बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राप्रपासमर्थित कार्यसमितिको बहुमत

सोमबार, १६ चैत २०७७, १६ : ३२
सोमबार, १६ चैत २०७७

काठमाडौंको शंखरापुर नगरपालिकाको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित प्यानलले जितेको छ । 

कार्यसमिति अध्यक्षमा दिनेशलाल श्रेष्ठ, उपाध्यक्षमा रमेश नारायण श्रेष्ठ, सचिव रामकृष्ण माली, कोषाध्यक्ष जयराम श्रेष्ठ विजयी भएका छन् । यस्तै सदस्यहरुमा आषिश श्रेष्ठ,  चन्द्रनारायण श्रेष्ठ, गंगालाल डंगोल, गंगादेवी श्रेष्ठ, शान्ता श्रेष्ठ, रम्बिका श्रेष्ठ, राज्यलक्ष्मी मानन्धर विजयी भएका छन् । कूल मतदाता ७ सय १२ रहेकोमा ६ सय ८६ मत खसेको छ ।

खानेपानी तथा उपभोक्ता समितिमा २ प्यानल मध्ये राप्रपा समर्थित प्यानल एकातिर र अर्कोतिर संयुक्त रुपमा एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका पार्टीनिकट उम्मेदवारहरूले प्यानल बनाएर चुनाव लडेका थिए । 

अघिल्लो कार्यसमितिमा रहेका ८ जना पदाधिकारी यो निर्वाचनमा समेत जित हासिल गरेका छन्  । निर्वाचित पदाधिकारीको कार्यकाल २ बर्षको हुनेछ ।

अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष दिनेशलाल श्रेष्ठले साँखुमा तुरुन्तै खानेपानीको बैकल्पिक स्रोतको व्यवस्थापन गर्न लागेको जानकारी दिँदै २४ सैं घण्टा खानेपानी वितरणको कामलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे । शंखरापुरको लप्सेफेदी ४ मा पानीको स्रोत सुनिश्चिता भएको र त्यहाँबाट पानी ल्याउने, जहरसिंहपौवा पछाडि रहेको पानीको मुहान क्षेत्र हिलेचौरलाई सिमसार क्षेत्र घोषणा गर्ने प्रक्रियालाई मूर्त रुप दिइने उल्लेख गरेका छन् । 

लप्सेफेदीबाट साँखुमा पानी ल्याउनका लागि १० इन्चको पाइप जडानलाई द्रुतगतिमा सम्पन्न गर्ने, मापदण्ड अपनाएर खानेपानीको मूल्य निर्धारण गर्ने लगायत कार्यसमितिले काम गर्ने जनाइएको छ । 

शंखरापुर नगरपालिकाका ३ वटा वडामा फैलिएको साँखु बजार क्षेत्रमा ७ सय ४९ वटा धारा वितरण गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको स्वामित्वमा रहेको पानी वितरण कार्य उपभोक्ता समितिले आफ्नो स्वामित्वमा ल्याएर खानेपानी वितरणलाई व्यवस्थित गर्दै आएको छ ।

प्रतिदिन २ घण्टा पानी वितरण भइरहेको साँखुमा नयाँ स्रोतबाट पानी ल्याएपछि २४ सै वितरण गर्ने योजना बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप