बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा कारवाही प्रकरण : लुम्बिनी प्रदेशमा हलचल

नेता–कार्यकर्ताहरुको मिश्रित प्रतिक्रिया
बुधबार, १८ चैत २०७७, ०९ : ३१
बुधबार, १८ चैत २०७७

बुटवल । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीले कारवाही गरेपछि लुम्बिनी प्रदेशमा पनि हलचल मच्चिएको छ । लुम्बिनी प्रदेशमा एमालेको राम्रो पकड छ । एमालेमा कायम रहेको गुटबन्दी अनुसार लुम्बिनी प्रदेशमा पनि नेता तथा कार्यकर्ताहरु अध्यक्ष केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षमा विभाजित छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताद्वय नेपाल र रावललाई बुधबार ६ महिने निलम्बनको घोषणा गर्नुपूर्व लुम्बिनी प्रदेशकै अर्घाखाँची जिल्लामा नेकपा एमालेको समानान्तर कमिटी गठन भएको थियो ।

लुम्बिनी प्रदेशमा एमालेका दुवै खेमाका प्रभावशाली नेताहरु छन् । सोहीअनुसार नेता–कार्यकर्ताले पनि नेपाल र रावलमाथिको कारवाहीमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।

पार्टीले दुई नेतालाई कारवाही गरेसँगै पार्टी विभाजनको सम्भावना बढेको एकथरी नेता–कार्यकर्ता बताउँछन् भने अर्का थरीले पार्टी हितविपरीत काम गर्नेलाई कारवाही गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल पक्षका एमाले नेता सिद्धिचरण भट्टराईले यो कारवाही प्रकरणसँगै एमाले कसको भन्ने आधिकारिक विवाद सुुरु भएको बताए । जिल्ला–जिल्लामा दुवै पक्षका कार्यकर्ता रहेको उल्लेख गर्दै उनले यसैगरी अघि बढ्ने हो भने वास्तविक एमाले को हो भन्नेमा छलफल र बहस चल्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले माधव नेपाल र भीम रावलमाथि कारवाही नै गर्ने हो भने पनि केन्द्रीय समिति, स्थायी कमिटी बैठक राखेर निर्णय गर्नुपर्नेमा भर्खरै माओवादी छाडेर एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहितको बैठकले कारवाही गरेपछि एमाले को हो भन्नेबारे स्वाभाविक रुपमा प्रश्न उठ्ने उनको भनाइ छ । उनले प्रश्न गरे, ‘यस्ता कुराले पार्टीलाई अब कता पु¥याउँछ ? एमालेका साथीहरुले आपसमा सल्लाह गरेर पार्टीलाई मजबुत बनाउने कि एक अर्कालाई सिध्याउने मनसायले काम गर्ने हो ?’

अदालतको फैसलाअनुसार एमाले साविककै अवस्थामा फर्किएपछि साविककै कमिटीबाट निर्णय गर्न छाडेर अध्यक्ष केपी शर्मा ओली नयाँ ढङ्गबाट अघि बढ्न खोजेको भन्दै उनले पार्टी र राष्ट्रका लागि यसले नोक्सान गर्नसक्ने बताए । ओलीका यस्ता गलत गतिविधिलाई सबै मिलेर रोक्नुपर्ने उनको भनाइ छ ।

एमाले रुपन्देहीका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ विगतमा माधव नेपाल पक्षधरका रुपमा चिनिएका थिए । तर पछिल्लो समय ओली पक्षतिर लागेका उनी ओलीले अहिले गरेका निर्णय सही भएको दावी गर्छन् ।

एमालेभित्र बसेर छलफल, बहस गर्न सकिने भए पनि गुटबन्दी गर्दै समानान्तर कमिटी गठन गर्नु गलत भएको उनको भनाइ छ । जनताले पाँच वर्षसम्म कम्युनिस्ट सरकार बनाउने म्यान्डेट दिए पनि नेतृत्व तहमा स्वार्थ बाझिएपछि कम्युनिस्ट आन्दोलनलाई नै धक्का लाग्ने गरी पार्टी टुक्रिन थालेको उनले बताए । अहिले पार्टीमा देखिएको समस्याले चुनाव र महाधिवेशनमा समेत असर पर्ने भन्दै उनले त्यो बेलासम्म एकता गर्न सकिने सम्भावना पनि कायमै रहेको उल्लेख गरे ।

सांसद विष्णु पन्थी भने माधव नेपाल र भीम रावलमाथि भएको कारवाहीलाई गलत मान्छन् । यस्तो कारबाहीले पार्टीलाई एकताबद्ध होइन, थप द्वन्द्व निम्त्याउने उनले बताए ।

सर्वोच्च अदालतको आदेशअनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने उनको भनाइ छ । नेताहरुमाथिको कारबाहीले देशभरी असर पर्ने भन्दै उनले अब कसरी अघि बढ्ने भन्नेबारे आफूहरुले छलफल गरिरहेको बताए ।

दाङका एमाले नेता टीकाराम खड्का अलोकतान्त्रिक तरिकाले नेताद्वय नेपाल र रावलमाथि कारवाही गरिएको बताउँछन् । सर्वोच्च अदालतको फैसलाअनुसार एमाले क्रियाशील भएपछि पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा अध्यक्ष ओली आफ्नो त्यो दायित्वबाट चुकेको उनले बताए ।

‘आफ्नो भूमिकालाई बिर्सेर पार्टीभित्रका साथीहरूमाथि यसरी नै कारवाही गर्दै जाँदा पार्टी विभाजनसमेत हुन सक्छ, त्यो अवस्थामा एमाले विभाजनको जिम्मा ओलीले लिनुपर्छ,’ उनले भने । ओलीले आफ्ना गलत कार्यलाई  तत्काल नसच्याए देशभरीका कार्यकर्ताबाट विद्रोह हुने र त्यसले कम्युनिस्ट आन्दोलन कमजोर हुने उनको भनाइ छ ।

एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत भने माधवकुमार नेपाल र भीम रावलले पार्टी हितविपरीत काम गरेकाले कारवाही गर्नु परेको तर्क गर्दछन् ।

‘पार्टी अध्यक्षले बोलाएको बैठकमा नगएर गुटगत भेला, कमिटी गठन गर्न जाने भएपछि कारवाही गर्नु स्वाभाविक हो,’ उनले भने, ‘माधव नेपाल भन्दैमा कारवाही गर्नै हुँदैन भन्ने होइन, अनुशासनहीन तथा पार्टी हितविपरीत काम गर्ने जोसूकैलाई कारवाही गर्नुपर्छ ।’

यस्ता घटनाले कम्युनिस्ट आन्दोलनलाई केही समयका लागि नोक्सान हुने भए पनि दीर्घकालीन रुपमा पार्टीलाई विधि र विधानमा चल्न सक्षम बनाउने उनको ठम्याइ छ ।

अर्घाखाँचीमा नेपाल पक्षले हाली गठन गरेको समानान्तर जिल्ला समितिका रामबहादुर चौहानले माधवकुमार नेपाल र भीम रावलभन्दा पहिला आफुहरुमाथि ओली पक्षले कारवाही गरेको जिकिर गर्दै यस्ता कारवाहीको केही अर्थ नरहेको बताए ।

प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक कदमको विरोध गर्दा कारवाही भएको भन्दै उनले यस्ता कारवाहीबाट आफूहरु नतर्सिने प्रस्ट पारे । उनले ओलीले गरेका गलतको काम विरोध गर्ने जिम्मा अब आफुहरुको काँधमा आएको बताए । देशभर अब एमाले पुनर्गठन गरिने उनको भनाइ छ ।

विधि, विधानबाट काम गर्न नसक्ने ओलीका यस्ता कारवाहीलाई महत्त्व दिनु नपर्ने प्रस्ट पार्दै उनले ओलीलाई अलोकतान्त्रिक काम गर्ने व्यक्तिको रुपमा जनताले बुझेको बताए ।

अर्घाखाँचीकै ओली पक्षका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले पार्टीभित्र गलत तत्वहरु फाल्नुपर्ने आवश्यकता देखिएकाले कारवाही गरिएको बताए । उनले माधवकुमार नेपाल र भीम रावलले पार्टीको विधि नमानेपछि कारवाही गरिएको बताए । केन्द्रमाजस्तै जिल्लामा पनि अर्को कमिटी गठन गर्नेहरुलाई कारवाही गरिएको उनको भनाइ छ ।

गलत काम गर्नेहरु, पार्टी र सरकारलाई काम गर्नमा अवरोध गर्नेहरुमाथि कारवाही गर्नुपर्ने बाध्यता देखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप