बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने

मङ्गलबार, १७ चैत २०७७, १५ : ४७
मङ्गलबार, १७ चैत २०७७

काठमाडौँ ।  सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा ‘एमए ६०’ र चारवटा ‘वाइ १२ ई’ गरी ६ चिनियाँ जहाज छ । यी जहाज आन्तरिक उडान प्रयोजनका निम्ति ल्याइएको थियो । 

एक एमए ६० र एक वाइ १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’ वापत अनुदानमा प्राप्त गरेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाज वापत थप एक एमए ६० जहाज र तीन वटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेशनल’ बाट खरिद गरेको थियो ।

‘लोड पेनाल्टी’, बीमा, ‘पार्टस’को आपूर्ति, महङ्गो ‘पार्टस’, महङ्गो ‘सिमुलेटर’ तालीमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी बेहोर्दै आएको थियो ।  निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार २०७७ असार १६ गतेको सञ्चालक समितिको बैठकले सोही वर्षको साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो । चिनिया जहाजमध्ये पाँच वटा मात्र सञ्चालन योग्य छन् । एक बिग्रिएको छ । नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावन मार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ । बाँकी पाँचवटा विमानको लागि ‘लिज आउट’ गर्ने निगमको योजना छ । 

निगमले २०७० र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्र्याएको थियो । २०७१ बाट आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो । निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो ।

सरकारले केही महिनादेखि उक्त जहाज व्यवस्थापनका लागि प्रक्रियागत चरण र सुक्ष्म अध्ययन विश्लेषणपछि व्यवस्थापनका लागि निर्णय गरेको थियो । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २०७७ चैत ४ गते अर्थमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट निगमले चिनियाँ जहाजको व्यवस्थापनसम्बन्धी मार्ग प्रशस्त भएको छ ।

प्रवक्ता श्रेष्ठले चिनियाँ जहाजको स्वामित्व हस्तान्तरण नगरी नेपाल सरकार र निगमको अधिकतम हित हुनेगरी स्वदेशी वा विदेशी वायुयान सञ्चालकलाई लिजमा सञ्चालन गर्न दिन खुला प्रस्ताव आह्वान गरी लिज आउट गर्ने बताए । निगमलाई सरकारले लिज आउट नभएमा विक्रेता/उत्पादनसँगको समन्वयमा नेपाल सरकारलाई र निगमलाई अधिकतम हित हुने गरी ती जहाज बिक्रीको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

निगमको आर्थिक अवस्थालाई विश्लेषण गर्दा चिनियाँ विमानबाट निगमलाई आयको तुलनामा व्ययभार प्रत्येक वर्ष थप्दै लगेको देखिन्छ । हाल सरकारको व्यवस्थापनसम्बन्धी निर्णयले निगमलाई ठूलै राहत भएको निगमले उल्लेख गरेको छ । चिनियाँ जहाज ग्राउन्डेड भएपछि निगमसँग आन्तरिक उडानका लागि अहिले मात्र दुई थान टुइनअटर जहाज छन् । निगमले देशका प्रमुख गन्तव्य र क्षेत्रीय उडानसमेत सञ्चालन गर्दै आएको छ । निगमले अन्तराष्ट्रिय तर्फ दुईवटा न्यारो बडी ए ३२० जहाज र दुईवटा वाइड बडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप