शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेलबिरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न निवेदन दर्ता

प्रदेश संसदीय दलको बैठक आज काठमाडौँमा बस्दै
बुधबार, १८ चैत २०७७, १० : ११
बुधबार, १८ चैत २०७७

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता भएको छ । मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता गराएका हुन् ।

संसद सचिवालयमा दर्ता भएको निवेदनमा माधव नेपाल पक्षका २३ जना प्रदेशसभा सदस्यमध्ये २० जनाले निवेदनमा हस्ताक्षर गरेका छन् भने ३ जना सदस्यहरुको निवेदन आज सचिवालयमा दर्ता हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

खड्काका अनुसार नेकपा माओवादी केन्द्रले भने अविश्वास प्रस्ताव फिर्ताबारे आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन । मंगलबार दर्ता भएको अविश्वास प्रस्ताव फिर्ताबारेको निवेदनमा पनि एमालेका प्रदेशसभा सदस्यहरुले मात्र हस्ताक्षर गरेको उनले बताए ।

सचिवालयमा दर्ता भएको निवेदन कार्यव्यवस्था परामर्श समितिमा छलफलको लागि पठाइने र कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार थव प्रकृया अगाडी बढ्ने सचिव खड्काले बताए ।

गत पुस १० गते तत्कालिन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।

गत माघ ९ गते संसदमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल भए लगतै स्थगित भएको प्रदेशसभा बैठक २ पटक बोलाइयो तर बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । त्यस यता प्रदेशसभाको सातौँ अधिवेशन बैठक बस्न सकेको छैन ।

प्रदेशसभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

सर्वोच्च अदालतले फागुन २३ दिएको फैसलाले प्रदेशमा नेकपा एमालेको सरकार जोगाउनु पर्ने नैतिक दबाब बढेकाले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयमा पुगेको पूर्वमन्त्री नेपालले बताए ।

‘परिस्थिति पहेलेको जस्तो रहेन, वर्तमान परिस्थितिका कारण आफ्नै पार्टीको सरकार गिराउन हाम्रो नैतिकताले पनि दिएन त्यसैले हामी अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयमा पुगेका हौं ।’ उनले भने । 

सचिवालयमा दर्ता भएको निवेदनमा उल्लेख भए अनुसार प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम ६७ को उपनियम(१) बमोजिम हामीले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी सूचना यस सचिवालयमा दर्ता गर्दछौँ ।

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक आज काठमाडौँमा बस्दैछ । बैठक काठमाडौंको च्यासलमा दिउसो १ बजे बस्ने बागमती प्रदेशसभा सदस्य जुनेली माया श्रेष्ठले बताइन् ।

बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेशसभाको आगामी बैठक र योजना बारे छलफल हुने उनले बताइन् । बैठकमा अविश्वास प्रस्ताव दर्ता गराएका माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप