माओवादीलाई देखाइरहेको छ । काँग्रेसले भने माओवादी र जसपालाई देखाएर समय गुजारिरहेको छ ।

विकल्पमा रहेका र मैदानमा पुगेका दलहरूको यस्तो निम्छरो प्रस्तुती र अलमलले नयाँ सरकार गठनमा अन्योल उत्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा उक्त कदम प्रतिगामी भन्दै संघर्ष गरेका तीन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीचमै तालमेल नमिल्दा ओली थप शक्तिशाली भइरहेका छन् । यतिसम्म कि प्रधानमन्त्री ओली र उनी समर्थक नेताहरुले नै सरकारलाई दिएको समर्थन फिर्ता लेऊ भनेर पटक–पटक भन्दा पनि माओवादीले समर्थन फिर्ता गर्न सकेको छैन ।

ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठन गर्न दलहरुबीच छलफल, सम्वाद र गृहकार्यहरु नभएका भने होइनन् । तर, भएका छलफल र सम्वादमा उनीहरुबीच ठोस सहमति जुट्न सकस पर्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको हो ।

नेकपा विभाजनसँगै अल्पमतमा परेको ओली नेतृत्वको सरकारको विकल्पमा गठन गर्ने नयाँ सरकारबारे प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी (जसपा) बीच गठबन्धन बनाएर अघि बढ्ने भनिए पनि एकले अर्कोलाई देखाउँदै नेताहरु पन्छिरहेका छन् ।

 


आफू सरकारको नेतृत्व नगर्ने बताएको माओवादी केन्द्रले काँग्रेसलाई सरकारको नेतृत्व लिन बारम्बार आग्रह गरिरहेको छ । त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर विभिन्न चरणमा छलफल गरे पनि परिणाम आउन सकेको छैन ।

देउवा र पौडेलमात्रै होइन, प्रचण्डले समेत जसपा नेता डा. बाबुराम भट्टराईसँग समेत नयाँ सरकार गठनबारे दुई चरणमा छलफल गरेका छन् । भट्टराई ओली सरकार विस्थापन गर्नुपर्ने पक्षमा छन् । तर, जसपाभित्रै यसबारे दुईलाइन संघर्ष चलिरहेको छ ।

पछिल्लोपटक नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरे पनि ठोस पहलकदमी अघि बढाइनसकेकाले अन्योल उत्पन्न भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

‘काँग्रेसको पहलकदमी र जसपाको निर्णय आवश्यक’

काँग्रेस र जसपा दुवै पार्टी तयार भएपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने पक्षमा माओवादी केन्द्र उभिएको छ ।

‘नेपाली काँग्रेस र जनता समाजवादी (जसपा) दुवै पार्टी तयार भएपछि मात्रै अविश्वासको प्रस्ताव सफल हुन सक्छ’, प्रवक्ता श्रेष्ठ दुवै पार्टी तयार नभएसम्म समर्थन फिर्ता र अन्य प्रक्रिया अघि बढाउनुको अर्थ नहुने बताउँछन् ।

नेता श्रेष्ठले नेपाली काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरे पनि त्यसका लागि ठोस पहलकदमी अघि बढाएको नदेखिएको बताए ।

‘नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले भर्खरै सरकार गठनको पहल गर्ने औपचारिक निर्णय त गरेको छ । तर, काँग्रेसले आफ्नो नेतृत्वमा जुन प्रकारको सरकार बनाउन पहलकदमी चाहिन्छ, त्यस्तो पहल गरेको जस्तो अनुभुति पाइँदैन,’ माओवादी प्रवक्ता श्रेष्ठ भन्छन्, ‘उहाँहरुले नै त्यो प्रक्रिया अगाडि बढाउनुपर्यो ।’

 


माओवादी केन्द्रको नजरमा काँग्रेसले नयाँ सरकार गठनका लागि पहलकदमी नलिनु र जसपाले आवश्यक निर्णय गर्न नसकेकै कारण यस्तो राजनीतिक अन्योल उत्पन्न भएको हो ।

‘नयाँ सरकार गठनका बारेमा धेरथोर अन्योल देखिन्छ’, प्रवक्ता श्रेष्ठ भन्छन्, ‘जसपाले आवश्यक निर्णय गर्नुप¥यो । काँग्रेसले पहलकदमी अगाडि बढाउनुपर्यो भनेर हामी उहाँहरुसँग औपचारिक–अनौपचारिक वार्ताको प्रक्रियामा छाैं ।’  

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतको फैसलाले फागुन ११ गते उल्ट्याएपछि प्रतिनिधिसभाको यहीँ चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी दलहरूको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरु भए पनि डेढ महिना बित्न लाग्दासमेत समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ ।

काँग्रेसको निर्णयप्रति जसपा असन्तुष्ट !

नेपाली काँग्रेसको गत शनिबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय ग¥यो । काँग्रेसले नयाँ सरकार गठन गर्ने यस्तो निर्णय गरेको भोलिपल्ट नै काँग्रेसका नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता पनि भयो । उक्त भेटवार्तापछि  नेता पौडेलले छलफल सकारात्मक भएको तर, नयाँ सरकार कसको नेतृत्वमा गठन गर्ने भन्नेमा सभापति देउवाले ठाकुरसँग थप छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । तर, त्यसयता सभापति देउवा र अध्यक्ष ठाकुरबीच कुनै औपचारिक भेटवार्ता भएको छैन ।

उता, जसपाकै नेता राजेन्द्र महतोले नयाँ सरकार गठन गर्ने विषयमा काँग्रेसले आफूहरुसँग छलफल नै नगरी सरकारको नेतृत्व गर्ने एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘काँग्रेसले एकलौटी निर्णय गरेको छ, हामीसँग सरकार गठनबारे कुनै छलफल गरेको छैन । हामीसँग सल्लाह गरे न राय सुझाव दिने हो ! सल्लाह नै नगरे के सुझाव दिनु ?’ महतोको असन्तुष्टि छ । उनले आफ्नो पार्टीसँग यसरी छलफल भएको अवस्थामा पार्टीले स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने पनि बताए ।

‘जब सामूहिकरुपमा हाम्रो पार्टीसँग छलफल हुन्छ, त्यतिबेला पार्टीले एउटा दृष्टिकोण बनाउँछ । तर, त्यो अवस्था अहिले आएको छैन । त्यो अवस्था आउँदा हाम्रा माग र मुद्दालाई प्राथमिकतामा राखेर कोहीसँग हामीले कुरा गर्ने हो’, महतोको भनाइ छ ।

काँग्रेसको निर्णयले मात्रै नयाँ सरकार बन्न नसक्ने महतो बताउँछन् । उनले रातोपाटीसँग भने, ‘काँग्रेसको आन्तरिक निर्णयले मात्रै नयाँ सरकार बन्छ भने बनाओस्, कसले रोकेको छ ? त्यसमा हामीले केही टिप्पणी गर्न मिल्दैन ।’

जसपाको आफ्नै दाबी

माओवादी केन्द्रले काँग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको र काँग्रेसले त्यसका लागि निर्णय नै गरे पनि जनता समाजवादी पार्टीमा समेत आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने आवाज उठिरहेको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए जसपालाई आफ्नो पक्षमा ल्याएर ओलीले आफ्नै सरकार जोगाउने प्रयास समेत गरेका छन् । यसमा जसपाभित्र दुई मत छ । उपेन्द्र यादव र बाबुराम भट्राई ओलीलाई साथ दिन नहुने पक्षमा छन् भने राजेन्द्र महन्थ ओलीप्रति नरम छन् ।

काँग्रेस भन्छ – परिणाम आउने देखिँदैन

नेपाली काँग्रेसले बैठकबाटै सरकार बनाउन पहल गर्ने बताएपनि उसैलाई आफ्नो नेतृत्वमा सरकार बन्छ भन्नेमा विश्वास छैन ।

काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत पहल गरे पनि परिणाम आउनेजस्तो नदेखिएको बताउँछन् । ‘हामीले सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । त्यो पहल भइरहेको छ, हाम्रा नेताहरुले अन्य पार्टीका नेताहरु भेटिरहनुभएको छ’, डा. महतको भनाइ छ ।

तर, डा. महत सरकार बनाउन जसको समर्थन आवश्यक पर्ने हो, त्यसमा सहमति नजुटेको बताउँछन् । उनले सभापति शेरबहादुर देउवाले जति पहलकदमी गर्नुपर्ने हो, त्यो नगरेको भनेर आएका प्रतिकृयामा सत्यता नभएको दाबीसमेत गरे ।

‘सभापतिजीले पहल कदमी नगरेको भन्ने कुरामा कुनै सत्यता छैन । पहलकदमी भैरहेको छ । किनभने, हामीसँग एक्लै सरकार बनाउने संख्या छैन । अरुको सहयोग माग्नुपर्छ । तर, जसपा अहिलेसम्म तयार नै भैसकेको छैन । उहाँहरुका मागमा हामीले भन्दा ओलीजीले नै पूरा गर्नुहुन्छ भन्ने लागेको हुनसक्छ’, महतले जसपा ओलीसँगै नजिकिन खोजेको हुनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप