शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका एमाले कार्यकर्ताको सुझाव : पार्टीको विवाद सहमतिमा टुङ्ग्याउनुस्

सोमबार, २३ चैत २०७७, १९ : ३३
सोमबार, २३ चैत २०७७


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी गरेको आरोपमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई कारवाही गरेपछि एमालेमा आन्तरिक विवाद चर्किएको छ । तर, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरूले भने विवादलाई आपसी सहमतिमा टुंग्याउन नेतृत्वलाई दबाव दिन थालेका छन् ।  

साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सुरु भएको आन्तरिक विवाद पछिल्लो समय एमालेमा स्थानान्तरण भएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले अहिले ओली पक्ष र नेपाल पक्षमा विभाजित भएको छ । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले एमालेभित्रै ‘ओली प्रवृत्ति’ विरुद्ध खुला संघर्ष गर्न थालेका छन् ।

एमाले दुई समूहमा विभाजित भएसँगै नेता तथा कार्यकर्ताले भने पार्टीपंक्ति सच्चिएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याएका छन् । यसरी नेतृत्वलाई दबाव दिने कार्यमा गण्डकीका एमाले कार्यकर्ताहरु निकै अगाडि देखिएका छन् । गण्डकी प्रदेशमा ओली पक्षको राम्रो प्रभाव छ । गण्डकीको बाग्लुङबाहेक अन्य जिल्लामा ओलीको प्रभाव छ ।

पछिल्लो समय पार्टीका दुई समुहबीचको विवाद उत्कर्षमा पुगेपछि गण्डकीका अगुवा कार्यकर्ताहरु पार्टीका शीर्षनेताहरुले नै पार्टी एकतालाई कायम राख्न पहल गर्नुपर्नेमा जोड दिन्छन् । उनीहरु पार्टीका दुवै खेमाको हठका कारण समस्या उत्पन्न भएको बताउँदै दुवै पक्षलाई व्यक्तिगत स्वार्थ र अहम त्याग्न आग्रह गरिरहेका छन् ।

अनेरास्ववियु कास्कीका पूर्वअध्यक्षसमेत रहेका नेकपा एमालेका नेता झपट रानाभाटले पार्टीमा पछिल्लो समय देखिएको विवादलाई पार्टी नेतृत्वले बेलैमा समाधान गर्नुपर्ने बताए । उनले पार्टीभन्दा पनि माथि उठेर राष्ट्र र जनताको हितमा नेतृत्वले काम गर्नुपर्ने बताए ।

‘सबैभन्दा पहिले पार्टीले राष्ट्र र जनतालाई सर्वोपरी ठानेर काम गर्नुपर्छ,’ उनले भने, ‘यदि राष्ट्रमाथि संकट उत्पन्न हुने गरी आन्तरिक स्वार्थमा नेतृत्व अलमलिनु हुँदैन, राष्ट्र कमजोर भए राजनैतिक पार्टीको अस्तित्व संकटमा पर्छ ।’

‘नेतृत्वका बीचमा आन्तरिक समस्या भए सौहार्दपूर्ण रुपमा बैठक बसेर चित्त नबुझेका मुद्दाहरुमा छलफल गरी समस्या सुल्झाउनेतर्फ लाग्नुपर्छ,’ उनले भने, ‘व्यक्ति–व्यक्तिका बीच एकले अर्कालाई कारवाही गर्ने र समानान्तर कमिटी बनाउनेजस्ता कार्यले पार्टीमा झन् विवाद बढ्छ । यसलाई नेतृत्वले बेलैमा रोकेर संवादबाटै हल गर्नुपर्छ ।’

रानाभाटले नेतृत्वले देश, जनता र कार्यकर्ताको सुदूर भविष्यका लागि विचार गरेर आन्तरिक छलफलबाटै सहमति कायम गर्नुपर्ने बताए । पार्टीमा देखिएको विवाद कुनै सैद्धान्तिक र वैचारिक नभई व्यक्तिगत स्वार्थका कारण उत्पन्न भएको दावी गर्दै उनले भने, ‘व्यक्तिगत इगो र जुँगाको लडाइँले पार्टीमा विवाद बढ्यो । व्यक्तिगत इगोले कुनै पक्षलाई पनि फाइदा गर्दैन ।’

उनले पार्टी नेतृत्वलाई नेता र कार्यकर्ताहरुको भावनाअनुसार आपसी समझदारी कायम गरेर अगाडि बढ्न आग्रह गरे । देशको विकास र समृद्धका लागि दिलोज्यानले लाग्नुपर्ने बेलामा नेताहरु आन्तरिक स्वार्थका लागि पार्टीको अस्तित्व नै धरापमा पर्ने गरी विवाद गर्नु उचित नभएको उनको भनाइ छ ।

‘नेतृत्वका बीचमा आन्तरिक समस्या भए सौहार्दपूर्ण रुपमा बैठक बसेर चित्त नबुझेका मुद्दाहरुमा छलफल गरी समस्या सुल्झाउनेतर्फ लाग्नुपर्छ,’ उनले भने, ‘व्यक्ति–व्यक्तिका बीच एकले अर्कालाई कारवाही गर्ने र समानान्तर कमिटी बनाउनेजस्ता कार्यले पार्टीमा झन् विवाद बढ्छ । यसलाई नेतृत्वले बेलैमा रोकेर सम्वादबाटै हल गर्नुपर्छ ।’

पार्टीको महाधिवेशनबाट पाँच वर्षका लागि केपी ओली निर्वाचित भएकाले आगामी महाधिवेशनसम्म धैर्य गर्न उनले नेपाल–खनाल पक्षलाई आग्रहसमेत गरेका छन् । ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई तोकिएको समयभित्र उहाँहरुले हटाउन मिल्दैन,’ उनले भने, ‘आगामी महाधिवेशनमा जितेर तपाईहरु नेतृत्वमा आउन सक्नु हुन्छ, महाधिवेशनको म्यान्डेट विपरीत बीचमै अध्यक्ष ओलीलाई हटाउन मिल्दैन ।’ नेताहरुले आपसी सहमति गरेर पार्टीमा सबैको उचित सम्मान हुनेगरी अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।

साविक नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर नेपालसहितका नेताहरुले अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि विवाद चर्किएको उनको भनाइ छ । उनले त्यसकै इगोका कारण ओलीले नेपाल लगायतका नेतालाई ६ महिनाका लागि कारवाही गरेको बताए ।

पोखरा महानगरपालिका–५ का वडाध्यक्ष एवं एमाले कार्यकर्ता धनबहादुर नेपालीले पछिल्लो समयमा पार्टी नेतृत्वबीच चर्किएको विवादलाई तत्कालै सम्वादका माध्यमबाट हल गर्नुपर्ने बताए । उनले पार्टीमा भएका तिक्ततालाई वैचारिक बहसका माध्यमबाट समाधान गर्दै आन्तरिक कलहलाई रोक्न नेतृत्व तह लाग्नुपर्ने बताए ।

‘पार्टी नेतृत्वका बीचमा केही असमझदारी हुनसक्छन्, असमझदारी हुँदैमा नेतृत्व फुटतर्फ उन्मुख हुनु हुँदैन,’ उनले भने, ‘नेतृत्वले विवादको विषयवस्तुमा केन्द्रित भएर असमझदारीलाई निमिट्यान्न पार्ने गरी घनिभूत रुपमा वैचारिक बहसबाटै समस्या हल गर्न सकिन्छ ।’

पोखरा महानगरपालिकाको प्रवक्तासमेत रहेका नेपालीले जनताले कम्युनिष्ट पार्टीप्रति गरेको विश्वासलाई अक्षुण्ण राख्दै पार्टी एकतालाई सुदृढ बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । पार्टी अध्यक्ष ओली र खनाल–नेपाल समूहको नेतृत्व एक ठाउँमा बसेर विवादको मुख्य विन्दुबाटै छलफलमा जुटेको अवस्थामा पार्टीको विवाद समाधान हुने उनको विश्वास छ ।

उनले एउटै विचार र सिद्धान्त भएको पार्टीको नेतृत्वबीच आपसी विवाद बढ्नु अत्यन्त दुःखद् भएको बताए । पार्टीमा बढेको विवादलाई यो वा त्यो पक्षका कारण भएको नभनी अन्तरसंघर्ष गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

पार्टीको समानान्तर कमिटी बनाउँदै हिँड्दा आन्तरिक एकतामा समस्या हुने भन्दै उनले एकले अर्कोलाई आफू ठुलो भएको देखाउने यस्तो प्रवृत्ति गलत भएको बताए । ‘समानान्तर कमिटी बनाएर एउटा पार्टीमा छुट्टाछुट्टै गतिविधि अगाडि बढाउँदा नेता कार्यकर्तामा वैमनस्यता उत्पन्न हुन्छ’, उनले भने, ‘त्यसैले नेतृत्वले वार्ता र सम्वादमार्फत पार्टीमा अन्तरसंघर्षमार्फत बहस चलाएर असमझदारीलाई हटाउनेतर्फ लाग्नुपर्छ ।’

अहिलेको अवस्थामा अध्यक्ष ओलीले खनाल–नेपाल समूहमाथि गरिएको कारवाही तत्काललाई रोकेर उनीहरुलाई सुध्रन मौका दिनुपर्ने उनले बताए । ‘हाम्रो पार्टीमा एउटा युगिन नेतृत्वमा केपी ओली हुनुहुन्छ, उहाँले अहिले पार्टीमा कसले कति गल्ती ग¥यो भन्नुभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गर्दै उनीहरुलाई एकपटक सुध्रने मौका दिनुपर्छ,’ उनले भने, ‘नेतृत्वले वैचारिक संघर्षलाई अगाडि बढाउँदै सुध्रिनका लागि दिएको अवसरलाई माधव समूहले पनि मनन् गरेर पार्टीलाई एकढिक्का बनाउने गरी अगाडि बढ्नुपर्छ ।’

पोखरा महानगरपालिका–१६ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष जीवन आचार्यले पार्टीमा देखिएको अन्तरविरोधलाई वर्तमान नेतृत्वले वार्ता र छलफलका माध्यमले समाधान गर्नुपर्ने बताए । ‘पार्टीमा देखिएको अन्तरविरोधलाई अध्यक्ष ओलीले ठूलो छाती बनाएर वार्ता, छलफलका माध्यमबाटै समस्या सुल्झाउने गरी पहल गर्नुपर्छ,’ उनले भने, ‘नेता कार्यकर्ताले धेरै दुःख, कष्ट गरेर बनाएको पार्टीको अस्तित्व जोगाउन नेतृत्वले समयमै सुझबुझका साथ ठुलो छाती बनाएर पहल थाल्नुपर्छ ।’

नेता–कार्यकर्ताले सामाजिक सञ्जालमार्फत एकअर्काको नेतृत्वलाई मानमर्दन गर्दै टिप्पणी गर्नु गलत भएको आचार्य बताउँछन् । मुलुकको विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने बेलामा पार्टीका शीर्ष नेताहरुबीच विवाद बढ्नु दुःखद् भएको उल्लेख गर्दै उनले भने, ‘देशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बहस केन्द्रित गर्ने बेला पार्टीमा अनावश्यक विवाद बढ्यो, विकास, सुशासन र समृद्धितर्पm लाग्ने बेला पार्टीमा विवाद बढ्नु हुँदैन, यसलाई तत्कालै समाधान गर्नुपर्छ ।’

वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहले पछिल्लो समय बनाएको समानान्तर कमिटीले पार्टीमा थप विवाद बढाउने टिप्पणी गर्दै उनले दुवै नेतालाई विवाद घटाउनेतर्फ अगाडि बढ्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप