सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र प्रचण्डबीच आधा घण्टा के भयो कुराकानी ?

मङ्गलबार, १७ चैत २०७७, २२ : ०६
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो तीन बजेतिर देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो । 

भेटवार्ताबारे देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीसँग भने, 'समसामयिक विषयमा कुराकानी भयो । खास प्रस्ताव केही रहेनछ । संसद विघटन विरुद्ध संघर्षमा उत्रिएका दलहरु मिलेर नयाँ सरकार बनाउनु पर्ने भनेर उहाँले पुरानै कुरा दोहोर्याउनु भयो । यो कुरा सधै भएकै हो । फेरि सल्लाह गरेर कुरा गरौंला ।'

उनका अनुसार पहिला सरकारबाट समर्थन फिर्ता लिन देउवाले प्रचण्डलाई सुझाएका थिए । प्रचण्डसँगको भेटमा देउवाले भनेका थिए , 'पहिला समर्थन फिर्ता लिनुहोस् । त्यसपछि बल्ल नयाँ सरकार गठनबारे प्रक्रिया सुरु हुन्छ ।' 

भेटमा प्रचण्डले समर्थन फिर्ता लिने भन्दा पनि अविश्वासको प्रस्ताव दर्ता गराउने कुरामा जोड दिएका थिए । यद्यपि प्रचण्डले समर्थन फिर्ता लिने कुरामा कुनै समस्या नरहेको बताएका थिए । 'केपी ओली सरकारलाई समर्थन दिराख्न मलाई कुनै रहर होइन । प्रतिगमनविरुद्ध आन्दोलित भएका दलहरुबीच न्युनतम सहमति भएपछि भोलि नै समर्थन फिर्ता लिन सकिन्छ,' प्रचण्डको भनाइ थियो ।

काँग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव दर्ता वा समर्थन फिर्तापछि नयाँ सरकार निर्माण गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) एक ढिक्का हुन आवश्यक रहेको बताएका थिए । ओली सरकारको विकल्प दिने कुरामा काँग्रेस तयार रहेको तर त्यसका लागि परिस्थिति परिपक्व भई नसकेको देउवाको भनाइ थियो । 

'पहिलो परिपक्व परिस्थिति निर्माण गरौ । जसपा एक ढिक्का हुनुपर्यो । काँग्रेसले चाहेर मात्र सरकार बन्ने अवस्था छैन यो कुरा तपाईले बुझ्नु नै भएको छ । अर्कातिर तपाई आफै प्रस्ट हुनुभएको देखिँदैन,' देउवाको भनाइ उद्धृत गर्दै भानुले भने ।

उनका अनुसार देउवाले आगामी राजनीतिक दिशाबारे प्रस्ट ढंगले अगाडि आउन पनि प्रचण्डलाई आग्रह गरेका थिए । देउवाले भने, 'समर्थन फिर्ता लिनु भएको छैन । नेकपा खारेजी विरुद्ध उता सर्वोच्च अदालत पुग्नु भएको छ । यता ओलीलाई हटाउनु पर्यो भनेर लाग्नु भएको छ । तपाईको खेल बुझिनसक्नु छ । यसमा प्रस्ट पार्नुहोस् ।'

जवाफमा प्रचण्डले त्यो आन्तरिक विषय भएको भन्दै सत्ता समीकरणमा कुनै प्रभाव नपर्ने जनाएका थिए । 

यस्तै प्रचण्डले देउवासँग नयाँ सरकार गठन गर्ने /नगर्नेबारे फाइनल निर्णय दिन आग्रह गरेका थिए । तर देउवाले भने एक पटक पार्टी र जसपाका नेताहरुको छलफलपछि मात्र निर्णय लिने जवाफ दिएका थिए । 

बूढानीलकण्ठबाट निस्किएर प्रचण्ड जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप