कर्णालीमा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
सुर्खेत । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि कर्णाली प्रदेश सरकारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही यतिखेर अल्पमतमा परेका छन् ।
पार्टी ब्युँतिएपछि पूर्व एमालेहरू एक ठाउँमा उभिए सँगै मुख्यमन्त्री शाही नेतृत्वमा रहेको सरकार स्वतः अल्पमतमा परेको हो । शाहीले एमालेको माधव नेपाल पक्षलाई फकाउन हर प्रयास गरेपनि आखिरमा आएर नेपाल पक्षले पनि शाहीको साथ छोडेको बताइसकेको छ ।
यस्तै मुख्यमन्त्री शाही माओवादी कै एकजना सांसद गुमाउनु परेको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रबाट सांसद धर्मराज रेग्मीले पार्टी नै त्यागेर एमालेको प्रदेश कमिटी सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनलाई पार्टीले कारबाही समेत गरिसकेको छ भने उनी पार्टीमा नफर्किने माओवादी केन्द्रले बताएको छ । चैत्र ५ गतेदेखि लागु हुने गरी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार काम चलाउ जस्तै बनिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय दलले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बिहीबार १५ दिन पुगेको छ ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप मुख्यमन्त्री शाहीसँग अब आधा समय मात्र बाँकी छ । संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ ।
यसै व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले बैशाख ४ गतेभित्रमा विश्वासको मत लिनु पर्ने हुन्छ । समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको भन्दै प्रदेश प्रमुखले सरकारलाई दोस्रो पटक बुधबार ध्यानाकर्षणपत्र पठाएका थिए । यसैबीच आफू नेतृत्वको सरकार जोगाउन मुख्यमन्त्री शाहीले अन्तिम प्रयास गरिरहेका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै धर्मराएको प्रदेश सरकार जोगाउन माओवादी अन्तिम प्रयास थालेको हो ।
मुख्यमन्त्री शाहीले भने आफ्नो सरकार अझै बहुमतकै भएको दावी गर्दै आएका छन् । उनले एमालेको माधव नेपाल समूहका नौ जना र नेकपा माओवादी केन्द्रका १३ जना गरी २२ जना सांसदको समर्थन कायमै रहेको कुरा अनौपचारिक रुपमा भन्दै आएका छन् ।
तर, पछिल्लो समय भने मुख्यमन्त्री शाही सरकार जोगाउने रणनीतिमा लागेका छन् । पछिल्लो परिस्थितिमा सरकार जोगाउने रणनीति बनाउन माओवादीले चैत २१ गते (भोली बिहान ८ बजे ) संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले रातोपाटीसँग भनिन् , ‘सरकारले अहिले नै विश्वासको मत लिनुपर्ने अबस्था छैन् । एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिनुभएको अबस्था पनि छैन् । त्यसैले अहिले नै विश्वासको मत लिनुपर्ने अबस्था छैन् । शनिबारको संसदीय दलको बैठकमा हरेक विषयमा वृहत छलफल हुन्छ । संवैधानिक व्यवस्था अनुसार नै हामी अघि बढ्छौँ ।’
साथै नेपालीले आगामी प्रदेशसभाको बैठकमा विश्वासको मत जित्ने तयारीमा लागेको उनले बताइन् ।
यस्तो छ अंक गणित
कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेको २० सीट छ । एमालेको संसदीय दल बैठकमा माधव नेपाल पक्षधर सांसदले पनि दलकै निर्णय मानेर अघि बढ्ने बताइसकेका छन् । बहुमत प्राप्त दल भएकाले अब एमाले बाहेक अरुको सरकार परिकल्पना समेत नगर्न एमालेले दावी गर्दै आएको छ ।
कर्णाली प्रदेश सभामा ४० सांसद छन् । तीमध्ये एमालेका २०, माओवादीका १३, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । माओवादी केन्द्रबाट संसद रहेका धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् । जसले गर्दा एमालेलाई कर्णालीमा एकल सरकार बनाउन सहज देखिएको छ । यो सँगै एमालेले पनि २२ चैत्रमा संसदीय दलको बैठक बोलाइसकेको छ ।