शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा बिजनेसविहीन भएर अन्त्य हुने आशंका

सोमबार, १६ चैत २०७७, २१ : ३५
सोमबार, १६ चैत २०७७

काठमाडौं । प्रतिनिधिसभाको पुनःस्थापना भइ अधिवेशन बोलाइए पनि सरकारले विजनेश नदिँदा औपचारिकतामा सिमित बनेको छ । अर्कोतर्फ राष्ट्रियसभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधिसभा बिजनेसविहीन भएर अन्त्य हुने आशंका बढेको छ । संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरु परिपूरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि अधिवेशन बोलाइए पनि विजनेश नपाउँदा अहिलेसम्म बसेका बैठक औपचारिकतामा सिमित बन्न पुगेका छन् । संसदलाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ । सरकारले विजनेश छैन भनिरहँदा प्रतिनिधिसभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रियसभाको लागि विजनेश हुने देखिन्छ । प्रतिनिधिसभामा ३६ वटा विचाराधीन अवस्थामा रहेका विधेयकहरु मध्ये ४ वटा विधेयक प्रतिनिधिसभामा पेश भएर रहेको अवस्थामा अगाडि बढाउन सकिने संघीय संसदका सह–प्रवक्ता दशरथ धमलाले बताए । सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरुलाई पनि अगाडी बढाउन सकिने प्रवक्ता धमलाले बताए ।

यता प्रतिनिधिसभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरू अहिलेसम्म(एकवटा बाहेक) पेश भएका छैनन् । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ । काँग्रेस लगायतका दलले विरोध गरेको अध्यादेश संसद बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा विरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छैनन् । संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालू प्रतिनिधिसभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छन् भन्नेबारे नियमावलीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताए ।

सत्तारुढ दल भित्रको अन्तरकलह र विपक्षी दलको निस्क्रियताले संघीय संसदको दुवै सदन निष्काम बनेका छन् । प्रतिनिधिसभाले विजनेश नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद बैठकमा पेश नभई निस्क्रिय बन्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप