मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डलर कार्डका लागि प्यान नम्बर अनिवार्य, कसरी लिने, कति लाग्छ खर्च ?

बुधबार, १८ चैत २०७७, १६ : ३४
बुधबार, १८ चैत २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत ५ सय डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने बनाउन बैंकहरुलाई निर्देशन दिएसँगै बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका छन् । विभिन्न नाममा जारी भएको प्रिपेड कार्डबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिन्छ । 

यस्तो कार्ड जारी गर्नेमा एनएमबी बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक (ग्लोबल इनकम डलर कार्ड), सनराइज बैंकको इ—कार्ड, माछापुच्छ्रे बैंकको स्मार्ट एमबिएल डलर कार्ड, एनआइसी एसिया बैंक, नेपाल बंगलादेश बैंक लगायत छन् । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले एनआइबिएल भि प्रिपेड इन्टरनेशनल कार्ड, हिमालयन बैंकको डलर प्रिपेड कार्ड रहेको छ । अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न सकिन्छ ।
प्रिपेड कार्डबाट नेटफ्लिक्स, अमेजन जस्ता प्लेटफर्मका भुक्तानी गर्न सकिनेछ ।  सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैंले भुक्तान गरी तत्कालै प्रबद्र्धन गर्न सकिनेछ । यस कार्डमार्फत सपिङ्ग, शिक्षा लगायत भुक्तानी हुन्छ । उक्त कार्ड विदेशी वस्तु तथा सेवाको खरिदको भुक्तानी बाहेक अन्य पूँजीगत कारोबारको लागि भने खर्च गर्न पाइनेछैन ।

कति लाग्छ शुल्क ?

प्रिपेड कार्ड जारी गर्दा लाग्ने शुल्क बैंकहरुनै पिच्छे फरक पनि हुनसक्छ । सबैले एउटै शुल्कमा कार्ड जारी गर्नुपर्ने प्रावधान नभएकाले बैंकहरुले आ–आफ्नै तरिकाले शुल्क निर्धारण गरेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार शुल्क बैंकहरू आफैंले निर्धारण गर्ने बताउँछन् । 

उक्त कार्ड जारी गर्दा एनआइसी एसियाले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा भने निःशुल्क हुने व्यवस्था समेत गरेको छ । यता एनएमबी बैंकले ५ वर्षसम्मको अवधिका लागि यस्तो कार्ड जारी गर्ने गरेको छ ।  यसरी कार्ड जारी गर्दा कार्डको शुल्क ५ सय रुपैयाँ लिइन्छ भने अर्को ५ सय रुपैयाँ बार्षिक कारोबार शुल्क लिइन्छ । त्यसपछि बीच–बीचमा रकम भुक्तानी गर्दा शुल्क काटिँदैन ।

यस्तै नबिल बैंकले भने कार्ड जारी गर्दाको बखत एकहजार रुपैयाँ शुल्क लिन्छ भने त्यसपछि वार्षिक शुल्क भनेर कुनै शुल्क नलिने बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली बताउँछन् ।  यसले ४ वर्षको लागि कार्ड जारी गर्नेछ । अर्थात नबिल बैंकले जारी गर्ने कार्डको म्याद ४ वर्षको हुनेछ ।

ग्लोबल आइएमई बैंकमा खाता भएका ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर ५ सय रुपैयाँ सेवा शुल्क तिरेर डलर कार्डको सुविधा लिन सक्नेछन् । बैंकहरू अनुसार शुल्क भने फरक फरक निर्धारण गरिएको छ  । कतिपय बैंकले बीचमा कारोबार गर्दा पनि शुल्क काट्न  सक्छन् । तर त्यस विषयमा ग्राहकले पहिले नै बैंकसँग जानकारी लिन सक्छन् । कार्ड बनाएकै दिनलाई आधार मानेर सोही अनुसारको विनिमय दर अनुसार पर्न जाने रकम (५ सय डलर) कार्डमा लोड हुन्छ । सो रकम एक वर्षभरिमा कारोबार गर्न सकिन्छ । यद्यपि सो रकम एक वर्षमै सकाउनै पर्छ भन्ने चाहिं होइन । यो एक वर्षको अधिकतम सिमा मात्र भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

डलर कार्डका लागि प्यान नम्बर अनिवार्य 

कुनै पनि नेपाली नागरिकले ५ सय डलरसम्मको वार्षिक कारोबार गर्ने गरी प्रिपेड कार्ड जारी हुन्छ ।  पहिला पनि डलर कार्ड हुन्थ्यो तर विदेश जानुपर्ने अवस्था वा अन्य अवस्थामा मात्र प्रयोग गरिन्थ्यो । तर अन्तर्राष्ट्रिय भुक्तानीको लागि भने व्यवस्था थिएन ।

सामान्य खाता खोल्दा जे जस्ता कागजात चाहिन्थ्यो त्यही कागजातले खाता खुल्नेछ । तर, यसमा प्यान नम्बर भने अनिवार्य चाहिन्छ । प्रचलित कानुनअनुसार आफूले सो रकम खर्च गर्ने भनी स्वघोषणाको फारम पनि ग्राहकले भर्नुपर्छ ।  एउटा कार्ड लिइसकेपछि अर्को बैंकबाट नलिएको, नलिने प्रतिबद्धता, प्रचलित ऐन, कानुनभन्दा बाहिर रकम प्रयोग नगर्ने प्रतिबद्धता वा गरेको पाइएमा कारबाही भोग्न तयार छु भन्ने आसय स्वघोषणामा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप