आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साढे २ केजी युरेनियमको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

सोमबार, २३ चैत २०७७, १० : ३९
सोमबार, २३ चैत २०७७

काठमाडौं । बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियमको अनुसन्धान प्रहरीले पूरा गरेको छ । फागुन २८ मा बरामद गरिएको युरेनियम बारेको अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

महानगरीय प्रहरी कार्यालयको टोलीले बौद्धबाट बरामद युरेनियमसहित चार जनालाई पक्राउ गरेको थियो । युरेनियम बारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

रामेछाप घर भएकी जानुका तामाङको घरमा सो युरेनियम करिब २५ बर्षदेखी लुकाएर राखिएको थियो । भारको खानीमा काम गर्दा जानुकाको ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर शुरु अनुसन्धान गरेको प्रहरीले आरोपीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा लैजान सरकारी वकिललाई राय दिएको छ ।

०७७ असारमा लागू भएको सो ऐनको दफा २८ (१) (ख) अनुसार ७ देखि १२ लाख जरिवाना र ५ देखि १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था छ ।

सरकारी वकिल कार्यालयको सल्लाहमा सो ऐन अनुसार राय प्रतिवेदन बुझाएको एसएसपी सिंहले रातोपाटीलाई बताए ।

जानुकासहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ, रामेछापका प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप