शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिमा गराईदिन्छु भन्दै कम्पनी दर्ता : गरिब परिवारलाई बोकाइयो करोडौँ राजस्वको भार

शुक्रबार, २० चैत २०७७, १२ : ३६
शुक्रबार, २० चैत २०७७

रौतहट । रौतहटमा आफन्तले बिमा गराउने बहानामा कम्पनी दर्ता गराएर करोडौँ राजस्वको भारी बोकाएको रहस्य खुलेको छ ।  मौलापुर नगरपालिका वडा नम्बर–३ का ईश्वर दयाल हजाराको हातमा केहीदिन अघि आफ्नो नाममा दर्ता रहेको कम्पनीको करोडौँ राजस्व बक्यौता रहेको पत्र आएपछि सो घटना सार्वजनिक भएको हो ।

हजारालाई महादेव ट्रेड ईन्टरप्राईजेजको नाममा मूल्य अभिवृद्धि करबापतको ठूलो रकम बाँकी रहेकाले तुरुन्त सम्पर्कमा आउनू भनेर पत्र आएको छ । विभिन्न मितिमा काठमाडौँस्थित आन्तरिक राजश्व कार्यालय ठमेल काठमाडौँबाट हजाराको नाममा दुईवटा पत्र आएका छन् ।

उनका अनुसार नातामा भिनाजुको भाइपर्ने बारा छातापिपरा घर भएका अशोक पासवानले पाँचवर्ष अघि जीवन बिमा गराउने भन्दै उनलाई काठमाडौं लगेका थिए । पासवानसँग रहेका अर्का एकजनाले जीवन बिमा गराउनका लागि भन्दै फोटो खिचाउनेदेखि बैङ्क खाता खोल्नेसम्मको काम गराएको उनी बताउँछन् ।

सम्पत्तिको नाममा अंशमा एक धुर जग्गा रहेका २६ वर्षीय हजाराको नाममा ‘करोडौँ रकम कर असुल्नु छ’ भन्दै पत्र आएपछि उनको सिङ्गो परिवार अहिले तनावमा छ । केहीदिन अघि पासवानसँग सम्पर्क गर्दा ‘तपाईं चिन्ता नलिनुस्, यो समस्या म समाधान गराउँछुु’ भनेको तर अहिले सम्पर्कविहीन भएको हजाराले बताए ।

उता, चन्द्रपुर नगरपालिका वडा नं १० का ४० वर्षीय उमेशकुमार चौधरीको नाममा पनि राज्यलाई ७ करोड ९२ लाख १६ हजार ९ सय ५२ रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएको छ । उनको नाममा २०७३ साल वैशाख १५ गते दर्ता भएको सोनु ट्रेड कन्सर्न नामको कम्पनीको नाममा कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीविरुद्ध मुद्दा दायर गरेको छ । जबकि आफ्नो नाममा कम्पनी भएकोबारे चौधरीलाई जानकारी नै थिएन ।

सम्पत्तिको नाममा मात्र दुुई कठ्ठा जग्गा भएका चौधरी बाराको जगदम्बा ईन्टरप्राईजेजमा मासिक अठार हजार तलबमा लेबर काम गर्दै आएका छन् । चौधरीलाई आफ्नो नाममा त्यति ठुलो रकम कर छलि गरेको विषयमा कुनै जानकारी नै छैन । आफुसँगै जगदम्बामा काम गर्ने बाराका दशरथ हजारा र कलैयाका अजय गुप्ताले चारवर्ष अघि ‘काठमाडौं घुम्न जाउँ, सानो काम छ’ भनेर लगेका थिए । ‘भन्सारबाट सामान छुटाउनका लागि केही कागज बनाउनुपर्ने भन्दै फोटो खिच्न लगियो, कम्पनी दर्ता गर्ने अफिसमा लगियो र बैंकमा लगेर खाता खोल्न लगाइयो,’ चौधरीले बताए । दुईदिनको काठमाडौं बसाइपछि तीन हजार नगद दिएर घर पठाएको उनले बताए ।

आफुसँगै काम गर्ने दशरथले काठमाडौं जाउँ भनेर उमेशकुमार चौधरीलाई लगेका थिए । उनलाई राजश्व विभागबाट हालसम्म कुनै पत्र आएको छैन । तर केहीदिन अघिमात्र ठगहरूले आफ्नो नाममा कम्पनी खोलेर फसाएकोबारे जानकारी पाएको चौधरी बताउँछन् ।

लगत्तै दशरथसँग सम्पर्क गर्दा ‘चिन्ता लिनु पर्दैन, सबै मिल्छ’ भनेकाले आफु ढुक्क रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप