बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको भ्रमणको विरोधमा बंगलादेशमा यस्तो हिंसा कसरी सुरु भयो ?

मङ्गलबार, १७ चैत २०७७, १५ : ३९
मङ्गलबार, १७ चैत २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विरुद्ध भएको हिंस्रक प्रदर्शनमा सबैभन्दा धेरै मृत्यु बंगलादेशको ब्राह्मणबरिया जिल्लामा भएको छ ।

यद्यपि, मोदीको भ्रमणको विषयमा भएको झडप ढाकाको बैतूल मुकर्रम इलाकाबाट सुरु भएको थियो तर ब्राह्मणबरियामा विरोधले सबैभन्दा हिंस्रक रुप लियो ।

जुन १२ जनाको मृत्यु भएको पुष्टि भएको छ, तीमध्ये ६ यहि जिल्लामा भएको हो । आइतबार शहरको थुप्रै सरकारी कार्यालय र सांस्कृतिक संस्थामा आगजनी गरियो ।

प्रत्यक्षदर्शीको अनुभवः

ब्राह्मणबरियाको बनिक पारामा एक परिवार आफ्नो घरमा भएको आगलागीमा फसेका थिए ।

एक गृहिणी र दुई सन्तानकी आमाले आफ्नो घरमा आइतबार भएको हमलाबारे बताएकी छिन् । उनी भन्छिन्, ‘हामी भवनको भुइँतलामा बस्छौं । उनीहरु आए र हामीलाई बाहिर निस्कन भने । त्यसपछि आगो लगाइदिए । तर हामीमा ढोका खोल्ने हिम्मत थिएन । ढोकाको अगाडि नै आगलागी भएको थियो ।’

घरबाट बाहिर निस्कन असमर्थ उनी आफ्ना श्रीमानसँग ९० वर्षकी सासूलाई लिएर पाँचतले भवनको छतमा पुगिन् ।

उनी भन्छिन्, ‘पूरा भवन धुँवाले कालो भएको थियो । मेरो एक बच्चा शारीरिक रुपमा अक्षम छ । म बच्चालाई धुँवामा खोज्न सकिरहेकी थिइनँ ।’

स्थानीय पत्रकार माशूक हृदयले आइतबार ब्राह्मणबरियामा भएको हिंसाको तुलना युद्धको मैदानसँग गरे ।

उनले भने, ‘हमलाकर्ताले डरको माहौल बनाइदिए जसमा व्यापारीदेखि त्यहाँका घरका मानिसहरु, सबैजना डराएका थिए ।’

आगजनी, हमला र लूटः

अन्य थुप्रै जिल्लाजस्तै ब्राह्मणबरिया एक सडकको आसपास बसेको छ । सडकको नाम टी–ए रोड हो ।

शहरका लागि महत्वपूर्ण सबैकुरा यो सडकको दुई किनारामा स्थित छ ।

स्थानीय प्रशासन, पत्रकार र प्रत्यक्षदर्शीका अनुसार जिल्ला मुख्यालय, नगरपालिका परिषद, कला, केन्द्रीय पुस्तकालय, नगरपालिका सभाघर, भूमि कार्यालय र प्रेस क्लबसमेत टी–ए रोडका दुबैतर्फ अन्य सरकारी भवनमा आगजनी गरिएको थियो । हिंसा बिहान ११ बजे सुरु भएको थियो ।

जलाइएको रेलवे स्टेशनबाट यात्रा गरिरहेको ट्रेनमाथि पनि हमला गरियो ।

एक अन्य प्रत्यक्षदर्शी, जो एक वकिल हुन्, उनले शहरको काली मन्दिरमा देखेको घटनाबारे सबिस्तार बताएका छन् ।

‘म काली मन्दिर गएको थिएँ । त्यहाँ मैले लुटपाट भइरहेको देखेँ । मन्दिरका मूर्ति फुटाइँदै थियो र दान पात्र खोलिँदै थियो । प्रहरी कहिँ कतै देखिएको थिएन । उनीहरु पुलिस स्टेशनमा थिए । उनीहरुसँग दुई वाटर क्यानन थिए र दुई जलाइएका थिए । तर उनीहरुसँग आत्मरक्षाका लागि कुनै तरिका थिएन ।’

आइतबारको हिंसा यसरी सुरु भयोः

हिफाजत–ए–इस्लामले जिल्लाको सय वर्ष पुरानो जामिया यूनुसिया मदरसेमा शनिबार बेलुका आवामी लिगको जुलुसका बेला हमला गरिएको आरोप लगाए ।

स्थानीय पत्रकार पनि यो हमलालाई उद्धृत गर्दै यसैका कारण स्थिति बिग्रिएको बताउँछन् ।

ब्राम्हणबरियामा हिफाजत–ए–इस्लामको प्रचार सचिव मुफ्ती इनामूल हक भन्छन्, ‘ब्राम्हणबरियामा जामिया इस्लामी यूनुसिया मदरसा नामको सय वर्ष पुरानो मदरसा छ ।’

यद्यपि, उनले आगजनी र तोडफोडको जिम्मेवारी लिन अस्विकार गरे ।

‘हिफाजत–ए–इस्लामका मुख्य कार्यक्रममा मोदी पुग्ने कुरामा सकारात्मक थिए । तर केही राजनीतिक पार्टीले अराजकताको माहौल बनाइदिए । ब्राह्मणबरियाका मानिसहरु यो हमलाका लागि स्थानीय सांसदमाथि औंला उठाइरहेका छन् ।’

 


के भन्छन् सांसद ?

जसरी हिफाजत–ए–इस्लामले शहरमा ठूलो परिमाणमा भएको आगजनी र तोडफोडको जिम्मेवारी लिइरहेको छ, त्यसरी नै सांसदले पनि आरोप स्विकार गरिरहेका छैनन् ।

सदर क्षेत्र ब्राह्मणबरिया–३ निर्वाचन क्षेत्रअन्तर्गत आउँछ । यो निर्वाचन क्षेत्रबाट सांसद ओबैदुल मुक्तदिर चौधरीले शनिबार बेलुका जुलूसको नेतृत्व गरेका थिए ।

उनका अनुसार जुलुसले मदरसेको इलाकामा प्रवेश गरेको थिएन ।

उनले भने, ‘यी आरोपमा कुनै वास्तविकता छैन । एक दिन अघि बंगबंधुको भित्ति–चित्र तोडिएको थियो । प्रशासन र प्रहरी अधिकारीमाथि हमला गरिएको थियो । रेलवे स्टेशन जलाइएको थियो । यसैकारण हामीले प्रदर्शन जुलुस निकाल्यौं । हामी मदरसा इोत्रमा गएनौं । म उनीहरुलाई (हिफाजत–ए–इस्लाम) लाई झुटको सहारा नलिन भनिरहेको छु ।’

यसको एक दिन अघि बंगलादेशका गृहमन्त्रीले हमलाको प्रकृति हेर्दा यसमा प्रतिबन्धित चरमपन्थी समूहका सदस्य समावेश थिए कि भन्ने भान हुने बताएका थिए ।

के तेस्रो पक्षले यस्तो विध्वंश गरे ? यो प्रश्नको जवाफ कोहीसँग छैन । स्थानीय प्रशासनसँग सम्पर्क गर्दा कुनै जवाफ पाउन सकिएन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप