शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको एकता जोगाउन कसले के गर्नुपर्छ ?

ओली र नेपाललाई पार्टीका अगुवा कार्यकर्ताले दिए यस्तो सुझाव
शनिबार, २१ चैत २०७७, ११ : ०६
शनिबार, २१ चैत २०७७

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई कारवाही गरेपछि एमाले करिब-करिब फुटको अवस्थामा पुगेको छ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले अहिले ओली पक्ष र खनाल–नेपाल पक्षमा ध्रुवीकृत देखिन्छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उत्तरार्द्धमा यस प्रकारकै ध्रुवीकरण देखिएको थियो । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि तत्कालीन नेकपामा देखिएको ध्रुवीकरणकै छायाँ एमालेमा देखा परेको हो ।

तत्कालीन नेकपामा ओलीविरुद्ध प्रचण्डलाई साथ दिएका झलनाथ खनाल, माधवकुमार नेपाल लगायत एमाले पृष्ठभूमिका नेताहरु सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेमै फर्किए । तर पार्टी पूर्ववत् अवस्थामा फर्किए पनि विवाद नयाँ–नयाँ ढंगले सतहमा आइरहेका छन् ।

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले एमालेभित्रै ‘ओली प्रवृत्ति’विरुद्ध खुला संघर्ष गर्न थालेका छन् भने ओली उनीहरुमाथि कारवाहीमा उत्रिएका छन् । ओलीले कारवाही गरेपछि खनाल–नेपाल पक्षले विभिन्न भ्रातृ संगठन र केही जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । केन्द्रमा पनि भेला–बैठक जारी छन् । यी गतिविधिलाई दुवै पक्षका नेतृत्वले आफ्नो अनुकुल व्याख्या गरे पनि कार्यकर्तापंक्ति भने पार्टी विभाजन हुने चिन्तामा छन् ।

लुम्बिनी प्रदेश नेकपा एमालेको राम्रो प्रभाव भएको प्रदेश हो । त्यसमा पनि रुपन्देही जिल्लामा विष्णु पौडेल र घनश्याम भुसालजस्ता नेताप्रति कार्यकर्ताले निकै आश गर्ने गरेका छन् । तर पार्टी दुई ध्रुवमा विभाजित भएपछि पौडेल ओली पक्षमा र भुसाल भने खनाल–नेपाल पक्षमा लागेका छन् । रुपन्देहीका अगुवा कार्यकर्ता एमाले अध्यक्ष ओली र माधवकुमार नेपालले पार्टी एकतालाई कायम राख्न पहल गर्नुपर्नेमा जोड दिन्छन् ।

उनीहरु पार्टीका दुवै खेमाले केही गल्ती गरेको भन्दै दुवै पक्षलाई ती गल्ती सच्याउन आग्रह गरिरहेका छन् । पार्टी एकता बचाउनका लागि रुपन्देहीका अगुवा कार्यकर्ताहरूले ओली र नेपाललाई रातोपाटीमार्फत दिएका सुझाव यस्ता छन्–

पुरुषोत्तम घिमिरे (पूर्व जिल्ला उपाध्यक्ष)

– घरमूली राम्रो भएमा मात्र त्यो घर–परिवार राम्रो बन्न सक्छ । पार्टीलाई राम्रो बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित अन्य नेताहरुलाई उनीहरुको तहअनुसार पार्टीमा सम्मान दिनुपर्छ ।

– पार्टीभित्र अध्यक्षले आफ्नो गुटका मात्र कार्यकर्तालाई जिम्मेवारी दिने अरुलाई पाखा लगाउँदै पार्टीलाई मरिचजस्तो बनाउनु भएन । माधव नेपाल पक्षधरका कार्यकर्ताहरूलाई पनि समेट्नुपर्छ ।

– अदालतले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएसँगै पहिलाको नेतृत्वमा बसेका साथीहरुलाई पूर्ववत् जिम्मेवारी दिनुपर्छ । अनि सबैलाई पार्टीभित्र आफ्नोपनको महसुस गराउनुपर्छ ।

 


 

– अध्यक्ष केपी शर्मा पार्टीको विधानअनुसार चल्नुपर्छ, मनपरी होइन । सरकार पनि संविधानअनुसार चलाउने हो । पार्टीलाई कार्यकर्ताको मनोभाव अनुसार र सरकारलाई जनताको अवश्यकताअनुसार चलाउने हो । गुटबन्दी गरेर चलाउने होइन ।

– माधवकुमार नेपाल लगायतले एमालेभित्र बसेर छलफल, बहस गर्नुपर्छ । गुटबन्दी गर्दै समानान्तर कमिटी गठन गर्नुभन्दा अन्य फोरमको प्रयोग गर्नुपर्छ । समानान्तर कमिटी भनेको अन्तिम विकल्पमात्रै हो ।

– पार्टीभित्रबाटै राजनीतिक प्रशिक्षण, विचारलाई तल्लो तहका कार्यकर्तासम्म पु¥याउन सकिन्छ । अर्कोलाई गाली गर्दा आफूले पनि पार्टीको विधान मिच्नु भएन ।

– माधवकुमार नेपाल पक्षले पार्टीको विभाजन रोक्नका लागि आत्मसमीक्षा गर्नुपर्छ । आफ्नो कमीकमजोरी पनि केही भएका होलान्, हेर्नुपर्छ । उतातिरमात्रै दोष दिएर भएन, कतै आफ्ना कमजोरी भएका छन् भने तिनलाई तत्काल सच्याउनुपर्छ ।

– एमालेमा गुटबन्दी पुरानो रोग हो । अन्य पार्टीमा जस्तै यसमा पनि लामो समयदेखि नै गुटबन्दी छ । त्यसलाई त्यागेर सबै कार्यकर्ताको भावना समेट्ने प्रयास गर्नुपर्छ । अध्यक्ष ओलीका नराम्रा पक्षमात्र पक्कै छैनन्, उनमा केही राम्रा कुरा पनि छन् । ओलीका राम्रा कुराहरुलाई माधव नेपाल पक्षले पनि सिक्नुपर्ने हुन्छ ।

खेम लुइँटेल (एमालेका पूर्व जिल्ला सदस्य)

– सर्वोच्च अदालतको आदेशअनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएपछि त्यसलाई व्यवहारमा पनि पूर्णरुपमा उतार्नुपर्छ । अदालतले भनेको निर्णय ७० प्रतिशत लागु गर्छु, ३० प्रतिशत लागु गर्दिन भन्न मिल्दैन ।

– जब एमालेलाई पुरानै कमिटीमा फर्काइन्छ, पार्टीका कमिटीहरु पूर्ववत् अवस्थामा सक्रिय हुन्छन् । जो जुन पदमा थियो, उसले त्यही पदमा बसेर काम गर्न पाउँछ । अदालतले २०७५ जेठ ३ मा एकता भएका दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काएको हो, त्यो भनेको एमाले र माओवादी केन्द्रको एकता खारेज भएको भन्नेमात्र होइन, एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनु पनि हो ।

– केपी शर्मा ओलीले मनलाग्दो गरी आफ्ना मान्छेलाई मात्र नेतृत्व दिन मिल्दैन । यो काम तत्काल रोक्नुपर्छ । पार्टीलाई विधि, प्रक्रियामा चलाउनुपर्छ, मनलाग्दो गरी काम गर्न भएन ।

– एमालेलाई पुरानो अवस्थामा फर्काउने कि स्वेच्छाचारी रुपमा आफ्नो अनुकुल हुने गरी चलाउने भन्ने कुरा अध्यक्षको हातमा छ । एमालेमा ओलीको मात्र योगदान होइन, पार्टी निर्माणमा धेरै नेता कार्यकर्ताको भूमिका छ । सबैको योगदानलाई ध्यान दिन आवश्यक छ ।

– नेताहरुमाथिको कारबाहीले देशभर असर पार्छ । त्यसैले पार्टीलाई कसरी अगाढि लैजाने भन्नेबारे माधवकुमार नेपालसहितका नेताहरुसँग बसेर छलफल गर्नुपर्छ ।

– अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने हो भने माधवकुमार नेपाल पक्षले पनि केही भन्ने बाटो नै रहँदैन । त्यो बेलाको एमालेको पार्टी अध्यक्ष ओली नै हो, उहाँ नै अध्यक्ष हुनुहुन्छ । नेपाल वरिष्ठ नेता, त्यही वरिष्ठ नै हुने हो । अन्य निर्णयहरु पुरानै छन् । त्यसमा भएका कमिटी तथा अन्य जिम्मेवारी आउँदा भेला गर्ने, समानान्तर कमिटी गठन गर्नेजस्ता काम आफै बन्द हुन्छन् ।

बाबुराम पन्थी (बुटवल नगर कमिटी अध्यक्ष)

– माधवकुमार नेपाल समूहले भेला गर्दैै समानान्तर कमिटी गठन गर्दै हिँड्न थालेको छ, त्यो गलत हो । पार्टीको अनुशासनमा नबसेर आ–आफ्नो  समूहको भेला र गुटबन्दी गर्दै हिँड्न रोक्नुपर्छ । यदि साँच्चै एमाले जोगाउने हो भने माधवकुमार नेपाल जिम्मेवार बन्नुपर्छ ।

– पार्टी अध्यक्ष ओली र सरकारको विरोधमात्र गर्ने होइन, सरकारले जनताको पक्षमा गरेका कामलाई अनर्गल प्रचार गर्नतिर पार्टीकै नेताहरु लाग्नु हुँदैन ।

– पार्टीको विधि–विधानलाई सबैले मान्नुपर्छ । एमाले पूर्ववत् अवस्थामा फर्किएको अवस्थामा पार्टीलाई कसरी अगाडि लैजाने, कसको स्थान कहाँ बनाउने भन्नेमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने हो । तर माधव नेपाल पक्षले आफ्नो पार्टीका अध्यक्षसँग भन्दा पनि माओवादी केन्द्रका अध्यक्षसँग बढी छलफल गरेको यसबीचमा देखिन्छ, त्यो क्रम बन्द गर्नुपर्छ ।

– ओली सरकारले जनताको पक्षमा महत्वपूर्ण काम गरेको छ । त्यसलाई  समर्थन गर्नुपर्छ, सरकार टिकाउनुपर्छ । तर सरकारले गरेका राम्रा कामलाई नयाँ ढंगले प्रोत्साहन गर्नुको साटो प्रोपोगान्डा बनाउन खोज्नु गलत हो ।

– ओलीले पनि महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीभित्र छलफल गर्नुपर्ने हुन्छ । तर त्यो वातावरण माधवकुमार नेपालले नै तयार पार्नुपर्छ ।

– आवेशमा केही निर्णय भएका छन् भने तिनलाई पार्टी एकताको लागि सच्याउन ध्यान दिनुपर्छ । पार्टी एकता नै महत्वपूर्ण पक्ष हो । पार्टीभित्र रहेर विधानसम्मत् ढंगले अघि बढ्न चाहेमा माधव नेपाल समूहलाई पनि उचित जिम्मेवारी दिनुपर्छ । अहिले पनि पार्टीमा केही जिम्मेवारी तोक्न बाँकी छ । त्यहाँ नेपाल समूहलाई जिम्मेवारी दिँदा पार्टीको हित हुन्छ भने त्यसमा नेतृत्वले उदारता देखाउनुपर्छ ।

मोहन चापागाईं (एमाले जिल्ला सदस्य)

– माधव र झलनाथहरूले प्रचण्डको विचार बोकेर एमालेभित्र अन्य कमिटी बनाउन थालेको बुझाइ धेरै एमाले कार्यकर्तामा छ । यदि एमालेमा बस्ने हो, त्यो होइन भने माधव नेपाल र झलनाथ खनाल पक्षले त्यसलाई प्रमाणित गर्न सक्नुपर्छ । एमाले पार्टीमा बसेर अर्को कमिटी गठन गर्न  नमिल्ने हो । यसरी जाँदा पार्टीभित्र संघर्ष होइन, सडक संघर्ष नै हुन्छ । एउटै पार्टीमा बस्ने, एउटै चुनाव चिन्ह अनि अर्को समानान्तर कमिटी कसरी बन्न सक्छ ?

– राजनीतिमा धैर्य पनि चाहिन्छ । पार्टीमा आफू अनुकुल पोजिसन भएन भन्दैमा धैर्य गुमाउनु हुँदैन । अहिले एमाले अध्यक्ष ओली नै हो, पार्टी नेतृत्वको विकल्प महाधिवेशनबाट खोज्नुपर्छ छ । त्यतिन्जेल सम्म नेपाल पक्षले धैर्य गर्न सक्नुपर्छ ।

– एमाले निर्माणमा सबैको योगदान छ । त्यो योगदानबाट संगठन बनेको हो । पार्टीको मूल प्रवाहले पनि यसलाई बुझ्नुपर्छ । धैर्य गरेर काम गर्दा भोलि सबै मिलेर जान सकिन्छ ।

बासुदेव घिमिरे (मेयर, तिलोत्तमा नगरपालिका)

– २०५४ सालमा एमाले फुट्दा पार्टीलाई क्षति भयो । त्यसको असर राष्ट्रलाई परेको थियो । त्यसको महसुस गरेर पार्टी एकता भएको हो । यो तथ्यलाई दुवै पक्षका नेताहरुले ध्यान दिनुपर्छ ।

– अहिले माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गर्न रोक्नुपर्छ । यसरी कमिटी गठन गर्दै जाने हो भने पार्टी एमाले मूल प्रवाह एकातिर र उहाँहरु अर्कोतिर हुने अवस्था आउँछ ।

– माधव नेपाल पक्ष मूल प्रवाहमा फर्केर हिजोका कमी कमजोरी सच्याउनतिर लाग्नुपर्छ । विगतकोजस्तो अवस्था अहिले छैन । आफ्नो विवेक र विश्लेषण गर्न सक्नुपर्छ ।

– ओली पक्षले पनि माधव नेपाल पक्षलाई हिजो नेकपामा रहँदाको इगोको आधारमा कारवाही गरेजस्तो लाग्छ । त्यो रिस सँधै नहुँदा राम्रो हुन्छ । माधव नेपाल समूहले कमिटी गठन गर्न छाडेर मूल प्रवाहमा आएमा   विस्तारै जिम्मेवारी दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप