बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

म्यानमारमा जस्तै हामीलाई पनि गोली हानिएको थियो : लक्ष्मणलाल कर्ण

बुधबार, १८ चैत २०७७, १४ : १९
बुधबार, १८ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा भएको लोकतन्त्रविरोधी कदमलाई नेपालको मधेस आन्दोलनसँग तुलना गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कर्णले म्यानमारमा भइरहेको घटनाप्रति लोकतान्त्रिक मुलुकको नागरिक भएका कारण आफ्नो ध्यानाकर्षण भएको बताए । म्यानमारमा निर्वाचित सरकार विघटन गरेर सैनिकले ‘कु’ गरेको, त्यसको प्रतिरोधमा उत्रिएका जनतालाई गोली हानिरहेको उनले बताए । ‘त्यहाँ सानो अवधिमा ८०० मानिसको मृत्यु भइसकेको छ,’ उनले भने, ‘हामी पनि यसै किसिमबाट शान्तिपूर्ण रुपमा मधेस आन्दोलन गरिरहेका थियौं, हामीमाथि पनि छातीमा, टाउकोमा गोली हानियो ।’

यी दुवै घटना बीचको फरक छुट्याउँदै उनले भने, ‘मधेस आन्दोलनमा ६ महिनामा १०५ जना मारियौं भने त्यहाँ (म्यानमारमा) एक महिनामा ८०० भन्दा बढी मारिए ।’ जहाँ लोकतन्त्रको हत्या भएको छ, त्यसको बारेमा यो संसद र सरकारले बोल्नुपर्ने उनले बताए । मानवअधिकार र लोकतन्त्रका लागि बोल्नुपर्ने, लड्नुपर्ने स्थिति विद्यमान रहेको उनको भनाइ थियो ।

कोरोनाको दोस्रो लहर खतरनाक ढंगले बढ्दै गरेको भए पनि सबैलाई खोपको उपलब्धता नभएको, काठमाडौंमा वायुप्रदुषणको अवस्था भयावह रहेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।  वायुप्रदुषणबाट बच्नका लागि सरकारले घरमै बस्न भनेकोतर्फ संकेत गर्दै उनले भने, ‘त्यसो भए सबै जनता घरमै बसिरहने ? घरमा बसेर जनताको जीवन चल्न सक्दैन ।’

उनले यसै सम्बन्धमा एउटा रोचक किस्सा पनि सुनाए । उनले भने, ‘एउटा मानिसले डाक्टरलाई आफ्नो समस्या सुनाउँदै भनेछ, मैले सास फेर्दा दुख्छ । डाक्टरले उसलाई सजिलो उपाय दियो– सास फेर्न बन्द गर्नुस् दुखाइ बन्द हुन्छ ।’
सरकारले प्रदूषणबाट बच्नका लागि जनतालाई घरमै बस्न गरेको आग्रह सोही प्रकृतिको रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप