मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

३ वर्षको करियरमा अत्यधिक चर्चा कमाएर बिदा भएकी थिइन् दिव्या भारती, २८ वर्ष अघि संदिग्ध स्थितिमा भएको थियो मृत्यु

सोमबार, २३ चैत २०७७, १३ : १४
सोमबार, २३ चैत २०७७

दिव्या भारती । एक यस्ती नायिका जसले निकै कम उमेरमा बलिउडमा आफ्नो पहिचान बनाइन् । एकपछि अर्को हिट दिएर उनले स्थापित नायिकालाई चुनौती दिइन् । तीन वर्षमा २० वटा फिल्ममा अभिनय गरेर चर्चा पाइन् । विवाह गरिन् र १९ वर्षको उमेरमा संसारबाट बिदा भइन् ।

सन् १९९० को दशकमा बलिउडमा आफ्नो अभिनय र आकर्षक अनुहारको दममा दिव्याले दर्शकलाई आफ्नो ‘दिवाना’ बनाएकी थिइन् । उमेर कम थियो, त्यसैले उनलाई बलिउडकी गुडिया पनि भनियो । २५ फेब्रुअरी सन् १९७४ मा जन्मिएकी दिव्या भारतीको मृत्यु ५ अप्रिल सन् १९९३ मा संदिग्ध स्थितिमा भएको थियो । दिव्याको मृत्यु भएको आज २८ वर्ष पूरा भइसकेको छ । मुम्बई प्रहरीले सन् १९९८ मा नै मृत्युसँग जोडिएको केस बन्द गरिसकेको छ । प्रहरीले यसलाई एक दुर्घटना बताउँदै केस बन्द गरिदिएको थियो ।

दिव्या कुनै फिल्मी परिवारबाट थिइनन् । पिता ओमप्रकाश भारती बीमा कम्पनीका अधिकारी थिए र आमा मीता भारती एक गृहिणी थिइन् । दिव्याले ९ कक्षासम्म मात्रै पढेकी छिन् । १४ वर्षको उमेरमा पढाई छोडेर मोडलिङ सुरु गरेकी थिइन् ।

गोबिन्दाका भाइ कीर्ति कुमारले दिव्यालाई आफ्नो फिल्म ‘राधा का संगम’ का लागि साइन गरेको थियो । तर कुनै कारणवश दिव्यालाई फिल्मबाट निकालियो र उनको स्थानमा जुही चावलालाई अनुबन्ध गरियो । दिव्याले तेलुगु फिल्म ‘बोब्बिली राजा’ बाट फिल्मी करियरको सुरुवात गरिन् । फिल्म सुपरहिट रह्यो र यसले दिव्यालाई साउथ फिल्म इन्डष्ट्रिमा सुपरस्टार बनाइदिए । त्यतिबेला राजीव रायले ‘विश्वात्मा’ मा दिव्यालाई सनी देओलको अपोजिटमा कास्ट गरियो । यो फिल्मको ‘सात समंदर पारमे तेरी पिछे पिछे आ गई...’ गीत आज पनि लोकप्रिय छ ।

सन् १९९२ मा दिव्याको फिल्मले उनलाई चर्चाको शिखरमा पुर्याइदियो । शाहरुख खानले दिव्यासँग नै सन् १९९२ मा दीवाना फिल्मबाट डेब्यू गरे । त्यतिबेला दिव्या १८ वर्षकी मात्रै थिइन् । फिल्म अत्यधिक चर्चित भयो । पछि फिल्म निर्माता साजिद नाडियाडवालासँग विवाह गरेर दिव्याले सबैलाई चकित पारिदिएका थिए ।

साजिदसँग विवाह गरेपछि दिव्या धेरैजसो तनावमा रहन्थिन् पनि भनिन्छ । यसै तनावका कारण उनले रक्सी पिउन सुरु गरेको पनि धेरैले बताउने गर्छन् । जुन रात उनको मृत्यु भयो त्यो रात पनि उनी रक्सीको नशामा थिइन् ।

रिपोर्टका अनुसार ५ अप्रिल सन् १९९३ मा दिव्या चेन्नईबाट मुम्बईको वर्सोवा स्थित घर फर्किएकी थिइन् । उनी हैदराबाद जानुथियो तर खुट्टामा चोट लागेका कारण सुटिङ रोकिएको थियो । फेसन डिजाइनर नीता लुल्ला आफ्ना श्रीमान् डा. श्याम लुल्लासँग दिव्याको घर पुगेकी थिइन् । तीनैजना मिलेर रक्सी पिइरहेका थिए । घरमा दिव्याको मेड अमृता पनि थिइन् । दिव्या लिभिङ रुमको झ्यालको बाहिरतर्फ खुट्टा निकालेर बसेकी थिइन् । यसमा ग्रील राखिएको थिएन । यो पार्किङतर्फ खोलिन्थ्यो । उठ्ने कोसिस गर्दा हात चिप्लियो र उनी ५ औं तलबाट तल खसिन् । नीता, श्याम र अमृताले उनलाई कूपर अस्पताल पुर्याए तर दिव्यालाई बचाउन सकिएन । कतिले यसलाई आत्महत्या बताए र कतिले षड्यन्त्र । तर केही पनि प्रमाणित हुन सकेन । दिव्याको मृत्युपछि तीन फिल्म रङ्ग, शतरंज र थोलि मुद्धु रिलिज भयो जसमा रंग सुपरहिट भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप