भारतीय खोपमा गरेको गल्ती चिनियाँ खोपमा सरकारले नदोहोर्याउने
काठमाडौं । सरकारले चीनले अनुदान सहयोगमा दिएको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदान सहयोगमा उपलब्ध खोपबारे थप निर्णय लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।
कोभिशिल्ड खोपभन्दा भेरोसेल खोप फरक भएको उनले बताए । ‘चीनबाट अनुदानमा उपलब्ध गराइएको भेरोसेल खोप ४ लाख जनालाई दिने तयारी भएको छ’ उनले भने, ‘विश्वमा खोपको उत्पादन कम र माग बढी छ, हामीसँग जति खोप छ त्यहीअनुसार योजना बनाउँछौँ ।’
चीन सरकारले दिएको खोप भारतले दिएको कोभिशिल्ड खोपभन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई बुझाउने काम भइरहेको उनको भनाई छ । खोप लगाउने लक्षित वर्गको प्राथमिकिकरण गर्ने काम भइरहेको उनले जानकारी दिए । ‘भेरोसेल र कोभिशिल्ड खोप लगाउने व्यक्तिको कार्ड फरक हुने भएकोले त्यसको गृहकार्य भइरहेको छ’ उनले भने, ‘खोपको ढुवानी, व्यवस्थापन, प्राथमिकिकरण जस्ता साना मसिना काम गर्न छोटो समय लागेको हो ।’ भेरोसेल खोप दिनका लागि प्राविधिक तथा स्वास्थ्यकर्मीहरु खटिइरहेको समेत उनले सुनाए । चीनले ८ लाख डोज खोप नेपाललाई उपलव्ध गराइसकेको छ ।
वैशाख ७ देखि वैशाख १५ सम्म दोस्रो डोज
यसअघि पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकाहहरुले वैशाख ७ गतेदेखि दोस्रो डोज लगाउन पाउने भएका छन् । वैशाख ७ देखि वैशाख १५ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयले तयारी गरेको हो । भारतबाट अनुदान सहयोगमा प्राप्त कोभिसिल्ड खोप पहिलो चरणमा माघ १४ गतेदेखि लगाउन सुरु गरिएको थियो ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप अग्रपंक्तिमा खटिएका चिकित्सक, सफाईकर्मी पत्रकार, विदेश नियोगका कर्मचारीलगायत ४ लाख २९ हजारले लगाइसकेका छन् । पहिलो चरणको पहिलो प्राथमिकतामा परेकालाई दोस्रो डोजको खोप लगाइएको १२ हप्ताभित्र चरणबद्ध रुपमा दिइने डा.अधिकारी बताउँछन् ।
सरकारले २० लाख डोज खोप खरिदका लागि भारतलाई भुक्तानी गरिसकेको छ । त्यसमध्ये १० लाख डोज खोप नेपालले प्राप्त गरिसकेको छ । १० लाख डोज खोप अप्रिल पहिलो सातासम्म पठाउने खोप उत्पादक कम्पनी सेरमले जानकारी दिएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिङ्करीले बताए । यसअघि १७ लाख ५७ हजार जनाले कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाइसकेका छन् ।