बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जसपा विभाजित होला कि जोगिएला ?

महन्थ र उपेन्द्र यादवमाथि पार्टी एकता जोगाउने चुनौती
बुधबार, १८ चैत २०७७, १२ : ०६
बुधबार, १८ चैत २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल  फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई समर्थन गर्ने विषयमा पार्टी फुटको संघारमा पुगेको हो ।एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गर्ने भन्ने विषयमा जसपा नेपालमा विवाद बढेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भन्दै आएका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको माग जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग नियमित छलफल गर्दै आएका छन् । 

‘उपेन्द्र यादव आफ्नो अडानमा यस्तै रहिरहने हो भने पार्टी विभाजन हुन्छ,’ अध्यक्ष ठाकुरनिकट एक नेताले भने, ओलीको नेतृत्वमा सरकार बन्दा उपेन्द्र यादव त्यसमा सहभागी हुन मिल्ने, तर आज ओलीले जसपा नेपालका सबै माग पूरा गरे भने उनलाई समर्थन गर्न किन नहुने ?’

‘उपेन्द्र यादवको यस्तै बानीले गर्दा पार्टी पटक–पटक विभाजन भएको छ,’ जसपाको ती नेता भन्छन्, ‘आफूले गर्दा ठीक, अरुले गर्दा बेठीक ? उहाँको यही अडान रह्यो भने जसपा नेपाल विभाजित हुन्छ ।’

सन् २००९ मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पार्टीभित्र विजयकुमार गच्छदारसँग विवाद हुँदा पार्टी विभाजन भएको थियो । उपेन्द्र यादव प्रचण्डको पक्षमा थिए भने गच्छदार माधव नेपालको पक्षमा थिए । अहिलेको जस्तै त्यतिबेला पनि दुईतर्फी अडान लिँदा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल विभाजित भएको थियो ।

त्यसपछि पनि सरकारमा जाने वा कसलाई समर्थन गर्ने÷नगर्ने विषयमा विवाद हुँदै गर्दा जेपी गुप्ताले पनि पार्टी विभाजन गरेका थिए । अमर यादव, भाग्यनाथ गुप्तालगायत पनि उपेन्द्र यादवबाट पार्टी विभाजन गरेर अलग भएका थिए ।

पछिल्लो समय रेणु यादवको नेतृत्वमा पार्टी विभाजन हुनै लागेको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तारतम्य मिलाएका थिए । दल फुटाउने अध्यादेश ल्याएर रातारात जसपा फुटाएर अर्को दल दर्ताको तयारी भइरहेको थियो । एमालेका महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजी सर्वेन्द्र खनालले जसपा विभाजनकै लागि सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा मधेसबाट काठमाडौं ल्याएका थिए । 

 तर, केपी ओलीको योजना वीचैमा पर्दाफास भएपछि ०७७ बैशाख १० गते तत्कालीन राजपा  र संघीय समाजवादीबीच एकीकरण भयो र राजपा बन्यो । सोही एकीकरणका कारण पार्टी विभाजनबाट जोगियो । पार्टी एकीकरण हुँदैगर्दा पार्टी विभाजन गरियो भने मधेसमा राम्रो सन्देश नजाने भएकाले रेणु यादवहरू पनि पार्टी विभाजन गर्नबाट पछि हटे ।

तर, अहिले जसपा नेपाल पुरानै अवस्थामा आइपुगेको छ । उपेन्द्र यादव र महन्थ ठाकुरले बुद्धि पुर्याएनन् भने पार्टी विभाजन निश्चित जस्तै भएको जसपाका नेताहरु बताउँछन् ।

पार्टीलाई विभाजनबाट रोक्नका लागि उपेन्द्र यादवले पनि केपी ओलीलाई समर्थन गर्नुपर्ने वा सो प्रकृयामा मौन बस्नुपर्ने माग महन्थ निकट नेताहरुको छ ।

त्यस्तै, महन्थ ठाकुरले पनि जसपा विभाजन हुनबाट रोक्न ओलीलाई समर्थन दिने अडान त्याग्नुपर्ने र कांग्रेस–माओवादीको गठबन्धनमा आउनुपर्ने नेताहरु बताउँछन् ।

जसपा नेपालका अध्यक्ष ठाकुरले भने आफूहरुको माग जसले पूरा गर्छन् उसैलाई साथ दिने बताउँदै आएका छन्, जुन कुरा पटक–पटक सार्वजनिक भएको छ । यसै आधारमा प्रधानमन्त्री ओलीले रेशम चौधरीलाई रिहाइ गर्ने लगायतका मागहरु पूरा गर्ने प्रकृया सुरु गरिसकेका छन् । जसपाका माग पूरा गर्ने प्रकृया सुरु गरिसकेको अवस्थामा ओलीलाई धोका दिन नमिल्ने ठाकुर निकट नेताहरु बताउँछन् ।

जसपा नेपालको माग प्रचण्डले पनि पूरा गर्ने भनिरहेका छन् । तर, अहिले प्रचण्डका हातमा सरकार आउने ग्यारेन्टी छैन । ओली चाहिँ सत्तामा छन् र यही कार्यकालमा जसपा नेपालले उठाएको माग पूरा गर्न उनी तयार भएको महन्थ ठाकुर पक्षधर नेताहरुको बुझाइ छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ल जसपा नेपाल कुनै पनि हालतमा विभाजन नहुने दाबी गर्छन् । उनी भन्छन्, प्रधानमन्त्री ओली विगतमा भन्दा अहिले मधेसप्रति सकारात्मक हुनुभएको छ, जसपालाई ओली होइन, ओलीलाई जसपा चाहिएको जस्तो अवस्था सिर्जना भएको छ । मधेसको माग पूरा गराउन जसपा एकमत छ, पार्टी विभाजन गर्ने जस्ता घृणित काम कसैबाट हुँदैन ।’

कसैले आफ्नो स्वार्थ अनुसार केही बोलेको भए पनि त्यही आधारमा पार्टी विभाजन हुन्छजस्तो आफूलाई नलागेको शुक्ल बताउँछन् ।

‘ओलीलाई अहिले समर्थनको आवश्यकता होइन, विरोधको आवश्यकता छ, उनी संसद विघटन गरेर चुनाव गराउन चाहन्छन्,’ सरकारसँग वार्ता गर्न बनेको कार्यदलको सदस्य समेत रहेका शुक्लले भने, ‘ओली चाहनुभएको छ कि मेरो विरुद्धमा कुनै सरकार नबनोस् र मलाई विश्वासको मत पनि प्राप्त नहोस् । यो रणनीतिमा उहाँ लाग्नुभएको छ ।’

ओलीले जसपाको माग पूरा गर्नुको मतलव पनि जसपाले आफूलाई तान्ने नभएर माओवादी केन्द्रलाई समर्थन नगरोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको शुक्लको विश्लेषण छ । उनी भन्छन् ‘हामीले अहिले कुनै निर्णय लिएका छैनौं । हाम्रो अहिलेको एउटै लक्ष्य हो– मधेसको माग पूरा गराउनु ।’

माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले संसदमा एक महिनाभित्र विश्वासको मत सिद्ध गर्नुपर्छ । त्यसबेला जसपा नेपालले के गर्ला ? जसपाका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले रेशम चौधरी लगायतलाई रिहा गरेर अन्य माग पनि पूरा गर्ने भनी प्रकृया सुरु गरेको अवस्थामा महन्थ ठाकुरहरुले ओलीलाई समर्थन गर्न सकिँदैन भन्न सक्नुहुन्न । बाध्य भएर दल विभाजन गरेर भएपनि ओलीलाई समर्थन गर्नेछन् ।’

उता, उपेन्द्र यादवले समर्थन फिर्ता लिनुस्, अविश्वासको प्रस्तावमा जसपा नेपालबाट समर्थन हुन्छ भनेर प्रतिवद्धता जनाइसकेका छन् ।  संसद विघटनजस्तो प्रतिगामी कदम उठाएका कारण कुनै पनि हालतमा ओली सरकारमा रहनुहुँदैन भनेर यादवले पटक–पटक भन्दै आएका छन् । यो अवस्थामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओलीलाई समर्थन गर्ने सम्भावना देखिँदैन ।

जसपा नेपालसँग प्रतिनिधिसभामा ३४ सांसद छन् । यीमध्ये ३२ जनाले मतदान गर्न पाउँछन् ।

पार्टी विभाजन हुने अवस्था आएमा तत्कालीन समाजवादी पार्टीका आठ जना सांसदले महन्थ ठाकुरलाई साथ दिने तयारी अवस्थामा छन् । त्यसमध्ये एक÷दुई जना यताउति हुन सक्ने महन्थ निकट नेताहरु बताउँछन् ।

उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले जसपाका सांसदहरुलाई बोलाएर कन्भिन्स गर्ने प्रयास गरिरहेका छन् । ओलीका कारण देशमा कसरी संघीयता खतरामा छ, लोकतन्त्र मास्न के के कदम चाले, संविधान संशोधनका बाधक कसरी भए लगायतका कुराहरु सांसदलाई बुझाउने प्रयास गरिरहेका छन् । त्यस्तै, महन्थ ठाकुर र राजेन्द्र महतोले पनि आफ्ना पक्षमा सांसदहरुसँग नियमित छलफल गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप