शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चैत २४ मा बागमती प्रदेशसभा बैठक बस्ने

शुक्रबार, २० चैत २०७७, १७ : ०८
शुक्रबार, २० चैत २०७७

हेटौंडा । बागमती प्रदेशसभा बैठक चैत २४ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै चैत २४ गते मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।

गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । अविश्वास प्रस्ताव गत माघ ९ गते बसेको प्रदेशसभा बैठकमा टेबल भएपनि छलफल हुन सकेन । माघ १९ गते बस्ने गरी स्थगित भएको बैठक हालसम्म पनि बस्न सकेको छैन । त्यसयता प्रदेशसभा बैठक विषेश कारण देखाउँदै दुई पटकसम्म स्थगित भयो ।

चैत १७ गते प्रदेशका पूर्व वनमन्त्री अरुण नेपाल नेतृत्वको टोलीले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन संसद सचिवालयमा दर्ता गराएपछि बागमती प्रदेशसभा बैठक बस्ने भएको हो । आगामी २४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ताबारे सभालाई जानकारी दिने, यसअघि प्रदेशसभा बैठकमा छलफल भएर प्रतिवेदनसमेत तयार भइ बैठकले पास गर्न बाँकी रहेको प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ का विषयमा छलफल हुन सक्ने प्रवक्ता अमात्यले बताए ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको सभामुखसहित ५७ जना सदस्य छन् । २३ जना सदस्य रहेका माओवादी केन्द्रले बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गनेछ भने २२ जना सदस्य रहेको नेपाली काँग्रेस दोस्रो ठुलो दल बनेको छ । त्यस्तै बागमतीमा प्रदेशमा विवेकशील साझा पार्टीको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र १ गरी कुल १ सय १० जना सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप