शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभामा ‘कारवाही’ का कारण दुई सांसदको पद रिक्त हुँदै

सोमबार, २३ चैत २०७७, १० : १०
सोमबार, २३ चैत २०७७

बुटवल । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले सांसद पद गुमाउने भएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले उनीहरुमाथि कारवाहीको पत्र पढेर सुनाउने भएका हुन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा सामेल भएसँगै माओवादी केन्द्रले उनीहरुमाथि कारवाही गर्दै प्रदेश सभालाई पत्र पठाएको हो ।

सोमबार बस्ने बैठकमा सभामुखले सो पत्र पढेर सुनाउने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता हरिहर पोख्रेलले रातोपाटीलाई जानकारी दिए ।

सभामुखले सो पत्र पढेर सुनाएसँगै दुवै सांसदको पद गुम्ने उनले बताए ।

 


माओवादी केन्द्र परित्याग गरेका सांसदद्वय न्यौपाने र पन्थी पछिल्लो समय एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् । एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले प्रदेशसभा नियमावलीको दफा १९० अनुसार कारवाही प्रयोजनका लागि प्रदेशसभामा पत्र पठाएको हो ।

नियमावलीको दफा १९० मा दल त्याग सम्बन्धी व्यवस्था छ । दफा १९१ अनुसार सभामुखले सो पत्र सोमबारको बैठकमा पढेर सुनाउने छन् ।

सोही नियमावलीको दफा १९२ मा ‘दल त्यागको सूचना सभाको बैठकलाई दिएमा वा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस भएमा त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिने’ उल्लेख छ ।

सोही दफाअनुसार सांसदद्वय न्यौपाने र पन्थीको पद सोमबारबाट रिक्त हुने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप