सिजनकाे अन्त्यमा अगुएरोले सिटी छाड्ने
स्ट्राइकर सर्जियो अगुएरोले यो सिजनको अन्त्यमा क्लब छाड्ने म्यानचेस्टर सिटीले जनाएको छ । यो सिजनको अन्त्यपछि अर्जेन्टिनी खेलाडी करारविहीन बन्दैछन् । उनले नयाँ करारमा हस्ताक्षर नगर्ने क्लबले स्पष्ट पारेको हो ।
अगुएरो सन् २०११ मा एथ्लेटिको म्याड्रिडबाट सिटीसँग आबद्ध भएका थिए । उनले क्लब छाड्ने खबरसँगै बार्सिलोना र पेरिस सेन्ट जर्मेनले उनलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।
यो सिजन चोटका कारण अगुएरोले प्रिमियर लिग र च्याम्पियन्स लिगका मात्र ५ खेल खेल्न सकेका छन् । गत जुनमा घुँडाको चोटका कारण उनले शल्यक्रिया गर्न परेपछि अक्टोबरसम्म खेल्न पाएनन् । त्यसपछि उनमा ह्यामस्ट्रिङको समस्या देखिएको थियो । त्यसपछि १० खेल उनले कोरोनाभाइरस संक्रमणका कारण गुमाउन पुगे । त्यसयता उनले फिटनेस साबित गर्न संघर्षरत छन् ।
३८४ खेलमा २५७ गोल गरेका अगुएरो क्लबका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २०१७ मा नै एरिक ब्रुकको ७८ वर्ष पुरानो कीर्तिमान तोडेका थिए ।
उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने युरोपबाहिरका खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् भने समग्रमा चौथो स्थानमा छन् । सिटीमा रहँदा उनले १० वटा उपाधि जितेका छन् । जसमा चारवटा प्रिमियर लिगको उपाधि पनि सामेल रहेको छ ।
अब बाँकी दुई महिना अगुएरोले चारवटा उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेको सिटीलाई मद्दत गर्न सक्नेछन् ।