शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बच्चालाई गम्भीर रुपमा बिरामी पार्ने कोरोनाभाइरसको नयाँ रुप चाँडै आउने अमेरिकी विशेषज्ञको दाबी

बुधबार, १८ चैत २०७७, ११ : ५४
बुधबार, १८ चैत २०७७

अमेरिकामा दैनिक करिब २० लाख मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाइँदै छ । धेरैजसो देशले उच्च जोखिममा रहेका आफ्ना नागरिकलाई खोप उपलब्ध गराइरहेका छन् । बालबच्चाका लागि कुनै पनि देशले कोरोनाको खोप उपलब्ध गराएको छैन । तर केही विशेषज्ञका अनुसार कोरोनासँग अन्तिम लडाईं जित्नका लागि बच्चालाई पनि खोप लगाउन अत्यावश्यक छ । यसो नगरे कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला पर्ने र यसले बच्चाहरुलाई गम्भीर रुपमा बिरामी बनाउने उनीहरुको दाबी छ ।

अमेरिकाको ब्रिघम एन्ड विमन्स हस्पिटलको डिपार्टमेन्ट अफ इमर्जेन्सी मेडिसिनका डाक्टर जेरेमी स्यामुअल फस्ट र जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा सेन्टर फर ग्लोबल हेल्थ साइन्सका भायरोलोजिस्ट डा. एन्जेला रासमुसेनका अनुसार बच्चामा कोरोनाका गम्भीर मामिला निकै कम हुँदा हुँदै पनि उनीहरुलाई दुई प्रमुख कारणले तीब्र रुपमा भ्याक्सिन दिन आवश्यक छ ।

पहिलो कारण – बच्चामा कोरोनाको लामो समयकाका लागि देखिने असर (जस्तै इन्फ्लेमेटरी सिन्ड्रोम) का जति पनि मामिला देखिए, ती निकै गम्भीर देखिए । यद्यपि, यसको संख्या निकै कम छ ।

कोरोनाका अन्य थुप्रै प्रभावको विषयमा स्थिति अझै स्पष्ट छैन । यसको कारण यो हो कि बच्चामा कोरोनाको धेरैजसो संक्रमण असिम्टोमेटिक (बिना लक्षणका) छन् । यस्तो स्थितिमा आमा–बुवालाई बच्चामा कोरोना भए नभएको थाहा नै हुँदैन । यो दोस्रो कारण सबैभन्दा महत्वपूर्ण छ, तर यसमा सबैको कम ध्यान छ ।

विशेषज्ञका अनुसार वास्तवमा, भाइरस फैलिरहने र यो थप खतरनाक रुपमा म्यूटेट अर्थात् परिवर्तित हुने कुराको पूरा सम्भावना छ । यस्तो कुनै एक वा एकभन्दा बढी म्यूटेशनले बच्चालाई पनि हानी पुर्‍याउन सक्ने खालका हुनसक्छन् ।

हाल बच्चामा कोरोनाको असर कम तर पछि पनि हामी भाग्यमानी हुन्छौं नै भन्ने छैनः

भाइरसका केही नयाँ भेरियन्ट बेलायत, दक्षिण अफ्रिका, ब्राजिल र क्यालिफोर्नियामा भेटिइसकिएका छन् । महामारी वैज्ञानिकले यी भेरियन्टमाथि निगरानी राखिरहेका छन् । यीमध्ये केही, पुराना भेरियन्टसको तुलनामा तीबू रुपमा फैलने किसिमका छन् । यस्तै बेलायतमा भेटिएको बी १.१.७ भेरियन्टमा मृत्युदर बढी पाइएको छ । यद्यपि, राम्रो कुरा यो हो कि हालको भ्याक्सिनले यी नयाँ भेरियन्टविरुद्ध पनि काम गरिरहेको छ ।

दुबै अमेरिकी विशेषज्ञले भने, ‘हामी भविष्यमा देखा पर्ने कोरोना भाइरसको भेरियन्ट्सको विषयमा यति नै भाग्यमानी हुन्छौं भन्ने छैन । भाइरस जति धेरै फैलन्छ, त्यसका त्यति नै बढी भेरियन्ट भेटिनेछन् । ती बढी नै खतरनाक हुनेछन् ।’

बच्चामार्फत् नै कोरोना भाइरसका यस्ता भेरियन्ट भेटिनेछन् जसले बच्चालाई नै गम्भीर रुपमा बिरामी पार्न सक्छ । विशेषगरी, जब वयस्कमा भ्याक्सिनेसनका कारण भाइरस हुर्कनका लागि राम्रो होस्टको आवश्यकता पर्छ । वयस्कमा खोपका कारण भाइरसका लागि बच्चाहरु नै बन्नेछन् सबैभन्दा सुरक्षित स्थान । डा. जेरेमी र डा. एंजेलाले भयावह स्थिति पैदा नहोस् भन्नका लागि बच्चालाई छिटोभन्दा छिटो खोप लगाउन अत्यावश्यक भएको बताएका छन् ।  

हर्ड कम्युनिटीका लागि बच्चालाई खोप दिन आवश्यकः

संक्रामक रोगका चर्चित अमेरिकी विशेषज्ञ डा. एन्थोनी फाउचीसमेत थुप्रै विशेषज्ञले हर्ड इम्युनिटी हासिल गर्नका लागि बच्चालाई खोप लगाउन आवश्यक भएको बताएका छन् ।

कोरोना भ्याक्सिन बच्चाका लागि सुरक्षित छ छैन भन्ने विषयमा क्लिनिकल ट्रायल चलिरहेको छ तर ट्रायल्सबाट कुनै ब्लकबस्टर नतिजा सार्वजनिक हुनेवाला छैन भन्ने कुरामा हामी तयार हुनुपर्छ ।

हामीलाई सायद थाहा नहोला कि बच्चामा यो गम्भीर संक्रमण रोक्नका लागि यो खोप कति प्रभावकारी हुनेछ किनभने सौभाग्यले यतिबेला संक्रमित बच्चाको संख्या त्यति धेरै छैन ताकि यसबारे सही नतिजा दिने ट्रायल गर्न सकियोस् ।

अमेरिकामा बच्चाका लागि चलिरहेको ट्रायल्सको फोकस भ्याक्सिन सुरक्षित छ छैन र त्यसबाट इम्युनिटी पैदा हुने नहुने भन्ने विषयमा हुनेछ । अर्थात्, ट्रायलमा यो भ्याक्सिन बच्चाका लागि सुरक्षित छ त ? भन्ने पत्ता लगाउने कोसिस गरिनेछ । साथै, भ्याक्सिनको कति खुराकले कुनै साइड इफेक्ट बिना पर्याप्त इम्यूनिटी पैदा गर्छ भन्ने बारे पनि अनुसन्धान गर्नेछ ।

यद्यपि, नकारात्मक कुरा यो हो कि यी ट्रायल्सको सकारात्मक नतिजा आएपछि पनि आमा–बुवा आफ्ना बच्चालाई छिट्टै भ्याक्सिन लगाउन तयार हुनेछैनन् किनभने उनीहरुलाई लाग्छ कि उनीहरुका बच्चा सुरक्षित छन् ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप