बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई लुटका नाइके: अमेरिका सपना असफल भएपछि लुटपाटमा

शुक्रबार, २० चैत २०७७, १८ : २४
शुक्रबार, २० चैत २०७७

काठमाडौं । न्यूरोडस्थित खिचापोखरीमा हेम मल्ल र गोरख चन्दले सञ्चालन गरेको आइएमई लुटियो । चैत १८ मा ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्ससँगै सञ्चालित आइएमई लुटमा चारजना संलग्न थिए ।  चार मध्येका एक हुन्, दाङ घर भएका २१ वर्षीय तिलक राउत । उनी सो लुटका मुख्य नाइके हुन् । दाङकै १८ वर्षीय दिपुन श्रेष्ठसँग नयाँ बानेश्वरस्थित दक्षिणकाली ब्वाइज होस्टलमा बस्थे । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुवैलाई होस्टलबाट पक्राउ गरेको छ । 
तिलकको मनमा ‘अमेरिका सपना’ थियो । २५ लाख खर्च गरेर उनी अमेरिका जान हिँडेका थिए । तर, क्युवा पुगेपछि उनको यात्रा रोकियो ।  ‘राउत अमेरिका सपना देखेर त्यता हिँडेका थिए’ आइएमई लुटबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘२५ लाख तिरेर गएको तर, क्युबाबाट फर्केको उनले हामीलाई बताएका छन् ।’ 

‘अमेरिका पठाउँछौं’ भन्ने गिरोहले उनलाई लोभमा पारेर क्युबा पुर्याएर अलपत्र पारेपछि उनी फर्केका हुन् । बसुन्धरास्थित मोर्गान इन्टरनेशनल कलेजमा पढेका उनी फेरि विदेश जाने तयारीमा थिए ।  लुटमा संलग्न अर्का दुई आरोपी हुनु, कालिकोट घर भएका १८ वर्षीय उमेश केसी र ललितपुर बस्ने नविन केसी । आरोपीहरु लागुऔषध प्रयोगकर्ता हुन् । 

चारजना मिलेर ५ लाख १५ हजार लुटेको दावी गरेर आइएमई सञ्चालकले महानगरीय प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका छन् ।  प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ ।  लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई बताएका छन् । ‘आइएमई संचालकले ५ लाख १५ हजार लुटिएको दाबी गरेका छन्’ एसएसपी सिंहले भने–‘हामी थप अनुसन्धान गर्दै छौं ।’

मोर्गानमा पढ्दा तिलकले बालाजु बस्ने ३१ वर्षीया मन्जु पुटुवारलाई चिनेका थिए । मन्जुलाई उनले दिदी भन्थे । लुटेको ७५ हजार नगद मन्जुलाई राख्न दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप