मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कारवाही प्रकरणपछि एमालेको खनाल–नेपाल पक्षलाई अगुवा कार्यकर्ताको यस्तो छ सुझाव

नेतृत्वलाई प्रश्न– कारवाही किन र केका लागि ?
बिहीबार, १९ चैत २०७७, ०७ : ५८
बिहीबार, १९ चैत २०७७

कैलाली । नेकपा एमालेमा देखिएको शक्ति संघर्ष र कारवाही प्रक्रियाबारे विभिन्न कोणबाट व्याख्या एवं विश्लेषण भइरहेको छ । कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावलमाथि गरेको कारवाहीलाई स्वाभाविक भनेका छन् भने कतिपयले यस्तो कारबाहीले एमालेमात्र नभई कम्युनिस्ट आन्दोलनलाई नै धक्का लाग्ने टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा भीम रावल एमालेका प्रभावशाली नेता मानिन्छन् । माधव नेपाल पक्षमा रहेका रावललाई नेता नेपालसँगै ६ महिनाका लागि निलम्बन गरिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतामाथि कारवाही गरेका हुन् ।

नेताद्वय नेपाल र रावलमाथिको कारवाहीलाई सुदूरपश्चिम प्रदेशका माधवकुमार नेपाल पक्षका कार्यकर्ताले कडा आलोचना गरेका छन् । पार्टी अध्यक्ष ओलीले पूर्वाग्रही ढङ्गले विधानविपरीत नेताद्वय नेपाल र रावलमाथि कारवाही गरेको उनीहरुको टिप्पणी छ ।

अदालतको आदेशअनुसार नेकपा एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट बनाएर लैजानुको सट्टा नेतृत्वले नवौं महाधिवेशनबाट चुनिएर आएका व्यक्तिहरुलाई उल्टै कारवाही गर्न थालेको उनीहरुको भनाइ छ ।

कैलालीको गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत पार्टी एकीकरण हुँदा विधि, विधान र पद्धतिलाई अनुशरण गरेर अघि बढेको भए अहिलेको समस्या उत्पन्न नै हुन  पाउँदैनथ्यो भन्छिन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा केपी ओलीले जुन गल्ती गर्दा पार्टी एकता भत्कियो, अहिले त्यही गल्तीलाई एमालेमा पनि दोहो¥याउने प्रयत्न गरेको उनको भनाइ छ । नेकपा एमालेमा लामो समयसम्म त्याग, बलिदान गरेका नेतालाई कारवाही गर्नु ठिक नभएको उनले बताइन् ।

नेताद्वय नेपाल र रावलमाथि भएको कारवाहीका कारण सुदूरपश्चिमका पार्टीका आम नेता तथा कार्यकर्ता दुःखी भएको बताउँदै उनले यसरी काम गर्दै जाने हो भने पार्टी धेरै दिन टिक्न नसक्ने प्रस्ट पारिन् । ‘यो त तानाशाही प्रवृत्ति हो, आफुभन्दा बाहेक अरुलाई नमान्ने, पार्टीको विधि, विधानभन्दा बाहिर गएर काम गर्ने, जनताले दिएको झण्डै दुईतिहाई बहुमतलाई कुल्चेर हिँड्नेजस्ता कुरा चानचुने होइन,’ उनले भनिन्, ‘अझै पनि केही बिग्रिएको छैन, विगतमा सबैले गल्ती गरेका थिए, सबैले आत्मालोचना गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजान भूमिका निर्वाह गर्नुपर्ने हो ।’

‘केपी प्रवृत्ति’का विरुद्ध पार्टीमै रहेर माधव नेपाल र भीम रावलले अन्तर्सङ्घर्ष गर्नुपर्ने उनको सुझाव छ । ‘पार्टी कसैको पेवा होइन, आज केपी छन् भने भोलि माधवकुमार नेपाल वा अरु कोही हुन सक्छन्,’ उनले भनिन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीलाई एक ढिक्का बनाएर लग्न चुकेको बताउँदै उनले यही कारण अबको चुनावमा एमालेको नाममा भोट माग्न लाज लाग्नेमात्र नभएर पार्टीको नराम्रो पराजय हुने दावी गरिन् । उनले लामो समयदेखि पार्टीमा योगदान गरेका नेताहरुलाई कारवाही होइन, एकजुट बनाएर अघि बढ्न सके नेकपा एमाले पुरानै अवस्थामा फर्किने बताइन् ।

उपप्रमुख कडायतले माधव नेपाल र भीम रावललाई विधि, पद्धति अनुसार नभई एउटा गुटले मनोमानी ढङ्गले आवेग र रिसका कारण कारवाही गरेजस्तो देखिएको बताइन् ।

फागुन २८ गते भएको एकपक्षीय निर्णयलाई सच्याउँदै आत्मालोचना गरी माधव नेपाल र राष्ट्रवादी नेताका रुपमा परिचित डा. भीम रावललाई पार्टीमा समेटेर लगिएन भने पार्टी कमजोर हुनेमात्र नभइ समग्र राष्ट्रको विकासको परिकल्पना गर्नु पनि बेकार हुने उनले बताइन् ।

माधव पक्षकै अर्की अगुवा कार्यकर्ता सुशिला बुढाथोकीले सर्वोच्चको फैसलापछि पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि अध्यक्ष ओलीले पार्टीलाई एक ढिक्का बनाएर लैजान नसक्नु नै अहिलेको अवस्थाको कारक भएको बताइन् । उनले भनिन्, ‘कारवाही किन र केका लागि ? पार्टी बनाउन योगदान गरेका माधव नेपाल र भीम रावललाई कारवाही गर्नु कुनै पनि दृष्टिकोणबाट ठिक होइन, अब उहाँहरुले पार्टीभित्रै बसेर नराम्रा प्रवृत्तिको भण्डाफोर गर्दै अघि बढ्नुपर्छ ।’

आवेगको भरमा कसैलाई काखा र कसैलाई पाखा गरेर पार्टीनै रहन नसक्ने उनको तर्क छ ।

प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले पार्टीमा एक अर्कालाई कारवाहीभन्दा पनि एकजुट भएर हिँड्नुपर्ने बेला आएको बताइन् । ‘माधव नेपाल र भीम रावल कुनै अर्कोे पार्टीबाट आएका नेता होइनन्,’ उनले भनिन्, ‘उहाँहरुमाथि कारबाही किन र केका लागि ?’

माधव र भीम रावलले पार्टी बनाउन गरेको योगदान बिर्सेर उल्टै कारवाही गर्नु गलत भएको उनको भनाइ छ । सबै मिलेर पार्टीलाई पहिलाको जस्तै बनाउनुपर्नेमा जोड दिँदै उनले आत्मालोचना गरेर अघि नबढे पार्टी नै ध्वस्त हुन धेरैबेर नलाग्ने बताइन् ।

नेताद्वय माधव नेपाल र भीम रावलले अब पार्टीलाई पूर्ववत् अवस्थामा ल्याउन गाउँगाउँ र सहरसम्म पुग्नुपर्ने उनको भनाइ छ । ‘अहिले एक पक्षका कार्यकर्ता खुशी, अर्को पक्षका कार्यकर्ता दुःखी हुनु नराम्रो संकेत हो,’ उनले भनिन्, ‘पार्टी बनाउने हो भने सबै मिलेर अघि बढ्नुपर्छ ।’

त्यसैगरी माधव पक्ष निकट युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले माधव नेपाल र भीम रावललाई पार्टीले नभई एउटा गुटको व्यक्तिले कारवाही गरेको बताउँदै त्यस्तो कारवाहीको कुनै अर्थ नरहने दावी गरे । उनले माधव नेपाल र भीम रावलले पार्टीको विधि, विधानलाई टेकेर भित्रैबाट केपी प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

‘पार्टीमा बसेर तानाशाही प्रवृत्ति कसैले नदेखाए हुन्छ,’ उनले भने, ‘समय बलवान हुन्छ, आज तपाईको पालो छ भने भोलि अर्कोको पालो आउँछ ।’ अहिले एमाले अध्यक्ष ओलीमा तानाशाही र व्यक्तिवादी चरित्र हावी हुँदै गएको उल्लेख गर्दै उनले मन नपर्ने नेतालाई कारवाही गर्ने, पार्टीको साधारण सदस्य नै नभएका व्यक्तिलाई प्रदेश ईन्चार्जमा मनोनित गर्ने काम सोही प्रवृत्तिको ज्वलन्त उदाहरण भएको बताए ।

माधव पक्षीय युवा संघ नेपालका केन्द्रीय सचिव दिपक सिंहले केपी गुटले गरेको कारवाहीले ठुलो अर्थ नराख्ने बताए । माधव नेपाल र भीम रावलले पार्टीभित्रैबाट समानान्तर कमिटी बनाएर चुनौती दिनुपर्ने उनको भनाइ छ ।

यदि त्यसो गरिएन भने माधव नेपाल र भीम रावलमात्र होइन, माधव पक्षका सबै नेता तथा कार्यकर्तालाई केपी ओलीले कारवाही गर्दैजाने उनको तर्क छ । ओली प्रवृत्तिलाई रोक्न पार्टीभित्रैबाट समानान्तर कमिटी बनाएर अघि बढ्न नसके केपी ओलीले अवैधानिक कमिटी निर्माण गरेर माधव पक्षका नेता तथा कार्यकर्तालाई कारवाही गर्दै पार्टीमा एकाधिकार बनाउन खोज्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप