शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

शोभराजले विदेशी सञ्चारमाध्यमलाई फोनबाट अन्तर्वार्ता दिएको निष्कर्ष

शोभराजको दाबी– ‘मिडियाकर्मीलाई फोन गरेको छैन’
शुक्रबार, २० चैत २०७७, १५ : ०५
शुक्रबार, २० चैत २०७७

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका चार्ल्स शोभराजको अन्तर्वार्तामा आधारित सामग्री बेलायती पत्रिकामा छापिएपछि कारागार प्रशासनले त्यसबारे छानविन गरेको छ । आइतबार दुई बेलायती पत्रिकामा शोभराजको जेलजीवन र उनका भावी योजनाबारे कुराकानीमा आधारित सामग्री छापिएको थियो । 

कुनैपनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था छैन । कारागारमा सुरक्षा कमजोरी रहेको भनेर पटक–पटक प्रश्न उठ्ने गरेको छ । अन्तर्वार्ता छापिएसँगै कारागार प्रशासनले त्यसबारे अनुसन्धान गरेको छ । अनुसन्धान गर्दा ‘फोनबाट अन्तर्वार्ता रेकर्ड गरेको’ निष्कर्ष निकालिएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई बताए । बाँस्कोटाले भने– ‘परिवार र आफन्तलाई फोन गर्न दिन्छौं, सो फोन उता रेकर्ड गरेर अन्तर्वार्ता लिएको अनुसन्धानबाट खुलेको छ ।’

तालिमप्राप्त कुकुर परिचालन गरेर जेल प्रशासन र प्रहरीले अनुसन्धान गरेको थियो । विगत १ वर्षदेखि केन्द्रीय कारगारमा शोभराजलाई भेट्न कोही नगएको कारागार प्रशासनले दावी गरेको छ । लकडाउन शुरु हुनुअघि शोभराजका वकिल जेलमा गएका थिए । त्यसपछि वकिल पनि नगएको कारागारको रेकर्डबाट थाहा भएको छ । 

कारागार व्यवस्थापन विभागको नियमअनुसार विदेशी कैदीले आफन्त र परिवारलाई हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउँछन् । सो अधिकारको उनले दुरुपयोग गरेको हुनसक्ने छानविनको निष्कर्ष छ ।  पैसा तिरेर स्वदेश र विदेशमा फोन गर्न पाउने कानुनी सुविधा छ । शोभराजले ३ वटा मुलुकमा फोन गर्छन् । लण्डन, अमेरिका र फ्रान्समा मात्र फोन गर्ने उनले रेगुलर सम्पर्क गर्ने नम्बरमा मात्र कुरा गरेको खुलेको छ । ‘नयाँ नम्बरमा फोन गरेको देखिएन’ जेलर बाँस्कोटाले भने– ‘विगतमा सम्पर्क गर्ने नम्बरमा मात्र फोन गरेका छन् ।’

छानविनको क्रममा कारागार प्रशासनले शोभराजसँग सोधपुछ गरेको थियो । आफन्तबाहेक उनले कहीं पनि फोन नगरेको दावी गरेका छन् । कारागार प्रशासनसँग उनले भनेका छन्– ‘मैले मिडियालाई टेलिफोन गरेको छैन ।’ 
नेपालमा उनले आफ्ना वकिललाई कहिलेकाही फोन सम्पर्क गर्छन् । चार दशअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झण्डै १७ वर्षदेखि उनी केन्द्रीय कारागारको गोलघरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप