बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महन्थ र बाबुरामको विवाद छैन, जसपाले प्रधानमन्त्रीको विकल्प दिन सक्छ : राजकिशोर यादव

'घटनाक्रम अगाडि बढ्यो भने हामी संसदीय दलको नेता छान्छौँ'
सोमबार, २३ चैत २०७७, २२ : ५५
सोमबार, २३ चैत २०७७

 

 

 सरकार निर्माणको ‘किङमेकर’ भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा आफ्नो पार्टीभित्र विवाद नरहेको बताएका छन् ।​ जसपाबाट प्रधानमन्त्रीका लागि अध्यक्ष महन्थ ठाकुर र सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई दुईजनाको नाम चर्चामा आए पनि पार्टीले सहमतिका आधारमा एकैजनाको नाम दिन सक्ने यादवले दाबी गरे । यादवले रातोपाटीसँग भने, ‘जसपाले एउटा नाममा सहमति गर्छ । विवाद हुँदैन, हामीले पायौँ भने सहमतिमै व्यक्ति अगाडि सार्छौं।’

जसपा नेता यादवसँग पछिल्लो सत्ता समीकरणमाथि केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–

के जनता समाजवादी पार्टी ( जसपा) ले प्रधानमन्त्रीमा दाबी गरेको हो ?

दाबी भन्दा पनि पहिलो कुरा त विभिन्न विकल्पहरुमध्ये यो पनि एउटा विकल्प हुन सक्छ । सरकारको जहाँसम्म सवाल छ, अहिलेको वर्तमान सरकार बहुमतको सरकार हो । राजनीतिक रुपले प्रचण्डको नेतृत्वमा रहेको माओवादीले विरोध गरे पनि कानुनी र संवैधानिक रुपले सरकारसँगै छ । र, यो सरकार बहुमतको सरकार हो ।

अर्को कुरा, नेपाली काँग्रेसले निर्णय गरेर प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने भनेको छ । फेरि नेपाली काँग्रेसले हामीसँग त्यो अनुरुपको कुनै संवाद गरेको छैन । उहाँहरुले आफै निर्णय गर्नुभयो तर त्यो निर्णय अनुसार अगाडि बढेको देखिँदैन ।

त्यसैले जसपाले प्रथमतः हामीसँग जुन दायित्वहरु छन्, आन्दोलनले उठान गरेका मुद्दाहरु छन्, यसमा एउटा साझा दृष्टिकोण बन्यो भने हामी सोच्न सक्छौँ । संविधानलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्‍यो । आन्दोलनका जुन घटनाहरु भएका छन्, त्यसलाई कसरी निवारण गर्न सकिन्छ, त्यसका बारेमा एउटा साझा दृष्टिकोण बन्नुपर्‍यो ।

 


 

यो संसदीय राजनीतिमा त गणितले काम गर्छ । त्यसैले विभिन्न विकल्पहरुमध्ये अहिले जसपाको नेतृत्व पनि एउटा विकल्प हुन सक्छ । यही आधारमा हामीले यो विकल्प दिएको हो । यसको मतलब हामी यो भएन भने राजनीतिक प्रक्रियामै गतिरोध पुर्‍याउने हाम्रो सोचाइ होइन । विभिन्न विकल्पहरुमध्ये अब गठबन्धनको सरकार बन्ने हो भने यो गठबन्धनको नेतृत्व जसपालाई दिँदा मलाई लाग्छ एउटा सहकार्यको वातावरण बन्छ र एकले अर्काको अस्तित्व स्वीकारेको पनि सन्देश जान्छ ।

तपाईंले ‘गठबन्धनको सरकार’ भन्नुभयो, गठबन्धन त दुईवटा बन्न सक्छन् । एमाले–जसपा गठबन्धन भन्न खोज्नुभएको हो कि काँग्रेस–माओवादी–जसपा गठबन्धन ? कुन गठबन्धनको सम्भावना बढी छ ?

पहिले माओवादी केन्द्रले आफ्नो स्थिति क्लियर गरिसकेपछि मात्रै एमालेले गठबन्धनका लागि प्रयास गर्ने हो या सहयोग माग्ने हो । माओवादीले सरकारलाई समर्थन गरिरहेको हुनाले अहिलेसम्म उसले (एमालेले) हामीसँग सहयोग मागेको छैन ।

प्रधानमन्त्री ओलीले महन्थ ठाकुरहरुसँग छलफल त गरिराख्नुभएको छ नि हैन र ?

त्यो छलफल सरकारका लागि भएको होइन । हाम्रा मागहरुका बारेमा नेपाल सरकारसँग छलफल भएको हो । राज्यले गर्नुपर्ने जुन कामहरु छन् ती काम त अब सरकार जसको छ, उसँग संवाद त गर्नै पर्‍यो । त्यसैले तिनै मुद्दाहरुमा अहिले कुराकानी अगाडि बढेको हो ।

त्यसो भए यहाँले ‘गठबन्धनको सरकार’ भनेर काँग्रेस–माओवादी–जसपा गठबन्धनकै कुरो गर्नुभएको हो ?

हैन, गठबन्धन त दुईवटै गठबन्धन हुन सक्छन् ।

केपी ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको चर्चा छ नि ? खासमा, भित्री कुरो के हो ?

अहिलेसम्म औपचारिक हिसाबले जानकारी आएको छैन । मिडियाले आफ्नो खपतका लागि मात्रै चर्चा गरेको हो ।

तपाईंहरु जसपाले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै हुनुहुन्छ तर प्रधानमन्त्रीका लागि महन्थ ठाकुर र डा.  बाबुराम भट्टराई दुईजनाको नाम चर्चा आउनुको कारण के हो ? प्रधानमन्त्रीको नाममा पार्टीभित्रै  किन सहमति बन्न नसकेको ?

हैन, जसपाले एउटा नाममा सहमति गर्छ । हैन, यो त बाहिर चर्चामा आएको मात्र हो ।

प्रधानमन्त्रीमा हाम्रो पनि दाबी छ है भनिराख्दाखेरि दाबेदार को हो भन्ने त स्पष्ट हुनुपर्ला नि ?

हामीले फलानालाई नै बनाऔँ भनेर हुने गणित हामीसँग छैन । गणित भइदिएको भए हामी फलानालाई बनाऔँ भन्ने थियौँ । यो त के हो भने अरु विकल्पहरु नहुँदा मात्रै हाम्रोमा आउने हो । यसका लागि त गठबन्धनका सदस्यहरुले ल फलानालाई तपाईंहरुले अगाडि सार्नुभयो भने हाम्रा लागि प्रधानमन्त्री स्वीकार्य हुन्छ भनेको अवस्थामा हामी सहमतिको नाम अघि सार्छौं। जसपामा विवाद हुँदैन, हामीले पायौँ भने सहमतिमै व्यक्ति अगाडि सार्छौं ।

तपाईंंहरुले अहिलेसम्म संसदीय दलको नेता पनि छान्न सक्नुभएको छैन नि ?

अब घटनाक्रम अगाडि बढ्यो भने हामी संसदीय दलको नेता छान्छौँ ।

जसपाभित्र आन्तरिक विवाद छ भन्ने खुबै चर्चा छ नि ? विवादको कारण के हो ?

यो त मिडियाहरूले आफ्नो खपतका लागि क्रिएट गरेका हुन् । जसपाभित्र जबर्जस्ती विवाद बनाइदिएका हुन् ।

मिडियालाई दोष लगाउनुहुन्छ तर महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरिरहनुभएको छ, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव चाहिँ त्यस्ता भेटवार्तामा सहभागी नभएको त देखिएकै छ नि । प्रष्ट दुई लाइन त देखिएकै छ....

यस्तो छ, पार्टी भनेको निर्णयले चल्ने हो । जसपाको जुन औपचारिक निर्णय छ, त्योभन्दा दायाँ–बायाँ कुनै नेताले गर्नुहुन्न, गर्नुभएको छैन ।

नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको छ, यसमा जसपाको प्रतिक्रिया के छ ?

जसपाले अहिले यसबारे निर्णय गरिसकेको छैन ।

तर जसपाले प्रधानमन्त्रीका लागि दाबी चाहिँ गरेको हो ?

निश्चितरुपमा,​ जसपाले देशलाई किमार्थ अनिर्णयको बन्दी बनाएर राख्दैन । तर जसपा अहिले संविधान संशोधन लगायतका आफ्ना मागहरुमा केन्द्रित छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप