मन्त्रालयबाटै स्वास्थ्यकर्मीलाई सौतेनी व्यवहार : ११ वर्षसम्म एउटै तालिम नपाएको चिकित्सकहरूको गुनासो
काठमाडौँ । आज हामी बिरामीभन्दा पनि बिरामीलाई सेवा दिने स्वास्थ्यकर्मीहरूका बारेमा कुरा गर्दै छौँ । बिरामीले समयमा उपचार पाइएन, प्रभावकारी नभए भन्ने कुराहरू आइरहँदा सेवा दिने स्वास्थ्यकर्मी पनि त्यस्तै गुनासो रहेको छ । दिनरात बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरूले आफूहरूलाई काम गर्ने सहज वातावरण नभएको बताउँदै आइरहेका छन् ।
कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा जाँदा त्यहाँका चिकित्सकहरू ११ वर्षदेखि अस्पतालमा कार्यरत भए पनि तालिममा सहभागी हुने मौका नपाएको गुनासो पोखे । क्यान्सर वार्ड प्रमुख निर्मला शाह भन्छिन्, म यो वार्डमा आएको ११ वर्ष भयो अहिलेसम्म कुनै पनि तालिममा सहभागी हुने मौका मिलेको छैन, अरू नयाँको त के कुरा गर्नु । उनलाई थाहा भएअनुसार अहिलेसम्म क्यान्सर वार्डका नर्सहरू तालिममा गएका छैनन् । समयअनुसार तालिम नहुँदा नर्सहरू पुरानै तरिकाबाट बिरामीको उपचार गरिरहेका छन् ।
शाह भन्छिन्– क्यान्सर जस्तो चुनौतीपूर्ण रोगमा प्रयोग गर्ने औषधिको मात्र, तरिकाको बारेमा जान्न जरुरी छ । क्यान्सरको औषधि प्रयाग गर्दा चिकित्सकलाई कस्तो समस्या हुन्छ भन्ने विषयमा पनि जान्नु जरुरी हुन्छ तर तालिममा सहभागी हुन नसक्दा सेवा प्रभावकारी हुन सकेको छैन । अस्पतालले कर्मचारीहरूलाई ‘खाए खा नखाए नखा’ जस्तो व्यवहार गरेको वार्डकी प्रमुख निर्मला शाहले बताइन् ।
यस्तै उनले नर्सका लागि आएको तालिममा डाक्टरहरू जाने गरेको पनि बताइन । नयाँ रोग, नयाँ औषधि र बिरामीलाई प्रदान गर्ने सेवाको बारेमा पनि तालिम लिन जरुरी छ । कर्मचारीको त के कुरा गर्नु, वार्ड प्रमुखले पनि कुनै पनि तालिम पाएको छैनन् । परिवर्तनशील समयसँगै उपचारमा नयाँ औषधि र नयाँ मेसिन प्रयोग गर्नुपर्ने हुन्छ तर तालिम नहुँदा चिकित्सकहरू आफै अन्योलमा छन् र अन्दाजको भरमा सेवा प्रदान गर्छन् ।
मन्त्रालयबाट आफ्नो मान्छे सिफारिस गरिन्छ त म के गरौँ– निर्देशक
यता नर्सहरूको गुनासोको बारेमा कान्ती बाल अस्पतालका निर्देशक डा. गणेश राईको भने प्रश्न नसक्दै जवाफ आउँछ, मन्त्रालयले आफ्नो मान्छे सिफारिस गर्छ त म के गरौँ । नर्सले तालिम नपाएको कुरा सत्य हो तर तालिममा सिफारिस गर्ने व्यवस्था मन्त्रालयबाट हुन्छ ।
मन्त्रालयले आफ्नो मान्छे सिफारिस गर्दा आफ्नाले मात्रै तालिम पाइरहेका छन् । मन्त्रालय जनताको सेवाभन्दा पनि आफ्नो मान्छेमा लक्षित हुँदा नेपाली जनताले प्रभावकारी सेवा पाउन नकेको छैनन् । उनी भन्छन्– स्वास्थ्य मन्त्रालयमा चिनजानको मान्छे छ भने जति पनि तालिम पाइन्छ, छैन भने ११ वर्षसम्म पनि कुनै तालिम सहभागी नभएका नर्सहरू पनि छन् ।
स्वास्थ्य क्षेत्रमा मनपरी तन्त्र छ । चिकित्सकको आवश्यकता र मागअनुसार तालिममा सहभागी गराइन्न । चिनजानको मान्छे सिफारिस गर्दा वर्षांैदेखि नर्सहरू तालिम लिनबाट वञ्चित छन् । मन्त्रालयले यो नियतिको अन्त्य नभएसम्म सबै नर्सहरूले तालिम पाउन गाह्रो छ । यस्तै नर्सको तालिममा भने डाक्टर नपठाएको निर्देशक राईले बताए । स्वास्थ्य क्षेत्रमा सरकारले सौतेनी व्यवहार गरेको देख्दा निर्देशकको कुर्सीबाट छिट्टै पन्छिने सोचमा रहेको बताए ।