बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले मिल्दा माओवादीको सरकार धरापमा

यस्तो छ कर्णाली प्रदेशको सत्ता समीकरण
सोमबार, १६ चैत २०७७, २१ : ३२
सोमबार, १६ चैत २०७७


सुर्खेत । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

एमाले सांसदहरु एक ठाउँमा उभिएपछि शाही नेतृत्वको सरकार ढल्ने निश्चितजस्तै बनेको हो । चैत ४ गते एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

त्यतिबेला एमालेकै माधव नेपाल समूहका सांसदले समर्थन फिर्ता नलिने बताएको थियो । तर पछिल्लो समय एमाले एक ढिक्का भएपछि प्रदेश सरकार अल्पमतमा पर्ने र एमालेले समर्थन फिर्ता लिनासाथ सरकार ढल्ने पक्कापक्की देखिन्छ ।

चैत ४ गतेको एमाले संसदीय दलको बैठकलाई नेपाल समूहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । यतिबेला भने नेपाल पक्षले पार्टीकै लाइनअनुसार समर्थन फिर्ता लिने मनस्थिति बनाएपछि सरकार ढल्ने अवस्थामा पुगेको हो ।

अब कर्णाली प्रदेशसभाको ४० मध्ये २० सिट जितेको नेकपा एमाले एक ढिक्का भएसँगै नयाँ सरकार गठनका लागि दाबी गर्ने अवस्थामा पुगेको छ । कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ ।

माधव नेपाल पक्षधर सांसद सुशील थापाले रातोपाटीसँग भने, ‘एमाले एक ठाउँमा उभिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराका कसैको आपत्ति छैन । एकदुईजना साथीहरु ऊ बेला रुष्ट हुनु स्वाभाविक नै हो । वृहत छलफलपछि एकढिक्का भइसकेको अवस्था छ ।’

थापाले एमालेबाट सरकारमा सामेल प्रकाश ज्वाला, नन्दसिंह बुढा, दल रावलसँग पनि आन्तरिकरुपमा छलफल भइसकेकाले अब एमालेकै नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे ।

उनले भने, ‘पदमा भएका साथीहरुलाई तत्कालै पद छोडिहाल्न अप्ठ्यारो भएको होला,  एकदुई दिनभित्रै सबै कुरा बाहिर आउँछ, ढुक्क हुनोस् ।’ उनले अबको तीनचार दिनभित्र एमाले संसदीय दलका नेता कँडेल नै मुख्यमन्त्री बन्ने दावीसमेत गरे । उनका अनुसार एमाले संसदीय दलले नेपाल पक्षका सांसदहरुसँग बसेर एकदुई दिनमै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

थापाले मुख्यमन्त्री शाहीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि सुझाव दिए ।

यसअघि मुख्यमन्त्री शाहीलाई समर्थन कायमै रहने अडान राख्दै आएका माधव नेपाल पक्षका सांसद अम्मरबहादुर थापाले पनि अब पार्टीकै निर्णयलाई स्वीकार गरेर अघि बढ्ने बताए । रातोपाटीसँग उनले भने, ‘अब एक ठाउँमा नगएर कहाँ जानु र ?’

ओली पक्षधर मानिएका सांसद गुलाबजङ्ग शाहले कर्णालीमा एमालेको बाहेक अरुको सरकार बन्ने परिकल्पना पनि नगर्न आग्रह गरे । रातोपाटीसँग उनले भने, ‘तपाई आफै अनुमान गर्नुस् न ! ४० जना सांसदमध्ये  २० जना (सभामुख राजबहादुर शाहीसहित) एमालेका सांसद रहेको प्रदेशमा कसको सरकार बन्ने भन्ने कुरा पनि सोधिरहनु पर्ला र ! तपाई आफै अनुमान गर्नुस् न ।’

अब दलको बैठक बस्ने र अहिले सरकारमा रहेका साथीहरुले राजीनामा दिने उनको भनाइ छ ।

ओली पक्षधर सांसद दानसिंह परियारले अबको एक हप्तामा निष्कर्षमा पुग्ने बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका नन्दसिंह बुढा भने अहिले आफूले केही भन्न नसक्ने बताउँछन् ।

यस्तो छ समीकरण 

प्रदेशसभाको ४० मध्ये २० सांसद एमालेका छन् । सभामुख राजबहादुर शाही बाहेक १९ जनामा ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । सभामुखले निर्णायक हुने अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले संसदीय समीकरणमा एमालेका १९ जना सांसद छन् ।

यसका अलावा माओवादी केन्द्रबाट एमालेमा सांसद धर्मराज रेग्मी पनि एमालेमा आइसकेका छन् । रेग्मीलाई माओवादी केन्द्रले कारबाही गरेको खण्डमा एमालेको एक्लै सरकार बन्ने बाटो खुल्नेछ । अन्यथा एमालेले राप्रपालाई साथमा लिएर सरकार बनाउने विकल्प छ । राप्रपाको एक सिट छ ।

प्रदेशसभामा माओवादी केन्द्रसँग १३ सिट छ । जसमा रेग्मी एमालेतिर फर्किसकेपछि १२ जना बाँकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप