शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई महिनादेखि सेनाको नजरबन्दमा रहेकी सुकीको स्वास्थ्य अवस्था कस्तो छ ?

बुधबार, १८ चैत २०७७, १९ : ००
बुधबार, १८ चैत २०७७

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहनु भएकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो ।  कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सुकीका वकिलहरूलाई भेट्न दिइएको थियो । उनीहरुले नै उनको अवस्था सामान्य नै रहेको जानकारी दिएका हुन् ।  

म्यानमारका सेनाले शासन हातमा लिएर सुकीलगायतका नेताहरुलाई थुनामा राखेको छ । उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको थिएन ।  सेनाले सत्ता हातमा लिएदेखि म्यानमारमा अहिलेसम्म पनि जनआन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ ।

निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ ।  यसअघि भएको निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै निर्वाचनको नतिजाप्रति सेनाले असन्तुष्टि र अविश्वास प्रकट गर्दै आएको थियो ।

नवगठित संसद्को पहिलो बैठक बस्नै लागेको दिन गत फेब्रुअरी १ का दिन सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएको हो ।  सेनाको कदमको विरोध गर्दै अहिले म्यानमारका दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको कदमको विरोध भइरहेको छ । 

केहीदिन अगाडि आन्दोलनका क्रममा एकैदिन झण्डै १०० जनाको मृत्यु भएपछि सैन्य सरकारको दमनको विश्वभरबाट थप विरोध भइरहेको छ । सेनाको आलोच्य कदमका कारण कतिपय देशहरुले म्यानमारलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका छन् भने कतिपयले अनिश्चितकालका लागि कुनै सहकार्य नगर्ने उद्घोष गरेका छन् । 

जापानले म्यानमारमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ता विद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ ।  म्यानमारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेशमन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यानमारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।

संसद्मा मङ्गलबार सम्बोधन गर्दै विदेशमन्त्री मोटेगीले भने, ‘म्यानमारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यानमारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौँ ।’
संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ता विद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यावसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ । जापानले म्यानमारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्बहालीका लागि आह्वान गरेको छ ।  म्यानमारमा आन्दोलनका क्रममा अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् भने मुलुक राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप