शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली एमाले विभाजन गर्न उद्दत रहेको खनाल- नेपाल पक्षको ठहर

संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी अभियान घोषणा गर्ने तयारी
शुक्रबार, २० चैत २०७७, २२ : ००
शुक्रबार, २० चैत २०७७

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निश्कर्ष निकालेको छ । साथै सो समूहले ओलीको उक्त कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ । 

खनाल–नेपाल पक्षका नेताहरुको शुक्रबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए । त्यस्तै बैठकले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भर्त्सना र निन्दा पनि गरेको छ । 

‘यो कारबाहीले केपी ओली नेकपा एमालेलाई विभाजन गर्न उद्यत हुनुहुन्छ भन्ने कुराको पुष्टि भएको छ’ बैठकपछि नेता भट्टराईले भने । त्यस्तै उनले केही दिनअघि आयोजित राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र प्राप्त सुझावमाथि बैठकमा छलफल भएको भन्दै त्यसलाई भोली बस्ने बैठकले अन्तिम रुप दिँदै प्रकाशन गरेर देशव्यापी वितरण गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।

शनिबार ३ बजे बस्ने बैठकमा राष्ट्रव्यापी कार्यक्रम, संगठन निर्माण, प्रशिक्षण, गोष्ठी, भेलालगायतका कार्यक्रमको ढाँचालाई अन्तिम रुप दिँदै संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी अभियान घोषणा गर्ने सो समूहको तयारी छ ।  सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरानै अवस्थमा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको ठहर बैठकले गरेको भट्टराईले जानकारी दिए ।

फैसला कार्यान्वयनका गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आव्हान गर्ने निर्णय भएको उनले बताए ।  बैठकले पार्टीको बहुमत खनाल नेपाल पक्षमै रहेको निश्कर्ष समेत निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप